दाइ न जेठान, युवाकै बथान

योगेश भट्टराई एमालेका त्यस्ता समकालीन युवा हस्ती हुन्, जो पार्टीका आधिकारिक कुरा बोल्छन् । नेतृत्वलाई यतिसम्म प्रभावित पारिसकेकी, आजकल उनले भनेका कुरा हत्तपत्त पार्टी अध्यक्ष केपी ओलीले पनि काट्दैनन् । तर, दुःखको कुरा छ कि उनै योगेशलाई दोस्रो चरणको निर्वाचनका क्रममा नमज्जा भयो । तर, जस्तै नमज्जा भए पनि उनी पार्टी कामका लागि गृहजिल्ला ताप्लेजुङ पुगेका छन् ।

मात्रिकाप्रसाद भट्टराई योगेशका सहोदर दाजु हुन् । उनी पार्टीको ताप्लेजुङ जिल्ला कमिटीका उपाध्यक्ष र फुङलिङ नगर इञ्चार्ज हुन् । अर्का छन्, ताराप्रसाद घिमिरे । उनी योगेशका जेठान हुन् । यी दुबै फुङलिङ नगरपालिकाको मेयरका लागि प्रत्यासी थिए । एउटा साख्खै दाइ, अर्का जेठान । कस्तो अप्ठेरो † यता लागौँ कि उता लागौँ हुने नै भयो । घरभित्रै प्रतिस्पर्धी निस्किएपछि स्थानीय पार्टी, प्रदेश र केन्द्रमा पनि योगेशले ‘यो, त्यो’ केही भनेनन् । तर, दुबैलाई भर थियो योगेशको । एउटा भन्ने, ‘मेरो भाइ पो त !’ अर्को भन्ने, ‘मेरो त ठ्याक्कै सालो नि !’ तर, पार्टीका धारणा बोल्ने प्रचार विभाग प्रमुख यी योगेशसँग टिकट दिने, नदिने कुनै अधिकारै थिएन । अन्ततः त्यहाँ मेयरको टिकट न दाइ, न जेठान, पाए छत्रपति प्याकुरेलले † अर्का प्रतिस्पर्धी थिए, सन्तोष खतिवडा । उनी पनि योगेशकै भर परे । तर, छत्रपतिको निर्णय गरिदियो, प्रदेश कमिटीले । यसपछि योगेश ताप्लेजुङ पुगेका छन्, छत्रपतिलाई जिताउन ।

उता, एमालेको युवापंक्तिबाट यसपटक पहिलो चरणमा केही आशलाग्दा युवाहरू निर्वाचनमा पराजित भएका छन् । अखिल र युवा संघमा काम गरेका र नेतृत्वमा स्थापित गर्नुपर्ने भनी धुम्बाराहीको प्राथमिकता सूचीमा परेका युवा पराजित भएपछि तिनलाई व्यवस्थापन गर्नुपर्ने अर्को चटारोमा एमाले छ । जस्तो कि, युवासंघ नेतृ सुशीला बडुवालले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा उपाध्यक्षको टिकट पाइन् । तर, काठमाडौंतिर मेहनतसाथ काम गरेकी उनलाई त्यहीँका केही एमाले लागेर चुनाव हराइदिए । सिन्धुपाल्चोकको चौतारा साँगा नगरपालिकामा अखिल नेतृ सीता थापाले उपमेयरको टिकट पाइन् । चुनावी माहोल तताइन् पनि । तर, ६ हजार दुई सय ६७ मत पाएर पनि केही झिनो मतान्तरसहित पराजित भइन् । काभ्रेको पाँचखाल नगरपालिकामा चुनावभरि अखिल नेतृ भक्तकुमारी लामा चर्चाको पात्र बनिन् । तर, ६ हजार ६ सय २२ मत ल्याएर सात हजार २६ मत ल्याउने कांग्रेसकी लक्ष्मी दनुवारसँग हारिन् ।

तर, युवा संघका कोषाध्यक्ष हिदम लामा मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा तीन हजार आठ सय ४२ मत सहित विजयी भए । युवा संघकी पूर्वकेन्द्रीय सदस्य शर्मिला पौडेल, स्याङ्जाको आँधिखोला गाउँपालिका उपाध्यक्षमा जितिन् । युवा संघकै केन्द्रीय सदस्य लेखबहादुर तामाङ (दर्शन लामा) ले पोखरा महानगरको १३ नं. वडाबाट वडाध्यक्ष जितेपछि त त्यहाँका कांग्रेस नगर सभापति बजिरमान श्रेष्ठले पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा नै दिए । युवा संघका तत्कालिन गण्डकी अञ्चल अध्यक्ष नवराज ओझा कास्कीको रूपाकोट गाउँपालिका अध्यक्षमा चार हजार दुई सय २२ मतका साथ विजयी भए । पूर्वकेन्द्रीय सदस्य जुना बस्नेत सूर्यविनायककी उपमेयर भइन् ।

त्यस्तै, पोखरा महानगरको १६ नं. वडामा पूर्वकेन्द्रीय सदस्य जीवन आचार्य वडाध्यक्ष निर्वाचित भए । त्यस्तै, युवा संघका नेताहरू कृष्ण पौडेल स्याङ्जामा गाउँपालिका अध्यक्ष, स्याङ्जाका युवा संघ अध्यक्ष विमल पौडेलले वडाध्यक्ष जितेका छन् । ललितपुरमा संगीता अछामी वडा सदस्य, कर्ण घिसिङ सिन्धुलीमा वडाध्यक्ष, शान्ता थापा पोखरामा वडा सदस्य, देशभक्त केसी पोखरा १२ मा वडा सदस्य, हरि लम्साल पोखरा २४ मा वडा सदस्य, गीता महत तनहुँमा वडा सदस्य जितेकी छन् ।

टिप्पणीहरू