​विद्याका ठाउँमा बबालै बबाल

काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्यको उदय भएपछि त्यहाँका धमिरा सल्बलाउन थालेका छन् । एक करोड लागतमा नयाँ बंगला तयार हुन्छ तर बागदरबारमा अहिले विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी बस्ने कार्यकक्ष सिँगार्ने नाममा एक करोड रुपैयाँ हावामा उडाइँदै छ ।

यसरी नयाँ मेयर÷उपमेयरका नाममा खेलोफड्को मच्चाउने नटवरलाल हुन् त्यहाँका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की । पशुपतिशमशेर राणाको आशीर्वाद पाएर महानगर छिरेका उनी सुरुमा चुंगी कर उठाउँथे, केही पशुपतिलाई बुझाउँथे, धेरै आफैं कुम्ल्याउँथे । पछि राजाको शासनकालमा उनी राजावादी भए । बीचमा माओवादीको चकचकी हुँदा सच्चा माओवादी बने । अहिले त्यहाँको कमान्ड सम्हाल्न विद्यासुन्दर आइपुगेका छन्, उनी पक्काका एमाले बनिसकेका छन् । यसको ज्वलन्त उदाहरण केही दिनअगाडि राष्ट्रिय सभागृहमा देखियो । कांग्रेसका राजुराज जोशीलाई पछाडि पार्दै विद्यासुन्दर अगाडि लम्कँदै थिए ।  झण्डै पाँच हजार मतान्तरले अग्रता लिइरहँदा ज्ञानेन्द्रले विद्यासुन्दरलाई सभागृहको डिएसपीका लागि छुट्ट्याइएको कार्यकक्षमा सुटुक्क लिएर छिरेको पनि देखियो । त्यहाँ  उनले विद्यासुन्दरको चाकडी गर्न थाले ।  

अहिले मेयर÷उपमेयर बस्ने कार्यकक्षको निर्माण गर्ने ठेक्का कुन्दन सिङ र गुरु अधिकारीहरूले पाएका छन् । यी अर्का नटवरलाल हुन् । ज्ञानेन्द्रहरूको सेटिङ कस्तोसम्म छ भने महानगरपालिकामा कुनै पनि ठेक्कापट्टाका काम यी दुई भाइभन्दा अरूले पाउँदैनन् । यसअघि भूकम्प जाँदा वागदरबारमा रहेको पुरानो कार्यालयलाई अहिले भाडामा रहेको घरमा सार्दा उतैको पुरानो सामान उत्काएर भाडाको कार्यकक्षमा हाल्ने र नयाँ सामानको बिल हालेर असुलउपर गरिएको अरूलाई हेक्का नभए पनि कर्मचारीले चाहिँ बिर्सिएका छैनन् । अहिले वागदरबारको जेडिए कम्प्लेक्समा कार्यालय रहेको काठमाडौं महानगरपालिकाको कार्यालय भाडा मात्र मासिक आठ लाख छ । भूकम्प जाँदा सोही कम्प्लेक्समा पुरानो भवनबाट यतापट्टि सारिएको सामानलाई फेरि यताउता पार्ने नाममा ८४ लाख रुपैयाँ स्वाहा पार्ने प्रपञ्च सुरु भइसकेको छ ।

यसरी ज्ञानेन्द्रसँग मिलेर  त्यहाँका शाखा अधिकृत सुमन अधिकारीहरू छन् । सुमन तिनै शाखा अधिकृत हुन् जसको बालाजुमा अलिसान बंगला जोडिसकेका छन् । अन्य शाखा अधिकृत भाडाका गाडीमा कार्यालय आउजाउ गरिरहँदा ज्ञानेन्द्रलाई हातमा लिन सकेपछि उनी ज्ञानेन्द्रको निगाहबाट कार चढेर कार्यालय आउजाउ गर्ने कर्मचारीमा पर्छन् । ज्ञानेन्द्र र सुमनहरूको अत्याचार कस्तोसम्म छ भने उनै सुमनका नवनिर्वित घरमा कुन्दनहरूले निःशुल्क घरका डेकोरेटका लागि आवश्यक पर्ने सामान उपलब्ध गराइदिएका थिए । सोही उपहारस्वरूप महानगरपालिकाको हरेक ठेक्कापट्टामा उनै कुन्दन रोजाइमा पर्ने गरेका छन् । 

बीचमा कृषि विकासमन्त्री गौरीशंकर चौधरी हुँदा चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक बन्न खोजे, कालिमाटी तरकारी विकास बोर्डका निर्देशक बन्न खोजेर कतैबाट पार नलागेका व्यक्ति हुन् । पछाडि शान्ताराम महानगरपालिकामा आउँदा उनको घरको डेकोरेसन गर्ने काम निःशुल्क गरेबापत उनी शान्तारामको रोजाइमा परे । त्यसयता कुन्दनको समेत त्यहाँ एकछत्र राज छ ।  

यसअघि लक्ष्मण अर्याल हुँदा सुशासनका थिति बसाल्न खोजेका पनि हुन् तर रुद्रमानसिंह तामाङ उस्तै खेलाडी बनेर आइपुगे । देखिने गरी आफूले बद्मासी नगर्ने र बद्मासी गर्नेलाई ज्ञानेन्द्रहरूलाई उक्साउने पात्र थिए रुद्रमानसिंह । झण्डै–झण्डै प्रचण्डपुत्र प्रकाशलाई समेत माथ खुवाउने गरी स्त्रीप्रेमी हाकिमका रूपमा महानगरपालिकामा परिचित ज्ञानेन्द्रले आफ्नो एउटा छोरालाई हनुमानढोका दरबार स्क्वायरमा जागिर लगाउन टिप्पणीसमेत उठाएर सदर गर्ने अन्तिम तयारी गरिरहेका छन् । अहिले महानगरपालिकामा ज्ञानेन्द्रजस्तै कर्मचारीको हालिमुहाली हुँदा ६० सालअगाडिको हालतमा  काठमाडौं महानगरपालिका पुगेको कर्मचारी बताउँछन् ।

टिप्पणीहरू