​कामुक सुन्दरीको दर्दनाक अन्त्य

  • राजेन्द्र स्थापित

जेम्स ग्राहम स्कटल्याण्डका थिए । घोडाको काठी बनाउनेको छोरो । एडिनबरास्थित मेडिकल कलेजमा भर्ना भए, तर डिग्री हासिल नगरी पढाइ बीचैमा छाडे । अत्यधिक बिक्री भएको पुस्तक ‘घरेलु उपचार’ का रचयिता विलियम बुचानको सहयोग पाएपछि योर्कशायरको डोनकास्टरमा औषधि पसल चलाए । १९ वर्षको उमेरमा सन् १७६४ मा मेरी पिकरिंगसँग बिहे गरे । मेरी पछि तीन सन्तानका आमा बनिन् ।

६ वर्षपछि सन् १७७० मा ग्राहम अमेरिका पुगे । फिलाडेल्फियामा नेत्र र कान विशेषज्ञ बनेर काम गरे । तर, पैसा कमाउन नपाउँदै ‘ठग डाक्टर’ नक्कली चिकित्सक भन्दै चिकित्सा क्षेत्रबाट निष्कासनमा परे । अमेरिका बसाइको क्रममा त्यहाँका जनतासँग पैसा थुप्रै भएको तर खर्च गर्ने ठाउँ नभेटाएको देखे । चिकित्सा क्षेत्रमा काम गर्न नपाएको फुर्सदिलो समयमा छोटो समयमै कसरी धनी बन्न सकिन्छ ? भनी सोच्दै दिन बिताउन थाले । यसबीच वैज्ञानिक तथा अमेरिकाका एक संस्थापक नेता बेन्जामिन फ्रेन्कलिनका अनन्य मित्र तथा सहयोगी इबेनेजेर किन्नर्सलीसँग भेट भयो । इबेनेजर पनि इंग्ल्याण्डकै थिए र ग्राहमजस्तै फिलाडेल्फियामा बसी विद्युतीय उपकरण आविष्कार गर्न लागि पर्दै थिए ।

उनैको संगतमा रहेपछि ग्राहमको दिमागमा पनि ‘विद्युतीय पलङ’ बनाएर धन कमाउने जुक्तिले स्थान पायो तर त्यसैबेला त्यहाँ स्वतन्त्रता संग्राम शुरु भयो । धेरैभन्दा धेरै बेलायतीले ज्यान बचाउँदै अमेरिका छाडे । ग्राहम पनि स्वदेश फर्के । ब्रिटेनको ब्रिस्टोलमा र पछि बाथमा पुनः चिकित्सा पेशा शुरु गरे । डिग्री हासिल नगरिकनै चिकित्सा–क्षेत्रमा हात हालेका कारण पक्राउ पर्ने डरले चाँडै ती ठाउँ छाडे र लण्डन पुगे । नेदरल्याण्ड, जर्मनी, रसिया घुमे । फेरि बाथमै अड्डा जमाए । बाफ, चुम्बक र विद्युत्को माध्यमबाट फोक्सोसम्बन्धी रोग निवारण गर्ने विज्ञापन गरे । उनको क्लिनिकमा पसेकी प्रथम ग्राहक थिइन्– इतिहासकार क्याथरिन मैकउले । ४७ वर्षीय क्याथरिन ग्राहमका २१ वर्षीय भाइ विलियम ग्राहमसँग बिहे गरेपछि साह्रै बद्नाम बनिन् । उनको यो दोस्रो बिहे थियो । उनका लोग्ने डा. जर्ज मैकउले थिए ।

