हाम्रो पद त उहिल्यै खुस्किएको हैन र ?

हाम्रो पद त उहिल्यै खुस्किएको हैन र ?

डा. पुष्पाकुमारी कर्ण कायस्थ, नेत्री, नेकपा एकीकृत समाजवादी

पद र प्रतिष्ठाका लागि लडाइँ चल्छ राजनीतिमा तर कहिलेकाहीँ यही राजनीतिमा अपवाद पात्र पनि भेटिन्छन्, त्यस्तै मध्येकी हुन् डा. पुष्पाकुमारी कर्ण कायस्थ । पर्सास्थित मध्यमवर्गीय परिवारमा जन्मिएर हुर्किएकी कायस्थ इमानको राजनीति गर्ने दुर्लभ पात्र हुन् भन्दा अत्युक्ति नहोला । ०३५ सालदेखि वामपन्थी आन्दोलन र राजनीतिमा जोडिएकी उनले यसबीच एमाले पार्टीले केन्द्रीय कमिटीमा बस्न भन्यो, इन्कार गरिन् । ०६४ र ०७० को चुनावमा उम्मेदवार बनायो, लड्न मानिनन् । ३५ वर्ष प्राध्यापन पेशा अँगालेकी उनी ४ वर्षअघि राजीनामा दिएर पूर्णकालीन राजनीतिमा हेलिएकी हुन् । इमानको राजनीति गर्दै आएका उनका पिता अवधनारायण कर्णको ०४१ सालमा इन्दिरा गान्धीको हत्या भएकै बेला प्राण गयो, नेपाल यातायात संस्थान, रोपवे, जनकपुर जयनगर रेलको एकाउन्टेन्ट हुँदा । केही समय इन्सेकको महासचिव भएरसमेत काम गरेकी उनी अहिले माधव नेपाल समूहतिर खुलेकी छन् । ओलीकाविरुद्ध सर्वाेच्चमा हस्ताक्षर बुझाउने २३ सांसदमध्येकी हुन् ।

– हरि गजुरेल

एमाले विवादलाई कसरी हेर्नुभएको छ ?

– निश्चय पनि पार्टी विभाजन देश र जनताको हितमा छैन । तर, केपी शर्मा ओलीले प्रधानमन्त्री, दलको नेता, पार्टी अध्यक्षको भूमिकामा रहँदा जनभावनाविपरीत, पार्टी हित, विधि विधान कुल्चिएर काम गर्नुभयो । व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्नुभयो । उहाँको गलत कदमको विरोधमा बोल्ने, आवाज उठाउने, पार्टी हितमा, मुलुकको हितमा काम गर्न खोज्ने आफ्नै पार्टीका साथीहरूलाई ठूलो दुश्मन देख्न थाल्नुभयो । नवौं महाधिवेशनबाट उहाँ अध्यक्ष त चुनिनुभयो त्यसपछि पार्टीको केन्द्रीय कमिटीको गतिशीलता समाप्त हुने स्थितिमा पुग्यो । कतै सल्लाह नगरी उहाँले प्रचण्डसँग पार्टी एकता गर्दा भंयकर ठूलो उपलब्धि भयो, तिनै प्रचण्डसँग माधव नेपाल नजिकिँदा कारबाहीको सिलसिला चल्यो । र, आज सँगै बस्न सक्ने अवस्था नरहेरै यो विग्रह भएको छ । यो दुःखद र बाध्यकारी अवस्था हो । जब नेकपालाई सर्वाेच्चले विघटन गरिदियो, एमाले–माओवादीलाई पुरानै ठाउँमा फर्काइदियो । त्यसपछि माओवादी आफ्नो विधानअनुसार चल्न थाल्यो तर एमालेमा ओलीले केन्द्रीय कमिटीको बैठक त डाक्नुभयो तर आफ्नै गुटको मात्र । फरक मत राख्नेलाई स्पष्टीकरण सोध्ने, कारबाही गर्ने, फेरि फिर्ता लिने अनेक नाटक चले र यो समस्या उत्पन्न हुनु स्वाभाविक थियो । हामीमाथिको कारबाही अहिले सभामुखकोमा पुगेको छ । पार्टीमा रहेर हामीले अनुशासनअन्तर्गतकै कामकारबाही गर्दै आएका थियौं ।

उहाँबाट अत्याचारै भएपछि दल विभाजन प्रक्रियामा जानु हाम्रो विवशता हो । हिजोका दिनमा ओलीले चालेको कदमको पक्षमा विरलै कोही भेटिन्छन् । जो संविधान मान्दैन र जसले ओलीबाट लाभ पाए, तीबाहेक उहाँको कदमलाई सही मान्ने अरू छैनन् ।

हिजो माधव नेपालकै कित्तामा रहेका अष्टलक्ष्मी, रघुजी पन्त, भीम आचार्य, गोकर्ण बिष्टजस्ता नेता अहिले यता कि उता भन्नेमा पुग्नुलाई के भन्नुहुन्छ ?

