बसमा चढेपछि देखिन्छ वास्तविक संसार

बसमा चढेपछि देखिन्छ वास्तविक संसार

‘सुपर ओखलढुंगा एक्सप्रेस’ बसको क्याबिनतर्फ दुई सिटमा म र एक जना अपरिचित दाजु बसेका थियौँ । दायाँ कर्नर र ड्राइभरको सिटछेउ एउटा सानो सिट थियो । जुन खाली थियो । अरुमा यात्रु भरिएका थिए । काठमाडौं–घुर्मी–कटारी रुटमा चल्ने त्यस बसका हरेक यात्रीका आ–आफ्नै कथाव्यथा थिए होलान् । जिन्दगी कथैकथाको प्याकेज न हो । बनेपा आसपासबाट ३० वर्ष जतिकी तामाङ्नी बहिनी चढिन् । सात वर्षकी छोरीसहित बायाँतिरको साँघुरो सिटमा बसिन् ।

१३ वर्षको छोरा र ११ वर्षकी छोरीको आमा बिरामी परेर सिभिल अस्पताल बानेश्वरमा ३८ दिनदेखि उपचाररत रहिछन् । मसँगै बसेका ती दाजुले मोबाइलमा बताउँदै थिए । कामविशेषले बुहारीलाई कुरुवा राखेर गाउँ फर्किन लागेका रहेछन् । लख काट्दा आर्थिक बन्दोबस्तका लागि गाउँ जान लागेका होलान् । ती दाजु ड्राइभर पनि रहेछन् विगतमा । ड्राइभरलाई सुनाउँदै थिए, ‘एउटा डिलक्सको दाम सकिसक्यो तर दुःख छैन । डाक्टरले उनी बच्छिन्, रगत फेर्नुपर्छ भनेको छ ।’ पत्नीलाई ब्लड क्यान्सर भएको रहेछ ।

मान्छे दुःखमा रुन्छ, हड्बडाउँछ र संयमित भएर अघि बढ्छ । जीवनमा दुःखै दुःखले गिजोलिएको मान्छेको मन अरूको दुःखमा पनि बेस्सरी दुख्छ, उसको मन पोल्छ र निस्सासिन्छ । म आफैँ ६ महिना आमाको श्राद्ध गर्न जन्मघर सिन्धुली फर्कंदै थिएँ । दमको रोग र फोक्सोको घाउले मेरी आमालाई मबाट पर अदृश्य जगतमा पु¥याएको थियो । पीडानुभूति फरक–फरक भए पनि दुखाइ एउटै हो, भोग्ने मुटुको प्रकृति र प्रक्रिया एउटै हो ।

मान्छे अत्यधिक तनावमा भएका बेला स–साना अवरोधमा पनि क्रिया–प्रतिक्रिया जनाउन तल्लीन हुन्छ । आफूलाई अनावश्यक कुरामा झर्काे लाग्न थाल्छ । यही सोच्दै थिएँ । बनेपा बसपार्कभित्र गाडी रोकिएर टायर मिलाउन थालियो । एक घुमन्ते व्यापारी ‘एक हजारको एक जोडी तन्ना’ भन्दै क्याबिनको सिटनेर चिच्याए । ती दाजुले ‘नलिने’ भनेर दाहिने हातले इशारा गरे । व्यापारीले ढिपी गर्न छाडेनन् । दाजुले रिसाउँदै भने, ‘मान्छे कुन मुडमा हुन्छ, लान्न भनेपछि पनि किन जबर्जस्ती र डिस्टर्ब गरेको ? कि कान छैन ?’ ती व्यापारी फुत्त झरे बसको ढोकाबाट । एकैछिनमा जंकफुड बोकेर अधबैंशे व्यापारी चढे । अघिको दृश्य नियालिरहेका सहचालकले व्यापारीको हात तानेर ओरालिदिए ।