ग्राहमले सन् १७७९ मा नयाँ ग्राहक भेट्टाए । ड्युक विलियम काभेन्डिससँग बिहे गरी डेभोन्शायरकी डचेस (राजकुमारी) बनेकी जर्जियानाकी आमा लेडी स्पेन्सर । उनैको संरक्षण प्राप्त गरी ‘स्वास्थ्य मन्दिर’ खोले । जहाँ रोगीहरूलाई विद्युत् तथा चुम्बक, वाष्प र ग्यासको माध्यमबाट र संगीत थेरापीद्वारा उपचार गर्न थाले । साथै स्वास्थ्यसम्बन्धी टिप्स र बिहे तथा यौन विषयमा उपदेश पनि दिन शुरु गरे । ग्रिक देवी हेबेलाई मान्थे । युवाहरूका देवी हेबे आकाश र चट्याङका राजा जिउस तथा स्त्री र विवाहका देवी हेराकी पुत्री हुन्, दैवी शक्तिका मालिक हर्कुलसकी पत्नी । त्यसो त हर्कुलस पनि जिउसकै छोरा हुन् । ग्राहमले ग्राहकलाई लोभ्याउन १४ वर्षकी किशोरी इम्मा हार्टलाई हेबेको रूपमा पेश गर्थे । पछि लेडी हैमिल्टन बन्न सफल इम्मा एक वेश्या थिइन् । मोडल र नर्तकी । डा. लेघ थोमसलगायत अन्य पुरुषका रखैल । १२ वर्षको हुँदै हेरी फादरस्टोनले निश्चित रकम तिरेर घरमा राखेकी । हेरी र उनका साथीहरूको अगाडि नग्न नृत्य गरी मनोरञ्जन दिलाउँथिन् । 

परम्पराभन्दा फरक शैलीबाट गरिने उपचार विधि र नवयुवती इम्माको उत्तेजित हाउभाउले गर्दा ग्राहमको स्वास्थ्य मन्दिरले रातौंरात प्रशिद्धि कमायो । ग्राहम सफल बने । उनी बारेमा व्यंग्यात्मक नाटक, कविता रचना हुन थाले । पत्रपत्रिकाको बिकाउ खबर बने । प्रतिष्ठित व्यक्तिको रूपमा चर्चित बने । यसको बाबजुद सन्तुष्ट भएनन् । अझ बढी धन बटुल्न चाहे । उनको खुराफाती दिमाग महिला–पुरुषको कामक्रीडाको समस्या सल्टाउने ‘जादुगरी पलङ’ बनाउने योजनामा लाग्यो । ‘डा. जेम्स ग्राहमको नैसिर्गक विस्तरा’ नाउँ राख्ने सोच बनाए । दिनरात उक्त बिस्तरा बनाउनतिर लागे । अन्त्यमा सन् १७८१ मा सो पलङ तयार भयो । पलङमा ४० वटा खुट्टा थियो ।

माथि झल्लर र गुम्बज थियो । गुम्बज छाता आकारमा थियो, जसमा काम–क्रीडारत कामदेव र रतिको मूर्ति कुँडिएको थियो । पलङ १२ फुट लम्बाइ र ९ फुट चौडाइको थियो, जसमा ओछ्याइएको डसनामा दुर्गन्धित जडीबुटी मसला छरिएका हुन्थे । ताजा फूल र जीवित कछुवा यत्रतत्र राखिएको हुन्थ्यो । ग्राहमले सो पलङमा सुतेपछि बाँझी महिलाको पनि सन्तान हुने, सन्तानोत्पत्ति तथा अक्षम पुरुष, कायर प्रेमी, शारीरिक दुर्बल पनि रतिक्रियामा सफल बन्ने जस्ता हौवा फैलाएका थिए । त्यसैले धन भएका तर बुद्धि नभएका ब्रिटेनवासी स्त्री–पुरुष ग्राहमको स्वास्थ्य मन्दिरमा लाम लाग्न थाले । ५० पाउण्ड खर्चेर जादुगरी पलङमा पल्टिनेहरूको भीड लाग्यो ।

पलङमा पल्टिनासाथ कोठाभरि सुगन्ध छाउँथ्यो । स्त्री–पुरुष आफसेआफ उत्तेजित हुन्थे । सँगैको कोठामा भण्डारण गरिएको सुगन्धित ग्यासले कोठा भरिन्थ्यो । पलङ यसरी यताउता ढल्किन्थ्यो कि पल्टिरहेका जोडी एक–अर्कासित जोडिन पुग्थे । र, यौनक्रिडा गर्न पुग्थे । त्यसपछि कोठा मधूर संगीतबाट गुञ्जायमान हुन्थ्यो । पलङको ४० वटै खुट्टा विद्युतीय तरंगले कम्पन हुन्थ्यो । त्यसमा जडित चुम्बकीय शक्तिले नै यौन कमजोरीलाई हटाउने ग्राहमको दाबी थियो । पलङको ठीकमाथि घडी थियो, जुन चक्कर लगाउँदै भजन गाउँथ्यो । बिजुली पल्याकपुलक बल्दै बिहेको देउताको भजन गाउँथ्यो । भजनमा भनिएको हुन्थ्यो, ‘जीवन उन्नत बनोस्, सुख फैलिउन् र धर्ती पूर्ण बनोस् ।’ 