– उहाँहरूको विचार र योगदानको उच्च सम्मान गर्छु । पार्टी एकढिक्का रहोस्, नफुटोस् भन्ने चाहनाले सफलता प्राप्त गर्न सकोस्, शुभकामना दिन्छु । दश बुँदेमा टेकेर उहाँहरूले न कसैलाई समात्नुभएको छ न कसैलाई छोड्नुभएकै छ ।

प्रदेश दुईमा माधव नेपाल खेमा र ओली खेमाको स्थिति कस्तो छ ?

– पार्टी फुटेपछि धेरै साथी अलमलमा हुनुहुन्छ । केही साथी खुल्नुभएको छ । हिजो सिंगो नेकपा हुँदा प्रदेशमा एउटा कमिटी निर्माण भएको थियो, जसमा बहुमत माधव पक्षकै हो । माधव नेपालको पक्षमा लागेका केन्द्रीय समिति, प्रदेश सभा, प्रदेश कमिटीका सदस्यहरूको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान छ । उनीहरूले जनताको मुक्तिका लागि शोषण, उत्पीडनका लागि आन्दोलन गरेको इतिहास छ, माक्र्सवाद बुझेका छन्, जेल नेल खाएका छन् । केपी ओलीको पछि लाग्नेमा पैसा दिएर प्रमोट भएका पात्रहरू धेरै छन् । कम्युनिष्ट आन्दोलनलाई तितरबितर पार्ने, विगतमा कम्युनिष्टविरोधी शैली र आचरण अपनाएकाहरू थुप्रै छन् । विधि, पद्धति, सामाजिक न्याय, मूल्य–मान्यता, लोकतन्त्रका पक्षपाती माधव नेपालसँगै छन् । अहिले केही साथी तटस्थ देखिनुभएको छ । महिना दिनभित्रै उहाँहरू पनि खुल्नुहुन्छ ।

तपाईं मधेशबाट उठ्नुभएको, बौद्धिक महिला, समानुपातिक सांसद । समानुपातिकबाटै सांसद बनेकाहरूले पदका लागि हारालुछ गरेका सयौं उदाहरण हाम्रै अगाडि छन् तर तपार्इंले पद पाउँदा पनि त्याग गर्नुभयो किन ?

– मधेशको छोरी चेलीलाई पढाउनु हुँदैन भन्ने मान्यता थियो तर मैले घर परिवारको साथ सहयोग पाएँ । ०३६ सालपछि संगठित भएँ । पार्टीमा स्वार्थपूर्ति गर्नका लागि लागेको हैन, विचारको हिसाबले हो । मनमा कहिल्यै पmलानो कमिटीमा बस्दा फाइदा हुन्छ भन्ने लागेन । केन्द्रीय कमिटीमा बस्न प्रस्ताव आयो । त्रिविमा अध्यापनरत थिएँ । जहाँ भए पनि पार्टीका लागि काम गर्छु, पद चाहिँदैन भन्दै गएँ । धेरै पटक मेरो नाम आउँदा साथीहरूले छोडिदिनुभएको छ, सबैले फिर्ता लिनुभएको छ आफ्नो नाम । संविधानसभाको पहिलो र दोस्रो निर्वाचन ताकासम्म यो सिलसिला चल्यो । पटकपटक मेरालागि गर्नुभएको वा देखाउनुभएको त्यागका कारण साथीहरूको चित्त दुखाउनु हुँदैन भन्ने लाग्यो । प्राध्यापन गर्न थालेको ३४ वर्ष र टियुको प्रोफेसर भएको ७ वर्ष पूरा भइसकेको थियो । चार वर्षअघि टियुबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएको हुँ ।

तर, माधव नेपालको साथ छाड्नेहरू बढ्दै छन् । कुनै समय ४५ सांसद थिए, अहिले प्रतिनिधिसभातर्फ २३ जनामा सीमित छ, किन घट्दै छ ?

– जो साथीले पदको लोभ गर्नु भएन, नीति, विधि, पद्धति नै प्यारो मान्नुभयो उहाँहरू हामीसँगै हुनुहुन्छ । आज नेपालको हालत किन यस्तो छ भने अवसरवाद हावी छ । वाम आन्दोलन क्षत विक्षत हुनुको प्रधान कारण हो अवसरवाद । केही व्यक्तिले अवसरवादतिर लगेर राजनीति समाप्त पार्नुभयो, राजनीतिक आन्दोलन, वाम आन्दोलन समाप्त पार्ने दिशातिर लैजानुभयो । ०१७ सालमा राजा महेन्द्रले कु गर्दा उनको समर्थनमा जाने कांग्रेसीको हालत पछि के भयो ? पछि केन्द्रीय कमिटीमा बहुमतसमेत पु¥याउन नसकेको इतिहास छ । टाउको गनेकै आधारमा धेरैलाई लाग्न सक्छ माधव नेपाल कमजोर हुनुभयो, तर त्यसो होइन । अन्तिमसम्म पनि वार्ता कमिटीमा रहेका, स्थायी कमिटीका भएका साथीहरू पार्टी एकढिक्का पार्न सकिन्छ कि ? भनेर मध्यमार्गमा लाग्नुभएको थिएन र ! मध्यमार्गमा लागेका साथीहरूको इतिहास हेर्ने हो भने उहाँहरू जीवनभर विचार, पद्धतिका लागि लड्नुभएकाहरू हुनुहुन्छ । अहिले के–के बुँदे भनेर लागे पनि कुनै पनि हालतमा उहाँहरू केपी ओलीसँग सधैं एकाकार रहिरहन सक्नुहुन्न । अबको महिना दिनभित्रै धेरै चिज क्लियर हुन्छ ।

समानुपातिकको पद तुरुन्तै जाने खतरा हुँदाहँुदै माधव नेपाललाई किन साथ दिनुभएको ?