एकैछिनमा पत्नीको फोन आयो । दाजु बोल्न थाले, ‘तिमी नआत्तिनु, नानू । डाक्टरले निको हुन्छ भनेका छन् । जति खर्च परे पनि व्यहोर्छु । जे गर्नुपर्छ, गर्छु, तिमी बाँच्नुपर्छ । चिन्ता लिँदै नलिनु । म छँदै छु ! जे मन लाग्छ खानु है ! भोकै नबस्नू ।’ एक पतिले आफ्नी धर्मपत्नीलाई दिएको आडभरोसा र दिगो साथ देखेर दाजुप्रति अपार सम्मान जाग्यो ।

तामाङ्नी बहिनी भन्दै थिइन्, ‘छोरीलाई उल्टी आउँछ । मलाई पनि उल्टी हुन्छ । यो छोरी काखमा राखिदिनुस् न दाइ ।’ मैले ‘मेरै सिटमा बस्नुस्, म तपाईंको साँघुरो सिटमा बस्छु’ भनेँ । खै किन हो मानिनन् । एकछिनपछि ती दाजुले सोधे । ‘बहिनी, ज्वाइँ के गर्नुहुन्छ ?’ उनले जवाफ दिइन्, ‘यो छोरी गर्भमै थिई । ६ महिनाको गर्भ । ब्रेन ट्युमरले उहाँ बित्नुभयो ।’ पीडाले दाजुको अनुहार कालो निलो भयो । केही बोल्नै सकेनन्, माथितिर आँखा पल्टाएर बसे । मेरो अनुहार बादलले ढाकेसरी भो । हृदय भक्कानिएर आयो । मन अमिलो भो । दिदी भिनाजुको घर हिँडेकी ती बहिनीसँग न बस भाडा थियो, न खानका लागि पैसा ! खाजा खान बस रोके पनि हिँडिसकेपछि उनले ड्राइभरलाई भनिन्, ‘एक्लै, एक्लै खाने ?’ ड्राइभरलाई चिनेकी रहिछन् तर ड्राइभरले उनलाई चिन्न सकेनन् । ड्राइभरले भने, ‘अघि नै भन्नुपर्छ नि ! अब खाना खान गाडी रोक्छ अनि खुवाउँला है ।’ बहिनीले भनिन्, ‘अघि लाज लाग्यो नि भन्न ।’

तामाङ्नी बहिनी लकडाउनअघि दुबई जाने प्रक्रियामा रहिछन् । मैले भनेँ, ‘यतै नेपालमै ठेला भए पनि सानोतिनो व्यापार गर्नु नि ! हातमा सीप नभए विदेशमा दुःख पाइन्छ । भाषा जान्नुपर्छ, बोल्न जान्नुपर्छ । अरूको नियम बुझ्न सक्नुपर्छ । नत्र विदेश गएर साह्रै तनाव हुन्छ ।’ ती बहिनीले आँखा तरेर हेरिन् मात्र, केही भनिनन् । एकैछिनमा ती बहिनीले दाजुलाई भनिन् ‘एकछिन मेरी छोरीलाई काखमा राखिदिँदा पाप लाग्छ र दाइ तपाईंलाई ?’ दाजुलाई दुःख लागेछ बहिनीका शब्दले । उनले तत्कालै भने, ‘तिमीले अनुरोध ग¥यौ र बहिनी ? तिमीले भनेको भए पो ! नभनिकन कसरी काखमा राखिदिनु तिम्रो छोरी ? तिमी चुप लागेर बस बहिनी, धेरै बोलिसक्यौ । ’

एकछिन चुप बसेपछि ती बहिनीले मलाई अनुरोध गरिन् छोरीलाई काखमा राखिदिन । दुईजनाको बीचमा बच्चालाई राख्ने व्यवस्था मिलाएँ । उनी एकैछिन निदाइन् । मेरो दाहिने तिघ्रामा बसेर देब्रे छातीमा अढेस लागी निदाएकी थिइन् । मैले दाहिने हातले उनलाई नलड्ने गरी कम्मरनिर समाएको थिएँ । अब उनी पनि उँघ््न थालिन् । उनले मेरो देब्रे खुट्टामा टाउँको अड्याउँछु भनेर जिद्धी गरिन् । मैले ‘हुन्न’ भन्दै थपें, ‘यत्तिको तन्दुरुस्त मान्छे जागै बस्न सकिन्छ, भिनाजुको घरमा पुगेपछि आराम गर्नुहोला ।’ तामाङ्नी बहिनी उँघेर बस अगाडिको सिसामा टाउको अड्याउन थालिन् । सहचालकले अन्तिमको सिटमा बस्ने व्यवस्था मिलाउँदा जान मानिरहेकी थिइनन् । यस पटक अन्तिम सिटमा बस्न राजी भइन् । सहचालकले बालिकालाई विस्तारै बोकेर पु¥याइदिए, उनको निद्रा टुटेन । ती दाजु र मैले हल्का राहत महसुस ग¥यौँ ।

