​घामलाई एक्ल्याउने अनेकन काम

  • शिवकुमार काशी

स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट गृहराज्यमन्त्री भएका इन्द्रबहादुर बानियाँ र केही नवधनाड्यहरूको व्यवहार विस्तारै छताछुल्ल हुन थालेको छ । निर्वाचनलाई साम, दाम, दण्ड र भेद मानेर हिँड्ने राजनीतिक प्राणीका निम्ति असामान्य परिस्थितिको केही घटना सामान्य लाग्लान् तर गैरराजीतिक चरित्र भएकाहरूको भूमिका सुन्ने हो भने छक्क पर्नुपर्ने अवस्था छ । 

कुरा हो, कांग्रेस मकवानपुरका सभापति एवं गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँको । उनले आचारसंहिता मिच्दै गाउँ–गाउँ र टोल–टोलमा पुगेर करोड करोडका सपना मत्र बाँडेनन् । कतिपय ठाउँबाट लखेटिनुसमेत परेको छ । मौन अवधिमा रकम बोकेर पूर्वी मकवानपुरमा सशस्त्र प्रहरीको ड्रेस लगाई बानियाँ आफंै सुरक्षाबलसहित गाउँ पुगेका घटना चर्चामा छन् भने उत्तरी मकवानपुरको कैलाश गाउँपालिकामा पुगेर फर्कंदा कांग्रेसबाहेकका दलले ढुंगामुढा गरेर बाटो अवरोध गरेको त्यतिखेरै सार्वजनिक भएको थियो । 

रकम खर्चेरै चुनाव जित्न सकिन्छ भन्ने मान्यतासाथ गृहराज्यमन्त्रीले सकेसम्म आफंै नभए प्रतिनिधिमार्फत ठूलै रकम खर्चेको चर्चा मकवानपुरमा छ । उनी निर्माण व्यवसायी पनि हुन् । मौन अवधिमा रकम बोकेर सशस्त्र प्रहरीको पोसाक लगाई उनी बकैया गाउँपालिकासम्म पुगेको देख्ने स्थानीय बताउँछन् । राज्यमन्त्रीकै रूपमा जाँदा अरू दल र सचेत स्थानीयले थाहा पाउने र अबरोध खडा गर्न सक्ने भएकाले प्रहरी बनेर गाउँ छिरेको हुन सक्ने अनुमान लगाइएको छ । उनको जे–जति सक्रियता रहे पनि आफ्नै निर्वाचन क्षेत्रमा भने दाहिने हात नै गुमेजसरी राजनीतिक शक्ति गुमेको छ । मकवानपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्य जितेका उनले आफ्नै क्षेत्रका तीन गाउँपालिकामध्ये १ को मात्रै नेतृत्व बचाउन सफल भए । त्यो पनि, मूल नेतृत्व मात्रै । मकवानपुरगढीमा एमाले बहुमतसहित, बागमतीमा माओवादी केन्द्र बहुमतसहित र बकैयामा कांग्रेसले मूल नेतृत्व र केही जनप्रतिनिधि जितेको छ । यद्यपि, जिल्लाभरमा भने कांग्रेसलाई दोस्रो स्थानमा ल्याउन कांग्रेस सभापतिको दौडधूपले काम गरेको छ । 

यता, निर्वाचनका बेला मौन अवधिमा भएका चलखेलका अर्का पात्रका रूपमा हेटौंडा–११ मा चर्चामा रहेका व्यक्ति हुन् अरूणराज सुमार्गी । माओवादीसँग नजिक मानिएका सुमार्गी परिवारले यसपटक सरकारी गठबन्धनका लागि सहयोग गरेको बताइन्छ । खासगरी हेटौंडा उपमहानगरपालिकामा सरकारी गठबन्धनविरुद्ध एमाले एक्लै निर्वाचनमा होमिँदा एमाले हराउ अभियान चलाएर उनले चर्चा पाएका छन् । उनी मौन अवधिमा हेटौंडा ११ बाट लखेटिएको स्थानीया बताउँछन् । रकम बोकेरै उनी मौन अवधिमा त्यता पुगेको स्रोत बताउँछ । यद्यपि, स्थानीयको अवरोधपछि उनी घर फर्केर अर्कै गाडी चढेर अन्यत्रै मिसनमा हिँडेको बुझिएको छ । 

यी सबै हर्कतका बाबजुत पनि एमालेले मकवानपुरमा जित हासिल गरेको छ । सरकारी गठबन्धन कांग्रेस र माओवादी केन्द्रलाई पछार्दै हेटांैडा उपमहानगरमा बहुमतसहित एमालेका हरिबल महत मेयर र मीना लामा उपमेयरमा निर्वाचित भएका छन् । त्यसैगरी, युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामालाई पराजित गर्न भीमफेदी गाउँपालिकामा बनेको सरकारी गठबन्धन पनि फेल खाएको छ । त्यहाँ लामा अध्यक्ष र पार्वती राना उपाध्यक्षमा निर्वाचित भएका छन् । सरकारी गठबन्धन जिल्लाको थाहा नगरपालिकामा मात्रै टिकेको छ । 

एमालेमाथि किन आक्रमण :

बहुदलपछि भएका सबै निर्वाचनमा (पहिलो संविधानसभाबाहेक) एमालेले जित हासिल गर्दै आएको छ । एमालेको कब्जाबाट मकवानपुरलाई मुक्त बनाउन कांग्रेस, राप्रपा, माओवादी त लाग्ने नै भए । त्यसका अलावा यहाँ व्यवसायी पनि लागेको देखिन्छ । कारण हो, मकवानपुरमा रहेका विभिन्न प्राकृतिक स्रोतको दोहन । भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाभित्र हेटांैडा सिमेन्ट उद्योग र गृहराज्यमन्त्री बानियाँको समेत अप्रत्यक्ष संलग्नता रहेको शिवम् सिमेन्टका खानी क्षेत्र पर्छन् ।

यी खानीस्थलबाट कौडीको भाउमा कर तिरेर ढुंगा उत्खनन भइरहेको छ । जसकारण यहाँका व्यवसायी लाभान्वित छन् । एमालेले जित्नासाथ सबैलाई करको दायरामा ल्याउने र प्राकृतिक रूपमा कम क्षति पु¥याउने गरी उत्खनन नीति बनाएर कडाइ गर्ला भन्ने ठूलो डर व्यवसायीलाई छ । यसर्थ ती व्यवसायी यी दुई गाउँपालिकामा एमालेले हारोस् भन्ने चाहन्छ । शिवम् सिमेन्टबाट करोडभन्दा बढी रकम खर्चेर मकवानपुरगढीमा हुमागाई र भीमफेदीमा लामालाई पराजित गराउन ‘दलालहरू’ परिचालित भएको पनि पाइएको एमाले नेता बताउँछन् ।

भीमफेदी गाउँपालिका प्रमुख लामाले आफूले सबैखाले घेराबन्दी तोड्नका लागि ठूलै मिहिनेत गरेको बताए । उनले आफूलाई हराउन ठूला उद्योगका मालिक र उद्योग वाणिज्य महासंघका नेतासमेत लागि परेको बताए । ‘चुनावमा कसले के ग¥यो भन्ने आधारमा हामी जनप्रतिनिधिले व्यवहार त गर्न हुन्न नै, तर राज्यको स्रोतलाई कौडीको भाउमा किन्ने र बेच्ने प्रथाको अन्त्यका लागि एमाले र हिदम लामा लाग्छ’, लामाले प्रतिक्रिया दिए । 

टिप्पणीहरू