भागेर चितवन पुगेकी किशोरीलाई स्कुलमा लगेर बलात्कार

भागेर चितवन पुगेकी किशोरीलाई स्कुलमा लगेर बलात्कार

घरमा श्रीमान् र सासूको लाञ्छनासँगैको यातना सहन नसकेपछि भागेर हिँडेकी एक किशोरी भरतपुर,चितवनमा जबरजस्ती करणीको शिकार भएकी छन् । विरक्तिएर नारायणी किनारमा बसिरहेकी किशोरीलाई एक अधबैंशे पुरुषले ललाइफकाई लगेर बलात्कार गरेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार नुवाकोट घर भएकी किशोरी भदौ ५ गते चितवन पुगेकी हुन् । त्यो रात उनी होटलमा बास बसिन् । भोलिपल्ट साँझ नारायणी किनारको चौतारीमा बसिरहेको समयमा अन्दाजी ४०/४५ वर्षीय अधबैंशे पुरुष आएर उनीसँग भलाकुसारी गरे । उनले पनि आफ्नो वृत्तान्त सुनाइन् । पुरुषले ‘मेरो घरमा छोरीहरू छन्,हिँड’ भन्दै लगे । राति एउटा कलेजमा पुर्याएर उनै पुरुषले लठ्ठी र डोरी देखाउँदै धम्क्याएर आफूलाई बलात्कार गरेको किशोरीले बताएपछि सबै कुरो खुलेको हो ।

उक्त घटना भदौ ६ गते राति साढे ९ बजेतिरको हो । बलात्कृत भइसकेपछि किशोरी रुँदै त्यहाँबाट निस्किँदा गेटमा सुरक्षागार्ड भेटिए । उनले आफूमाथि भएको घटना गार्डलाई सुनाइन् । गार्डले ‘को हो त्यो ?’ भन्न नपाउँदै पुरुष कुलेलम् ठोकिहाले । त्यसबेला उनको शरीरमा एउटा भित्र लगाउने समिजमात्रै थियो । गार्डले नै सर्ट र गम्छा बेर्न दिएका थिए ।

‘बाबुले चाहिँ जस्तो भएपनि त्यहीँ (श्रीमानको घर) बस् भन्छन् । ज्यानै जोगाउन गाह्रो भएपछि भागेर हिँडे । माइतीका काकीले तँ मरे पनि तेरो पाइला यता नफर्कियोस् भन्छन् अनि कहाँ जाउँ ?’

अवस्था र घटनाक्रम खराब देखेपछि राति नै प्रहरीलाई खबर गरिएको बताइन्छ । त्यसपछि किशोरीलाई प्रहरीले लिएर गयो । प्रहरी कार्यालयमा दुई दिन राखेपछि उनलाई जिल्ला प्रहरी कार्यालयले माइती नेपालको जिम्मा लगाएको छ । अहिले किशोरी माइती नेपाल चितवनको आवधिक गृहमा बसिरहेकी छन् ।

१७ वर्षीया राधिका विश्वकर्मा (परिवर्तित नाम) लाई एक वर्षअघि बाबुआमाले ३२ वर्षीय पुरुषसित बालविवाह गरिदिएका थिए । नुवाकोटको तारकेश्वर गाउँपालिका माइती रहेको उनका आमाबाबुको सात छोरी र दुई छोरा छन् । उनी साहिँली हुन् । सुन पसलमा काम गर्ने श्रीमान् मानसिक रोगको औषधी सेवन गर्छन् ।

बिबाहित तर बच्चा नपाएकी बुहारीलाई सासू र श्रीमानले बिहेअघि अर्कैको गर्भ बोकेको गम्भीर आरोप लगाउँदै चरम शारीरिक र मानसिक यातना दिएको बुझिएको छ । विभिन्न लाञ्छना लगाउँदै श्रीमानले फलामको रडले हिर्काउँदा आफ्नो हातै भाँच्चिएको समेत किशोरीले बताएकी छन् । धेरै पटक श्रीमानले मुड्कीले अनुहारमा हान्दा आँखा हेर्नै नमिल्ने भएको समेत उनले सुनाइन् ।

