झलनाथको सदर हुने,शारदाको बेवारिस हुने ?

झलनाथको सदर हुने,शारदाको बेवारिस हुने ?

हिजो निर्वाचन आयोगले दस्तखत सनाखत गरी राती ९ बजे नेकपा एकीकृत समाजवादीलाई दर्ताको प्रमाणपत्र दियो । दिउँसो यसअघि एकमुष्ट निवेदन दिने सांसद र केन्द्रीय सदस्यको दस्तखत सनाखत गरिएको थियो । तर मंगलबार दिउँसो नयाँ दलमा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएका तीन जना सांसद र एक जना केन्द्रीय सदस्यको भने वास्तै गरिएन ।

एउटै निवेदनको २३ नम्बरमा नेता तथा माननीय झलनाथको नाम लेखिएको छ भने अन्तिममा शारदा भट्टको हस्ताक्षररहित नाम छ । हिजो झलनाथ बहादुर भवनमा उपस्थित नहुँदा पनि नयाँ दिल्लीबाट पठाइएको दस्तखतलाई नै मान्यता दिइएको हो । तर राष्ट्रिय सभाकी शारदादेवी भट्टलगायत तीन जना माननीय सशरीर उपस्थित हुँदा उहाँहरुको दस्तखत सनाखत गरिएन ।

भट्टको नाम रहेको पृष्ठको सिरानमा राष्ट्रिय सभाका सदस्य बेदुराम भुसालको नाम लेखिएको छ । त्यसैमा अरु सबै माननीयको दस्तखत सनाखत गरिएको छ । अर्थात सबैले आफ्नो दस्तखत गर्नुभएको छ । तर,आफैँ उपस्थित हुनुभएका भट्टको भने दस्तखत देखिँदैन ।

‘सुदूर पहाडी जिल्लाबाट आएर हतार हतार सशरीर आयोगमा पुग्नुभएकाको सनाखत गरिएन तर,उपचारको क्रममा नयाँ दिल्लीमा रहे पनि त्यहाँको नेपाली दूतावासमार्फत पठाइएको कागजातको आधारमा सनाखत भएको छ,’नेकपा एकीकृत समाजवादीका एक जना नेताले भन्नुभयो, ‘दूतावासले पठाएको पत्रको आधारमा खनालको दस्तखत सनाखत भएको हो ।’

हिजो दस्तखत सनाखत नभएका तीन जना माननीयहरु त्यसैमा टेकेर अब कानुनी उपचारको लागि अदालत जान सकिने विज्ञहरुले बताएका छन् । ‘अर्को पार्टीमा जान इच्छुक हामी छौँ भन्दा पनि आयोगले अटेर गर्नु अचम्म भयो,’ आयोगले दस्तखत गर्न नदिएपछि जनआस्थाको सम्पर्कमा आउनुभएका एक जना माननीयले भन्नुभयो ।

आयोगले लगत्तै संसद सचिवालयलाई पठाएको पत्रमा ‘निजहरु एकीकृत समाजवादी दलमा आवध्द हुन निवेदन दिएको’ भनेर टक्टकिएको बताइन्छ । आयोगले पठाएको एउटै पत्रमा अरु माननीयले सनाखत गरेर दल दर्ता भएको भनिएको छ भने फलानाहरुको चाहिँ सोही दलमा रहनको लागि भनेर निवेदन आएको अपुष्ट विवरण उल्लेख भएकोले संसद सचिवालयमा पनि अचम्म मानिएको छ । संसद सचिवालय स्रोत भन्छ, ‘सरकारी निकायहरुले यस्तै बीचको बाटो रोज्छन् । टाउको जोगाउने खेल मात्रै हो ।’

आयोगको पत्रको बारेमा संसद सचिवालय स्रोतले स्पष्ट पार्दै भनेको छ, ‘संसदमा त्यो दोहोरो अर्थको व्यहोरा लेखेर पठाउनु आयोगको अनावश्यक काम हो । को,व्यक्ति कसरी निर्वाचित भएर आएको भन्ने जानकारी मात्र आयोगले संसदलाई दिने हो ।’

सांसद भइसकेपछि उसको पद रिक्त भएमा भने त्यसको जानकारी संसदले सबैभन्दा पहिले निर्वाचन आयोग र गृह मन्त्रालयलाई दिने गर्छ । त्यसैले जहिले पनि त्यस्तो सूचि आयोगमा पनि अपडेट हुने संसद सचिवालयका एक जना अधिकारीले जानकारी दिनुभएको छ । तर हिजोको प्रयोजनको लागि संसदबाट सांसदहरुको सूचि माग्नुलाई ती अधिकारीले ‘अचम्म’ भन्नुभएको छ ।

टिप्पणीहरू