जादुगरी बिस्तराको अर्को आकर्षण थियो, तिनै रूपवती इम्मा । जो स्वास्थ्य मन्दिरमा ‘कुमारी’ को रूपमा बस्थिन् । ग्राहकलाई पलङमा सुत्न उक्साउने गर्थिन् । कम र त्यो पनि पातलो लुगा लगाएर पलङमा पल्टेर ग्राहकलाई बोलाउँथिन् । उता, ग्राहम ग्राहकमाझ बसेर धर्मोपदेश दिएर बस्थे । यौनक्रीडा पनि देशभक्ति हो, गर्भधारण गराउनु, गर्नु राष्ट्रिय कर्तव्य हो भन्थे । यौनशक्ति बढाउन सफा र चिसो पानीले यौनांग धुन सल्लाह दिन्थे । वेश्यावृत्ति र हस्तमैथुनको भने विरोध मात्र होइन, भत्र्सना नै गर्थे । उपदेशबाहेक वैवाहिक जीवन सफल पार्ने उपाय भन्दै ‘गोप्य सुझाव’ शीर्षकको पर्चा बाँड्थे । जादुगरी पलङले ग्राहमलाई निकै लोकप्रिय बनायो । उनी हौसिँदै थप धनी ग्राहकलाई लोभ्याउने हेतुले एडिनबरा छाडी लण्डन पुगे । पाल नाउँको स्थानमा ‘स्वास्थ्य तथा संसर्ग मन्दिर’ स्थापना गरे । रोगोपचारसम्बन्धी उपकरण सजाएर मन्दिरलाई स्वास्थ्यालयजस्तो बनाए । छोटो समयमा ग्राहमको व्यापार लण्डनमा पनि जम्यो । पलङमा सुतेको शुल्क बढाएर पाँच पाउण्ड लिन थाले ।
 
तर, केही समयपछि स्वास्थ्य मन्दिर ‘वेश्यालय’ बनेको भनी आलोचना हुन थालियो । यौन दुर्बलता हटाउने नाउँमा पुगेका महिला–पुरुषको सम्बन्ध पति–पत्नीबाहेक अन्यसँग पनि कायम हुन थालेको हल्लापछि धेरैको वैवाहिक सम्बन्ध टुट्यो । मन्दिरभित्र दुराचार, भ्रष्टाचार हुने गरेको खबर बाहिर आउन थालेपछि मन्दिर बन्द गर्न जनस्तरबाट दबाब बढ्न थाल्यो तर ग्राहम आलोचनाले अलिकति पनि विचलित भएनन् । बरु झन् लण्डनबाहेक अन्यत्र पनि स्वास्थ्य मन्दिर खोल्ने योजनामा लागे । आलोचकले मन्दिरभित्र अर्धनग्न वेश्याहरूको नृत्य हुने गरेको हल्ला फैलाए । तर, जति आलोचना हुन्थ्यो, जनताले मन्दिरप्रति झन् बढी जिज्ञासा राख्न थाले । ग्राहकको बढ्दो उत्साहबाट उत्साहित हुँदै ग्राहमले मन्दिरभित्र परामर्श कक्ष, नयाँ–नयाँ विद्युतीय र वैज्ञानिक उपकरण राख्न शुरु गरे । ‘विद्युतीय स्नान’ र ‘चुम्बकीय आशन’ को सुविधा थपे । धन त कमाए, तर सबैभन्दा ‘विवादास्पद डाक्टर’ को रूपमा बद्नाम पनि बन्दै गए । ग्राहमसँगसँगै इम्मा पनि समृद्ध बन्दै गइन् । अन्त्यमा एकदिन ‘जादुगरी पलङ’ एउटा धोका हो भन्दै मन्दिरबाट निस्किइन् ।