– चिन्ता एक थान सांसद पदको होइन । देश र जनताको हितमा काम हुन्छ कि हुँदैन ? भन्ने मूल प्रश्न हो । एक थान सांसद पदको के को लोभ, के को चिन्ता ? हाम्रो सांसद पद ५ पुसपछि गएको होइन र ? हामी संसद्, संविधानको रक्षा, सामाजिक न्याय, नीति, विधि, पद्धति, राजनीतिक इमान्दारीका लागि लडिरहेका छौं । यो बीचमा धेरै अवसर छाडिए । अवसरकै पछि दौडिएको भए सायद म पनि अहिले झण्डावाला गाडीमा हुँइकिरहेको हुन्थें होला । जीवनमा मैले पदलाई उति महत्व कहिल्यै दिइन । माधव नेपाल निरन्तर विचार, व्यक्तित्व, नियम विधि पद्धतिका लागि लडिरहनुभएको व्यक्ति । एउटा सचेत नागरिक हुनुको हैसियतले पनि उहाँलाई साथ दिनु आफ्नो कर्तव्य मानेँ ।

झण्डै एक वर्षदेखि उपसभामुख पद रिक्त छ । उपसभामुखमा सरला यादव र तपार्इंको चर्चा सुनिन्छ । प्रस्ताव आए स्विकार्नुहुन्छ ?

– गरिमामय सदनले पूर्णता पाउनुपर्छ । पात्र को आउँछ, को जान्छ त्यो महत्वपूर्ण विषय होइन । पार्टीले वा गठबन्धनले जसलाई योग्य ठान्छ उसैलाई पठाउला । जो योग्य हुनुहुन्छ, उहाँले जिम्मेवारी पाउनुहोला ।

जीवनको साढे तीन दशक प्राध्यापनमा बिताउनुभयो, कालान्तरमा के देखेर राजनीतिमा होमिनुभयो ?

– ०३५ सालतिरै शिक्षक आन्दोलन शुरु भयो । क्याम्पसहरू बन्द भएको समयमा शिक्षक सेवा भिडेर निमाविबाट प्रध्यापन शुरु भयो । पाँच वर्षपछि सुर्खेत क्याम्पस, ०४१ सालमा भक्तपुर बहुमुखी क्याम्पसमा पढाएपछि ०४५ सालमा महेन्द्ररत्न क्याम्पसमा अध्यापन गराउँथें । त्यहाँ झण्डै २५ वर्ष बिताएँ । पढेलेखेकाहरू भन्छन्, राजनीति घृणाको विषय भयो, यसमा धेरै विकृति, विसंगति छन् । तर, पढे–लेखेकाले राजनीतिमा केही गर्न सक्छन्, यो फोहोरलाई सफा गर्न सकिन्छ कि भनेर म राजनीतिमा लागेको । विदेशतिर राजनीतिमा लाग्न निश्चित योग्यता चाहिन्छ, हामीकहाँ त्यस्तो सिष्टम छैन । पार्टीमै लाग्नुभएका, जीवन जवानी समर्पण गर्नुभएका नेताप्रति सम्मान छ तर पढालेखा, विद्वान् मान्छे आएको खण्डमा यो क्षेत्र सुधार्न सकिन्छ ।

अवसरका लागि दल, गुट बदल्नेहरूको भीड छ हामीकहाँ, तपाईं पाएका अवसर पनि इन्कार गर्नुहुन्छ । यस्तो इमानले पनि राजनीतिमा टिक्न सकिन्छ ?

– अवसरले मुलुकलाई बचाउँछ, अवसरवादले मुलुकलाई डुबाउँछ । अहिले अवसरवादको भीड छ हामीकहाँ । राजनीति कसका लागि गर्न खोजेको ? पद वा कुर्सीका लागि कि जनताका लागि ? मनमा धैर्यता चाहिन्छ, क्लेश मात्र पनि मनमा लोभ, पाप लुकेको छैन भने शीर ठाडो पारेर हिँड्न सकिन्छ । हामी आफ्नो कमजोरी लुकाउनका लागि कुनै अमूर्त शक्ति वा व्यक्तिलाई दोष दिएर पन्छँदै आएका छौँ । सदैव अमूर्त शक्ति वा व्यक्तिलाई देखाएर आफू पन्छने कुरा पत्यारिलो हुँदैन । जनताले पद लोलुप नेता खोजेका छैनन् । जनताको चाह छ नेतामा देशप्रेम होस्, सदाचारी र सुशासन देओस्, पार्टीलाई सही तरिकाले अघि बढाओस् ।

टिप्पणीहरू