​वीरेन्द्रका नाममा भएको त्यो बेइमानी « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

​वीरेन्द्रका नाममा भएको त्यो बेइमानी

प्रकाशित मिति :  १९ जेष्ठ २०७४, शुक्रबार १७:३८


  • जीवराज भट्टराई

पर्सि अर्थात् ०७४ साल जेठ १९ गते राजदरबार हत्याकाण्ड भएको ठ्याक्कै १६ वर्ष पुग्छ । संयोगवश आज यो लेख्न बस्नुअघि काठमाडौंको खसीबजारस्थित ‘काभ्रेली भोजनालय’ मा खाजा खान छिर्दा राजा वीरेन्द्रको तस्बिर सजाएर राखेको देखें । हुन त यसरी तस्बिर सजाएर राख्नु कुनै नौलो कुरा होइन । धेरैले आफ्नो घर बैठक वा मूलढोकामा स्व. राजा वीरेन्द्रको पारिवारिक तस्बिर सजाएर राखेको देखिन्छ । सामाजिक सञ्जालका वालमा यस्तो प्रशस्तै देख्न पाइन्छ । यस्तो देख्दा लाग्छ— मान्छे शक्तिको पुजारी मात्र पनि होइन रहेछ ।

त्यस्तो हुँदो हो त अहिलेका जल्दाबल्दा नेताहरूको तस्बिर त्यसरी नै राख्नुपर्ने । राजाकै फोटो चाहिएको भए जीवित रहेका र फेरि पनि शक्तिमा आउनसक्ने भनिएका ज्ञानेन्द्रको तस्बिरलाई अँगाल्नुपर्ने । तर, त्यस्तो पटक्कै देखिँदैन । यसबाट के बुझिन्छ भने मान्छेका मनमनमा स्व. राजा वीरेन्द्रप्रति उच्च सम्मानभाव छ । मृत्युको १६ औं वर्षपछिसम्म पनि जनताको श्रद्धा र सम्मानमा वीरेन्द्र बाँचिरहेकै छन् र अझ धेरैसम्म बाँचिरहनेछन् । 

त्यो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशविनाश भयो भनिए पनि त्यो पूर्ण सत्य भने होइन किनकि उनका दुई नातिनीहरू छँदै छन् । छोरीपट्टिका सन्ततिको नाता र अस्तित्वलाई अस्वीकार गर्ने समय अब रहेन । आमनेपालीमा स्व. राजा वीरेन्द्र र उनका परिवारप्रति यति ठूलो श्रद्धा, सम्मान र सम्झना हुनुका पछाडि मुख्यतः तीन कारण छन् जस्तो लाग्छ । पहिलो हृदयविदारक ढंगबाट स–परिवार हत्या हुनु । दोस्रो त्यसपछिका दिनमा देश झन् संकटमा फस्दै जानु र तेस्रो राजा वीरेन्द्रको प्रजातान्त्रिक छवि सबैलाई प्रिय लाग्नु । हुन त यसमा अर्को पक्ष पनि त्यत्तिकै सवल छ— मान्छे मरेर गएपछि उसका अवगुणहरू जति सबै बिर्सिइन्छन् र गुण मात्रै आएर बाँच्नेलाई घेर्छन् । 

स्व. राजा वीरेन्द्रको त्यो तस्बिर आज सर्वत्र प्रिय भएजस्तै त्यतिबेला योजना बनाइएको वृत्तचित्र बनाउन पाएको भए धेरैका निम्ति संग्रहणीय सम्झना बन्थ्यो भन्ने कुराले आज पनि थक्थकी लागिरहन्छ । राजदरबार हत्याकाण्डले अरू कुनकुन सोच र योजना अधुरा रहे ती आफ्नो ठाउँमा होलान् । अहिलेसम्म कहीँ–कतै सार्वजनिक नभएको कुरा ‘राजसंस्था र राजा वीरेन्द्र’ नामको वृत्तचित्र निर्माणको योजना पनि अन्तिम अवस्थामा आएर त्यही हत्याकाण्डले गर्दा तुहिएको थियो । 