स्वास्थ्य मन्दिरबाट निस्केपछि इम्माको भेट ससेक्स निवासी उनै जमिन्दार हेरी फादरस्टोनसँग भयो । दुवै पतिपत्नीसरह बस्न थाले । यसबीच इम्मा गर्भवती बनिन् । हेरी बच्चा चाहँदैनथे । यही कुरोमा पतिपत्नीबीच खटपट शुरु भएपछि इम्मा हेरीकै अनन्यमित्र चाल्र्स ग्रेभिलसँग लहसिइन् । ग्रेभिल रसिक र जुवाडे थिए । जित्ने घोडामाथि दाउ लगाउँथे तर प्रायः हार्थे । नतिजामा टाट पल्टे । धनी केटीको खोजीमा लागे । मित्र जर्ज रोमीकोमा इम्मालाई पठाउने गरे । पेन्टर जर्जले इम्माको दर्जनौं नांगो चित्र कोरे । अरु साथीलाई पनि कोर्न लगाए । त्यतिञ्जेलसम्ममा इम्मा छोरी इम्मा केरीको आमा बनिसकेकी थिइन् । छोरीलाई आमाको घरमा छाडेर ग्रेभिलसँग बस्न थालेकी थिइन् । यसबीच, नेपल्समा खटिएका ब्रिटिश राजदूत सर विलियम हैमिल्टन भान्जा ग्रेभिललाई आर्थिक सहायता दिन तयार भए । हैमिल्टनको पत्नीको निधन अघिल्लो वर्षमात्र भएको थियो र स्त्री साथीको खोजीमा थिए । ग्रेभिलले आर्थिक सहयोगको बदलामा पत्नी इम्मा सुम्पन तयार भए । मामाभान्जाको गोप्य सम्झौताअनुरूप ग्रेभिल इम्मालाई लिएर नेपल्स पुगे । बहाना बनाई इम्मालाई हेमिल्टनकै घरमा छाडेर स्कटल्याण्ड फर्के । 

गोप्य सम्झौताबाट बेखबर इम्मा आठ महिनासम्म ग्रेभिलको प्रतीक्षामा बसिन् र नफर्कने भएको थाहा पाएपछि २६ वर्षीया उनले ६१ वर्षीय बृद्ध हैमिल्टनसँग सन् १७९१ को सेप्टेम्बरमा बिहे गरी एमी लियों उर्फ लेडी हैमिल्टन बनिन् । सन् १७९८ मा ब्रिटिस एडमिरल लर्ड होरेसियो नेल्सन एउटा हात र केही दाँत गुमाएर हैमिल्टनको निवास आइपुगे । इम्माले दिनरात नभनी उनको सेवा गरिन् । र, यसैक्रममा दुवै प्रेमीप्रेमिका बने । यहाँसम्मकि इम्मा छोरीकी आमासमेत भइन्, तर हैमिल्टन यी सबै कुरो थाहा पाएर पनि मौन बसिरहे । यसबीच सन् १८०३ मा हैमिल्टनको निधन भयो । नेल्सन र इम्माले बिहे गर्ने योजना बनाए तर सन् १८०५ को अक्टोबरमा भएको फ्रान्स–स्पेन युद्धमा घाइते भई नेल्सनको मृत्यु भयो । नेल्सनको मृत्युपछि इम्मा ऋणमा डुबिन् । ऋणदाताले ऋण नतिरेको भन्दै बन्दी बनाए । ४९ वर्षको उमेरमा कैदखानामै इम्माको निधन भयो । 

उता, इम्माको बहिर्गमनपछि ग्राहमको स्वास्थ्यमन्दिरमा ग्राहक आउन छाडे । मन्दिरभित्र व्यभिचार हुने गरेको भन्दै संसद्मा कुरासमेत उठ्यो । चर्चले पनि विरोध ग¥यो । उनमा पनि धर्मको भूत सवार भयो । पादरी जोसेफ प्रेस्लेको नीतिको विरोधमा उत्रिए । यी सबैबाट ग्राहमको व्यापार सुक्यो । सन् १७८४ मा ‘मन्दिर’ का सामान बेचेर एडिनबरा फर्के । अर्थको अभावमा पागल बने । नांगै सडकमा हिँड्न थालेपछि पटक–पटक पक्राउ परे । लामो आयुको निम्ति माटोले नुहाउनुपर्छ, जीवनमा जति सकिन्छ, त्यति मैथुन गर्नुपर्छ, यौनकार्यमा पुरुषसरह महिलाले पनि आनन्द उठाउनुपर्छ भनी वकालत गर्ने विश्वकै प्रथम सेक्स थेरापिष्ट (यौन उपचारक) उनी अर्थात जेम्स ग्राहमको निधन सन् १७९४ मा ४९ वर्षको उमेरमा भयो ।

टिप्पणीहरू