पछाडिको टायरमा प्वाल परेको हुनाले हावा खुस्किइरहेको गाडीको अवस्थालाई ध्यानमा राख्दै ड्राइभरले सुझबुझपूर्वक निर्णय लिए । मूलकोटनिरबाट उही कम्पनीको अर्को गाडीमा यात्रीलाई आआफ्नै सिटमा बस्न भन्दै चढाइदिए । अब ड्राइभर र सहचालक नयाँ थिए । मेरो मनमा चस्स दुख्यो, ‘के तामाङ्नी बहिनीले आज खान पाउलिन् ?’

१३ लाख सकिएको, स्वास्थ्य परिचारिकाले झर्काेफर्काे गरेको र गाउँमा पैसाको जोहो गर्न हिँडेको कुरा दाजुले मसँग बाँडे । मैले पनि आमाको शोकमा रहेको र पीडा सहन गाह्रो परेको बताएँ । जनकपुरमा बोर्डिङ पढाउने र पेट भर्ने सिलसिलामा छुटेको पढाइ अहिले ३३ वर्ष कट्न लाग्दा जारी राखेको सुनाएँ । कुरा सुनेपछि ती दाजुले भन्नुभयो, ‘बंगुर फार्म थियो हाम्रो । म चालक भएर कमाउँथे । पत्नीले घर व्यवहार र फार्म सबैतिर भ्याउँथिन् । छोराछोरी काठमाडौंको बोर्डिङमा पढिरहेका थिए । अकस्मात् खुशीमा ब्रेक लाग्यो । अस्पतालको दिनचर्या, मानसिक तनावले ३८ दिनमै ज्यान सुक्यो । पैसा भएपछि उपचार हुँदोरहेछ, डाक्टरले रगत फेरेपछि पहिलेको जस्तै जीवनमा फर्किन सकिन्छ तर मुख बार्नुपर्छ भनेका छन् ।’

मैले सान्त्वना दिँदै भनें, ‘हामीलाई प्राणीशास्त्र प्राध्यापन गर्नुहुने गुरुले ब्लड क्यान्सर भएर जम्मै रगत फेरेको भन्नुहुन्थ्यो । उहाँ मोटरसाइकलमा सवार भएर क्याम्पस–क्याम्पसमा घण्टी भ्याउनुहुन्थ्यो । जीवन पहिल्यकै रफ्तारमा फर्किनेछ । धैर्य गर्नुपर्छ ।’ कुराकै सिलसिलामा कालढुंगा कट्न लागेछ । मैले ‘यहीँ’ झर्ने’ भनेपछि ती दाइले चालकलाई गाडी रोक्न भनेर हातले इशारा दिनुभयो । हामी आत्मीय बनिसकेछौँ । म बसबाट ओर्लिने बेला दुवै हात हल्लाएर अभिवादन ग¥यौँ ।

कसैको व्यक्तिगत जीवनबारे बृहत सोधखोज र निरीक्षण गर्न अलिक म लजाउँछु । ती दाजु र तामाङ्नी बहिनीको नाम र ठेगाना सोध्न हिच्किचाएँ । तर, के नै फरक प¥यो र ? दुःखको नाम र ठेगाना हुँदैन, यो परिस्थिति र हृदयले महसुस गर्ने कुरा न हो ।

– प्रकाश कोइराला, गोलञ्जोर–०६, सिन्धुली

टिप्पणीहरू