​भट्भटेको तनाव भयंकर « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

​भट्भटेको तनाव भयंकर

प्रकाशित मिति :  १९ जेष्ठ २०७४, शुक्रबार १७:३०


कुरा ठूलो होइन तर यसो भन्दाभन्दै माओवादी पत्रकारबीच ठूलै झमेला आइलागेको छ । कुरा जम्माजम्मी एक्स सिडी ब्रान्डको १२५ सिसीको मोटरसाइकलको हो । सशस्त्र संघर्ष विश्राम गरी सहर छिरेपछि माओवादीले खुला रूपमा पत्रिका, एफएम, टेलिभिजन र अनलाइन चलाउन थालेपछि त्यहाँ काम गर्ने पत्रकारलाई सवारी साधनको सुविधा दिने क्रममा उक्त मोटरसाइकल किनिएको थियो, फाइनान्स सुविधामा । तर, अहिले न ऋणी सम्पर्कमा छन्, न साक्षी नै ! यसपछि तनाव हुने भयो, उक्त मोटरसाइकल चलाएर हिँडेका पत्रकारलाई । 

माओवादीसम्बद्ध कर्मचारी संगठन राकसका पूर्वअध्यक्ष रुक्म लामिछानेका भाइ प्रकाशचन्द्र माओवादीले चलाएको दैनिक अखबार जनदिशाको मार्केटिङमा काम गर्थे । काम गर्न सजिलो होस् उनकै लागि त्यो मोटरसाइकल व्यवस्था भएको हो । एउटा काण्ड लागेको फाइनान्स थियो, पूर्णचन्द्र शिल्पकारको । पछि उनैसँग कुरा मिलाएर उनकै फाइनान्सबाट किस्ताबन्दीमा पैसा तिर्ने गरी प्रकाशले मोटरसाइकल लिए । त्यसमा साक्षी बसेका थिए, गोरखाका अमृत उपाध्याय । मोटरसाइकल त चन्द्रमान श्रेष्ठदेखि सन्तोष पौडेल, सचिन रोकासम्मले लिए । तर, उनीहरूले तोकिएको अवधिअगावै सबै किस्ता बुझाएर मोटरसाइकल आ–आफ्नो नाममा पारे ।

तर, १२५ सिसी मोटरसाइकलको भने बिजोग भयो । प्रकाश र अमृत दुबै मार्केटिङमा काम गर्थे । तर, सम्पादक गोविन्द आचार्यले न्युजमा काम गर्ने साथीहरूलाई बाइकको खाँचो भयो भन्दै उक्त बाइक मनोज घर्तीमगरलाई दिलाउन भने । निर्देशनअनुसार मनोजले बाइक पनि चलाए । मनोजले अफिसबाट पाएको बाइक कहाँ किनियो, कसरी किनियोजस्ता कुरा ख्याल गरेनन् । तर, फाइनान्सले ताकेता गर्न थाल्यो । अहिले मनोज उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस सल्लाहकार छन् । बाइक दिलाउने गोविन्द प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन् । त्यसबेला एक लाख तिरेर किस्तामा लिइएको बाइकको किस्ता बेलामा नबुझाउँदा र बेलामा कर नतिर्दा अहिले त्यही बाइक चार–पाँच लाख रुपैयाँको भएको छ । तर, बाइक कहाँ छ ? कसैलाई थाहा छैन ।

अमृत जापानमा छन् । प्रकाश सम्पर्कमा छैनन् । स्वाभाविक हो, फाइनान्सले ऋणी नभेटे साक्षीलाई ताकेता गर्ने नै भयो । त्यसैले अमृतको गोरखाको घर ठेगानामा ऋण चुक्ता गर्न आउनू भनी पत्र पठायो । उनका चल–अचल सम्पत्ति पनि फाइनान्सले खोज्ने नै भयो । छोरो आफ्नो तालमा विदेशतिर बस्दै छ, गाउँमा बाबुआमा ‘लौ न, हामी डुब्यौँ’ भन्दै रुवाबासी गर्दै छन् ।
माओवादी पत्रकारले सोच्नुपर्ने भएको छ कि, क्रान्तिको गाथा गाउन त रमाइलै होला तर अर्काको फाइनान्स डुबाएर हिँडेपछि कहाँ पुग्छ क्रान्ति ?


प्रतिक्रिया दिनुहोस !