“त्यो पैसा उज्यालो शहर अभियानमा खर्च गरौं”

“त्यो पैसा उज्यालो शहर अभियानमा खर्च गरौं”

नेपाल विद्युत प्राधिकरणले विभिन्न प्रतिष्ठानहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम ‘उज्यालो शहर’ अभियानमा खर्चन अनुरोध गरेको छ । प्राधिकरणले सीएसआरको रकम स्मार्ट लाइट जडानमा खर्च गरी उज्यालो शहर अभियानको सारथी बन्न उद्योगी, व्यवसायी,औद्योगिक प्रतिष्ठान, औद्योगिक घराना,बैंक तथा वित्तीय संस्था,ऊर्जा उत्पादकहरु लगायतलाई अनुरोध गरेको हो ।

उज्यालो शहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा शहरका मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु,विश्वसम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । यसबाट यातायात व्यवस्थापन,शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने र शहरी सौन्दर्यसमेत बृद्धि हुने दाबी गरिएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण एवं स्थानीय तहहरुसँगको समन्वय र सहकार्यमा सीएसआरको रकम उज्यालो शहर अभियानमा खर्च गर्न सकिने बताउनुभएको छ ।

औद्योगिक व्यवसाय ऐन,२०७६ले मझौला,ठूला उद्योग वा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने घरेलु वा साना उद्योगले व्यवसायिक सामाजिक जिम्मेवारी वहन गर्ने प्रयोजनका लागि प्रत्येक आर्थिक वर्षमा वार्षिक खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम छुट्याउनु पर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले सीएसआरसम्बन्धी कार्यमा थप क्रियाशील हुन हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तिमा १ प्रतिशत रकम सीएसआर कोष खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले स्थानीय तहहरुसँगको सहकार्यमा ऐतिहासिक धार्मिक,सांस्कृतिक, विश्व सम्पदामा सूचीकृत स्थानहरु र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ति जडान गर्ने अभियान नै चलाउने जनाएको छ । नगरपालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुने बताइएको छ ।

टिप्पणीहरू