‘कहिले भित्तामा बेस्सरी ठोक्काइदिन्थे,ससुराचाहिँ हाँसेर बस्थे’,राधिकाले भनिन् । ‘बाबुले चाहिँ जस्तो भएपनि त्यहीँ (श्रीमानको घर) बस् भन्छन् । ज्यानै जोगाउन गाह्रो भएपछि भागेर हिँडे । माइतीका काकीले तँ मरे पनि तेरो पाइला यता नफर्कियोस् भन्छन् अनि कहाँ जाउँ ?’ उनी भन्छिन्, ‘कतै काम गरेर बस्छु ।’ माइती नेपालले नै सीप र श्रमको व्यवस्था गरिदिए हुने उनको अपेक्षा छ ।

माइती नेपालमा अर्की एउटी १२ वर्षीया बच्ची पनि छिन् । सरिता (परिवर्तित) हो उनको नाम । उनी माइती नेपाल चितवनको आवधिक गृहमा रहेको करिब एक साता भयो । उनी पनि आफन्तकोमा जान चाहन्नन् । माइती नेपालले नै संरक्षणको व्यवस्था गरिदेओस् भन्ने आशा गरेको बताउँदै आफ्नो कथा यसरी सुनाइन् :

अहिले कक्षा ६ मा पढ्ने बालिकाकी आमा उनी ६ वर्षको हुँदा अर्कैसँग बिबाह गरेर हिँडिन् । पछि बाबुले पनि अर्की आमा ल्याए । आफ्नो घर समेत नभएकाले उनले भरतपुरको खानेपानी चोक अगाडि रहेको डेरामा एक दिन बच्चीलाई एक्लै छाडेर बाबु र कान्छी आमा हराए । त्यसपछि केही दिन आफ्नो साथीकोमा गएर बसेकी बालिकालाई वरपरकाले एकजना डाक्टरको घरमा काम गर्ने भन्दै पठाए ।

काम गर्ने घरमा डाक्टरकी श्रीमतीले कुटेपछि चिनेजानेकै एक होटलवाला आफन्तकोमा उनी पुगिन् । त्यहाँबाट उनलाई प्रहरीको जिम्मा लगाइयो । प्रहरीले माइती नेपालमा पठाइदियो । उनी भन्छिन्, ‘मलाई कुनै आश्रममा लगेर राखिदिनु, कसैसँग (कोही आफन्तसँग) बस्दिनँ । बाले पनि कुट्छन् ।’

कहीँ आश्रममा लगेर राखिदिँदा पछि उनका बाबु वा आफन्त आएर लगिहाल्ने हो कि ! भनेर तत्काल बच्चीलाई के गर्ने भन्ने निधोमा माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरी पनि पुग्न सकेका छैनन् । हुन त काठमाडौंमा माइती नेपालको आफ्नै संरक्षण गृह छ । पठनपाठनको लागि विद्यालय समेत छ ।

ईश्वर भन्छन्, ‘त्यहाँबाट पढेर कति केटाकेटी डाक्टर, इन्जिनियर भइसके ।’ यी कुसुम पनि टाँठी छिन् । एकपटक उनको बारेमा केन्द्रमा कुरा गर्ने गिरीले बताएका छन् । राधिका १८ वर्ष पुगेकी भए उनलाई पनि माइती नेपालले नै सीप र रोजगारीको व्यवस्था गरिदिन सक्थ्यो । अहिले बालिका नै रहेकी हुँदा आफूहरूको नीतिले त्यसो गर्न मिल्दैन ।’ ईश्वरले भनेका छन्, ‘तैपनि एकपटक केन्द्रमा कुरा गर्छु ।’

– अजय गोर्खाली

टिप्पणीहरू