०५७ साल पुस महिनाको एक साँझ बालुवाटारको सरकारी निवासको चौरमा तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझी र यो पंक्तिकार आगो तापेर बसिरहेका थियौं । ती दिनमा हामी राति अबेरसम्म माओवादी विद्रोह र देशको अवस्थाबारे कुराकानी गरेर बस्थ्यौं । तर त्यसदिन भने लामो समयसम्म वृत्तचित्रको फरक प्रसंग चलिरह्यो । राजदरबारमा छायाचित्र शाखा भएकाले महत्वपूर्ण तस्बिरहरू त संग्रहमा होलान् तर यस विषयमा एउटा वृत्तचित्र पनि हुनु आवश्यक छ भन्नेमा हामी दुवै सहमत भयौं । मुलुकमा राजसंस्थाको उतारचढावपूर्ण लामो इतिहास रहेको र राष्ट्रप्रमुख अर्थात् राजा वीरेन्द्रको जीवनीमा आधारित वृत्तचित्र आममानिसका निम्ति रुचिको विषय हुन सक्ने विषय थियो । यो रुचिको मात्र कुरा नभएर देशको इतिहासलाई श्रव्यदृश्यमा जीवन्त राख्ने कुरा पनि थियो । यो प्रस्ताव राजा समक्ष पु¥याउने सहमति गरेर त्यसदिन हामी सुत्यौं । 

अर्को दिन यसै विषयमा मैले एउटा बिन्तीपत्र तयार पारें । त्यसको ४÷५ दिनपछि सभापतिले राजासँग भेटघाट गर्ने मिति तय भएको थियो । राजामा त्यो विषय जाहेर भयो । तर, पहिलो दिन राजाबाट त्यो प्रस्ताव अस्वीकार गरियो । त्यस्तो प्रस्ताव त्यसअघि अन्यत्रबाट पनि आएको तर आफूले त्यो काम गर्न जरुरी नदेखेकाले त्यत्तिकै रहेको राजाको भनाइसँगै त्यो त्यत्तिकै रह्यो । तर, हामीले भने हार मानेका थिएनौं । फेरि अर्को पटकको दर्शनभेटमा दिने भनीकन त्यस्तो वृत्तचित्रको आवश्यकता र औचित्य संक्षेपमा खुल्ने गरी अर्को बिन्तीपत्र तयार पारियो । यता, यस विषयमा चलचित्र क्षेत्रको राम्रो अध्ययन र अनुभव भएका दीपकजंग रायमाझीलगायत अन्य प्राविधिक विषयका अनुभवीहरूसँग पनि सरसल्लाह गरियो । जतिजति छलफल अघि बढ्यो उतिउति हामी दृढ निश्चयी हुँदै गयौं । 

अर्को पटक त्यसरी नै कुराकानी हुँदा यस सम्बन्धमा राजामा केही लचकता देखियो र यो पनि खुल्न आयो कि— राजाबाहेक राजपरिवारका अन्य सदस्य त्यस्तो वृत्तचित्र बनोस् भन्ने चाहना राख्छन् । धेरैबेरको बुझाउने प्रयासपछि राजाबाट यस विषयमा विस्तृत योजना प्रस्तुत भएपछि मात्र निर्णय हुने कुरा भयो । यति भएपछि हामीले करिब–करिब बाटो खुलेको अनुभूति ग¥यौं र काममा जुट्यौं । एकातिर वृत्तचित्रमा समेटिने विषयको सारसंक्षेप तयार गर्ने; विस्तृत संवाद लेख्ने; छायांकन गरिने स्थान र विषयवस्तु निक्र्याेल गर्नेजस्ता काम सुरु गरियो अर्कोतिर कुल खर्च र समयावधिका विषयमा पनि छलफल गरियो । सुरुमा त झण्डै ५ घण्टा लामो वृत्तचित्र बनाउने योजना पो हामीले तय गरेछौं । तर त्यसो गर्नु हुँदैनथ्यो । काटछाँट गर्दागर्दै पौने २ घण्टामा झारियो । 

