वनमा बसेका वनकृष्णः न आफन्त, न नागरिकता

वनमा बसेका वनकृष्णः न आफन्त, न नागरिकता

आधुनिक युगमा मान्छेले पनि जंगलमा जीवन बिताउँछन् भन्ने सुन्दा अहिले टिकटक र युट्युबमा दिन कटाउने नयाँ पुस्तालाई पत्यार नलाग्ला । हुन त जंगलमै जन्मेर, हुर्केर मानवको जीवन आजको टिकटके युगमा आएको हो । तर पनि विकसित हुँदै सामाजिक प्राणी बनिसक्दा समेत मानिसको जीवन जंगलमै बित्छ भनेचाहिँ त्यसलाई अनौठो मान्नुपर्छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–७,पाइनल खोला नजिकै एकान्त छाप्रोमा बस्दै आएका ५१ वर्षीय वनकृष्णलाई जंगलबाट मान्छेको जीवनमा फर्काइएको छ । २०२७ सालमा जन्मेका वनकृष्णकी आमा २०४४ सालमा अर्कै श्रीमानसँग हिँडिन् । बुबा रामबहादुरले २०४५ सालमा अर्की बिबाह गरेपछि उनीमाथि हेला हुन थाल्यो । हेला र जीवनबाट विरक्तिएका उनले जंगल पस्ने निर्णय गरे । जंगलमै बसे,जंगलमै सुते,जंगली कन्दमुल र फलफूल खाएर बाँचे ।

स्थानीय चेपाङ समुदायका अगुवा विशुमान चेपाङका अनुसार १५ वर्षपछि वातावरणीय कृषि तथा विकास केन्द्र (केड) को पहलमा उनलाई जंगलबाट खोजेर ल्याइयो । हिँडाएर शहर पनि पुर्याइयो । काठमाडौँ लगियो । काठमाडौँको गोपीकृष्ण हलमा चलचित्र देखाइयो र जावलाखेल लगेर चिडियाखाना घुमाइयो ।

त्यसपछि जीवन र दर्शन सुनाउँदै उनलाई गाउँमा ल्याएर एउटा छाप्रो बनाई पुनर्स्थापित गरिएको थियो । ‘अबदेखि जंगल नजाने शर्तमा गाउँ फर्काइएका वनकृष्णलाई केही दिनअघि भेटेर चामल र खानेकुराहरु प्रदान गर्यौँ,’ विशुमानले बताए ।

उनलाई जंगलबाट गाउँ फिर्ता गरिएको २०६० सालमा हो । १८ वर्षको अवधिमा वनकृष्ण जंगल फर्केका छैनन् । गाउँमा सानातिना काम र ज्याला मजदुरी गर्छन् । कुनै बेला गाउँ डुल्छन् र दिन कटाउँछन् । गत वर्षसम्म बिबाह गर्ने सोच राखेका उनी अबचाहिँ बिवाह नगर्ने मनस्थितिमा पुगेको उनै अगुवा विशुमानले जानकारी दिए । अहिलेसम्म नागरिकतासमेत नबनेको प्रसंग उठाउँदै विशुमानले भने, ‘उनको नागरिकता बनाइदिन पाए पछि सामाजिक सुरक्षा भत्ताका लागि सजिलो पर्थ्यो ।’

सोही गाउँबाट सरकारी तथा गैरसरकारी संस्थाको पहलमा ओढारमा बस्ने शंकरे चेपाङसहितलाई गाउँमा पुनर्स्थापित गरिएको चेपाङको इतिहास छ । त्यसो त वनकृष्णलाई जंगलबाट गाउँमा भित्र्याउँदा संस्थाले दिएको दुईवटा थाल,कराई,डेक्ची,डाडु पन्यूसमेत जतन गरेर उनले छाप्रोमा लुकाई राखेका छन् ।

टिप्पणीहरू