आज सर्वोच्चमा अनेकथरी मुध्दाको भारी

आज सर्वोच्चमा अनेकथरी मुध्दाको भारी

पूर्ववर्ती ओली सरकारले दुई पटक संसद बिघटन गरी विभिन्न संवैधानिक अंगमा आफू अनुकूलका ५२ व्यक्ति भर्ति गरेको बिषयमा महिनौं अघि परेको मुध्दाको सुनुवाई आज हुँदैछ ।

गत ५ पुस र ७ जेठमा ओली सरकारले संसद भंग गरी संवैधसनिक परिषद्को बैठकबाट नियुक्ति दिएको बिषयमा आठ महिनाअघि दायर भएका रिट त्यत्तिकै अल्झिएर बसेका थिए । अधिवक्ताहरु ओमप्रकाश अर्याल,दिनेश त्रिपाठी,समृत खरेल लगायतले दायर गरेको संवैधानिक परिषद्सम्बन्धी मुध्दाको पेशी आजलाई तोकिएको हो ।

सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा,न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलाशमा पेसी चढेको हो । विश्वम्भर श्रेष्ठ श्रीमान बिरामी भएका कारण उहाँका ठाउँमा इश्वर खतिवडालाई समेटिएको छ ।

आज एकै पटक ३३ वटा मुध्दाको पेशी चढेको छ । जसमा साधारण मुध्दादेखि संवैधानिक परिषद्सम्बन्धीसम्म र,दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध ६ वटा छन् । ३ भाद्रमा दर्ता भएका ६ वटा निवेदनको सुनुवाई पनि आजै हुँदैछ ।

अधिवक्ताहरु अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल,निकेशकुमार लम्साल र अनुपा अर्याल,प्रवेश केसी,श्रीकान्त बराल,दलबहादुर धामी,सरोज बुढाथोकी र आशिष श्रेष्ठहरुले दायर गरेको रिटको सुनुवाईका लागि संवैधानिक इजलाशमा पेसी चढेको हो । सरकारले जारी गरेको अध्यादेश गैरसंवैधानिक भएकाले तत्काल रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ।

यसअघि दल विभाजनका लागि संसद वा केन्द्रिय कमिटीमा ४० प्रतिशत हुनुपर्ने प्रावधानलाई खुकुलो बनाई २० प्रतिशत सांसद वा केन्द्रीय कमिटीका सदस्य पुर्याएको खण्डमा दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याइएको थियो । सोही अध्यादेशकै आधारमा एमाले विभाजन भएर नेकपा समाजवादी दर्ता भइसकेको छ भने महन्थ ठाकुरहरुले जनता समाजवादी पार्टी बनाएका छन् ।

यस्तै संवैधानिक आयोगहरुमा नियुक्त गरिँदा संसदीय सुनुवाई नभए पनि ४५ दिन कटेपछि स्वत: पद पाइने प्रावधानको विरुद्ध सुलभ खरेल,निशान्तबाबु खड्काहरुले दायर गरेको रिटको पेसी पनि संवैधानिक इजलाशमा चढेको छ । उता कांग्रेस नेता मोहम्मद आफताब आलमको मुद्दामाथि आज सुनुवाईका लागि प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगनाको इजलाशमा पेसी तोकिएको छ ।

०६४ सालमा बिष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भई घाइते भएका जीवित मजदुरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोगमा जेल सजाय काटिरहेको प्रकरणमा आज सर्वोच्चमा सुनुवाई हुन लागेको हो । ।

टिप्पणीहरू