यसरी सबै कुरा तयार पारेर राजामा जाहेर हुँदा राजाले हाँस्दै ‘मलाई साँच्चै कलाकार बनाउन लागेको त होइन नि !’ भन्ने कुरा भयो । सँगसँगै निजी जीवनका धेरै कुरा समावेश नगर्ने र वृत्तचित्रकै लागि भनेर आफूले छुट्टै कुनै अभिनय पनि नगर्ने सर्त पनि वीरेन्द्रबाट आयो । पटकपटकको पुनर्लेखनबाट एउटा खाका पनि तय भयो । सकेसम्म अझ छोट्ट्याउन भन्दै राजाबाट त्यसको शुभारम्भे असार १३ गतेदेखि गर्ने इच्छा व्यक्त भयो । असार १३ गते राजदरबारका निम्ति एउटा विशेष खुसीको दिन पनि थियो । त्यसपछि हामीले पटकपटक सरसल्लाह गरिकन असार १३ गते बिहान ९ बजे नारायणहिटी दरबारका केही दृश्य छायांकन गर्ने र आउँदो कात्तिक २३ गते अर्थात् संविधान दिवसका दिन वा पुस १४ गते सार्वजनिक गर्ने निर्णय र तयारी साथ बसेका थियौं । जेठ १९ को कालो रातले ती सबै समाप्त पारिदियो । 

यसो सम्झिँदा सबै कुरा समयको खेल हो जस्तो लाग्छ । समयले त्यही कुरालाई कहिले सकारात्मक र कहिले नकारात्मक बनाउँदो रहेछ । एउटा कोणबाट हेरिएको कुरालाई अर्कै कोणबाट हेर्न पनि बाध्य पार्दो रहेछ । अर्को अलि पुरानो प्रसंग पनि छ । ०३९ सालको माघ महिनामा प्युठान जिल्लाको ओखरकोट गाविसमा निर्मित खानेपानी योजना सम्पन्न भएपछि त्यसको उद्घाटन राजा वीरेन्द्रबाट हुने भएछ । हामी स्कुले केटाहरूलाई घाँटीमा रेडक्रसको रुमाल बाँधेर स्वयंसेवकका रूपमा त्यहाँ पठाइने भयो । त्यतिबेलासम्म ठूला मान्छे भनेका विद्यालयका शिक्षक र जिल्ला शिक्षा अधिकारीसम्म देखेका हामीले एकैचोटि राजारानी देख्ने भयौं । फुर्किनसम्म फुर्किंदै अघिल्लो दिन नै उद्घाटनस्थल पुगेर बास बस्यौं । सम्भवतः त्यतिबेला राजारानीबाट हुने क्षेत्रीय भ्रमणअन्तर्गत नै त्यो कार्यक्रम पनि राखिएको थियो होला । तीन÷चारवटा हेलिकोप्टरको आवतजावतपछि एउटा हेलिकोप्टरबाट राजारानी ओर्लेको देखियो, अलि टाढैबाट । ओर्लनेबित्तिकै रानीले आफ्नो हातमा लगाइरहेका दुबै पन्जा खोलेर राजालाई समाउन दिइन् । त्यसलाई सबैले अचम्मको घटना माने । पछिसम्म पनि गाउँमा ‘रानीले राजालाई हेप्दी रहिछन्, हाम्रा राजा त जोइटिंग्र्रे पो रहेछन्’ भन्ने चर्चा चलिरह्यो । त्यसो त अहिले पनि दरबारको नजिक हुनेहरूले भन्ने र लेख्ने गरेकै छन्— राजकाजमा रानीको हस्तक्षेप बढी थियो, रानी अति नै हठी थिइन् आदि÷इत्यादि ।

यस्ता कुरामा समाजका धारणा चेतनास्तरको सापेक्षतामा बन्ने गर्दा रहेछन् । हिजो त्यतिमै राजालाई जोइटिंग्रे देख्ने त्यही पुस्ताले आज झन्डै ३५ वर्षपछि मुलुकमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भएको देखिरहेको छ । महिलामा पनि सक्षमता नभएको त होइन रहेछ । विद्यादेवी भण्डारीलाई राष्ट्रप्रमुखको दायित्वबाट चुकेको भन्न कसैले सक्दैन । महिलाको नेतृत्वमा न्यायालय र व्यवस्थापिकाले ऐतिहासिक फट्को मारिरहेकै छन् । समयले ल्याउने परिवर्तनलाई कसैले रोक्न सक्दैन । सायद पानीले आफ्नो बाटो आफंै तय गरेजस्तो इतिहास पनि आफैं लेखिने हो कि ? तर मृत्युपर्यन्त भित्ता–भित्तामा तस्बिर त त्यसैको मात्र झुन्डिन्छ जो मनको भित्तामा बास बस्नलायक छ । 


प्रतिक्रिया दिनुहोस !