​आदर्शले त केही नहुने क्या !

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले तेह्र पाने भरेर बिटुलिएका एक जना सहसचिवले कारबाहीबाट बच्ने नयाँ जुक्ति फेला पारेका छन् । कारबाहीबाट बच्ने अस्त्रका रूपमा उनले अख्तियार प्रमुख दीप बस्नेतका आफन्तलाई मालदार ठाउँमा तानेर चोखिने प्रयास गरेका छन् । 

यसरी बस्नेतलाई समेत प्रभावमा पारी कारबाहीबाट बच्ने माहिर खेलाडी हुन्, तेजबहादुर भट्ट । कांग्रेसनिकटका कर्मचारी भट्ट यसअघि मेलम्ची खानेपानी आयोजना (पिआइडी) मा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोप मात्र लागेन । अख्तियारले तेह्र पानेसमेत भरायो । पछि कांग्रेसी नेतालाई प्रभावमा पारेर उनी खानेपानी विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् । यो विभागमा अहिले उनीपछिको दोस्रो पद अर्थात् उपकार्यकारी निर्देशक पद खाली छ । सोही पदमा हो उनले अख्तियार प्रमुख दीप बस्नेतका भान्जालाई तानेर आफू कारबाहीबाट जोगिने प्रयास गरेको । हाल नेपालगन्जमा रहेको साना सहरी क्षेत्रीय खानेपानी आयोजनामा कार्यरत रहेको भोज थापालाई तान्न सो स्थान होल्ड गरेर अरू कर्मचारीलाई समेत आउन नदिई रोकेर राखेका छन् । भोज अख्तियार प्रमुख बस्नेतका भान्जा हुन् । 

अहिले खानेपानी आयोजनामा राजनीतिक पूर्वाग्रह राखेर कसरीसम्म निर्णय गर्ने गरिएको छ भन्ने पछिल्लो उदाहरणसमेत हिजो मंगलबार देखियो । निजामती कर्मचारी ऐनअनुसार पोस्टिङ गरिएको महिना दिनभन्दा बढी समयसम्म जिम्मेवारविहीन बनाएर राख्न मिल्दैन तर एकै दिन एउटै सूचनामार्फत बढुवा भएका कर्मचारीलाई राजनीतिक दुराशय राख्दै सौतेनी व्यवहार गरिएको छ ।

मंगलबार मात्र एउटै सूचनामार्फत तीन कर्मचारी पोस्टिङ भएकोमा भक्तपुर खानेपानी डिभिजन कार्यालयको प्रमुख रही हाल फायल बढुवामार्फत पोस्टिङ आशिष घिमिरे, खानेपानी विभागमा रही ज्येष्ठताका आधारमा पोस्टिङ भएका जनक अधिकारीलाई कुनै जिम्मेवारी नदिई पेन्डुलम राखिएको छ तर एकै सूचनामार्फत एकै दिन पोस्टिङ भएका कांग्रेसी कर्मचारी खुलामार्फत बढुवा भएका अनिलभद्र खनाललाई मेलम्ची खानेपानी आयोजनाबाट सिधै मन्त्रालयमा तानिएको छ । जबकि यी अन्य कर्मचारीभन्दा धेरै जुनियर (उपसचिव) हुन् र पहिलो पोस्टिङमै मन्त्रालय तानिएर अर्काे गाईजात्रा देखाइएको छ ।

 सामाजिक सञ्जालमा आदर्शका कुरा लेख्ने भीम उपाध्यायकै संलग्नतामा यस्तोसम्म बद्मासी भएको छ । फस्ट क्लासका दुई कर्मचारीलाई कामुमा थन्क्याइएको छ, दुई कर्मचारीलाई जिम्मेवारीविहीन बनाइएको छ तर पहिलो पोस्टिङमै अनिलभद्र खनाललाई मन्त्रालयमा तानिएको प्रति कर्मचारी नै आश्चर्यचकित भएका छन् । 

उता, अर्काे गाईजात्रा छ साना सहरी खानेपानी आयोजनामा । त्यहाँ कार्यरत रामचन्द्र साहले आफ्नो पद जोगाउन र असारसम्म त्यहीँ बसेर खेलो–फड्को मच्चाउन राज्यमन्त्री दीपक खड्काको चाकडीमा जुटेका छन् । उनले आयोजनाको गाडीमा बा.१झ १५४९ नम्बरको रातो नम्बर प्लेट हालेर उक्त गाडी राज्यमन्त्री दीपक खड्कालाई टक्र्याएका छन् । आयोजनाको यो गाडीमा राज्यमन्त्री खड्का भने दुरुपयोग गर्दै आएका छन् । उनी सोही गाडी प्रयोग गर्दै आफ्नो गृहजिल्ला संखुवासभामा दौडने गरेका छन् ।

आफ्नो पद असारसम्म जोगाउन उनले राज्यमन्त्री खड्काको यसरी चाकडी गरेका हुन् । उनलाई खानेपानी विभागको उपमहानिर्देशकमा प्रस्तावित गरिएको भए पनि असारसम्म उनी यहीँ बसेर अर्थाेपार्जन गर्ने ध्याउन्नमा छन् । उता, हिजो मंगलबार गरिएको सरुवामा राजनीतिक रूपमा कांग्रेसबाहेक अन्य पार्टीप्रति आस्थावान कर्मचारी राजधानीबाहिर लखेटिएका छन् । खानेपानी महाशाखामा सहसचिव रहेका राजन पाण्डे दिपायल धपाइएका छन् भने दिपायलका रमाकान्त दवाडीलाई मेलम्ची खानेपानी परियोजनामा तानिएको छ । त्यस्तै, प्रथम श्रेणीका दुई सहसचिव प्रदीप मुडवरी र शंकर ज्ञवालीलाई राजनीतिक दबाबमा सुदूरपश्चिम क्षेत्रीय खानेपानी निर्देशनालय पठाइएको छ ।

टिप्पणीहरू