मिल्छु भन्दै कता हो मिलिक्क ?

सबै दलसँग कार्यगत एकता गर्ने भन्दै घनीभूत सल्लाह गर्ने तर अन्त्यमा आफैं भाग्ने उपेन्द्र यादवको चरित्रबाट मधेसी नेता हायलकायल छन् । अरू मधेसी नेतालाई त फनफनी घुमाएकै थिए उनले विद्यावारिधिवाल डा. बाबुराम भट्टराईलाई समेत हत्तु खेलाइदिएका रहेछन् ।   

मधेसका ६ पार्टी मिलेर राजपा गठन हुनुअगाडि नै बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको फोरम पार्टीबीच एकता गर्ने हल्ला चले । तर, यो हल्ला अन्त्यमा हल्लामै टुंगिने भएको छ । नभएका होइनन्, यो बीचमा उपेन्द्र र बाबुरामबीच सयौं पटकसम्म सल्लाह पनि भएको हो । कहिले सानेपास्थित भट्टराईकै निवासमा त कहिले नयाँ शक्तिको केन्द्रीय कार्यालयमा । तर, अन्ततः भट्टराईको नयाँ शक्तिसँगको एकता भाँडेर उपेन्द्र यादव कहिले राष्ट्रिय जनता पार्टी त कहिले विजय गच्छदारसँग एकीकरण गर्छु भन्दै हिँड्न थालेका छन् । 

बाबुरामनिकट स्रोतका अनुसार उपेन्द्र यादवलाई बाबुराम भट्टराईसँग एकीकरण भाँड्न बाहिर र भित्री दुवै खालका शक्ति सक्रिय रहे । हाललाई स्थगन भनिएको र चुनावपछाडि नयाँ शिराबाट एकीकरण प्रक्रिया थाल्ने नयाँ शक्तिका नेताले बताए पनि यी दुई शक्तिबीच एकीकरण नहुने पक्का भएको छ । यसको संकेत केही साताअघि सानेपास्थित आफ्नै निवासमा आफूनिकटका  केही पत्रकारको भेलामा भट्टराईले खुलासा गरेका  थिए । बाबुराम भट्टराईसँग पार्टी एकीकरण गर्दा उपेन्द्र यादवकै अस्तित्व धर्मसंकटमा पर्ने र पार्टी कुनै पनि हालतमा भट्टराईको नयाँ शक्तिसँग एक नगर्ने विदेशीले उर्दी जारी भएपछि अन्ततः यादव बाबुरामसँगको पार्टी एक गर्ने योजनालाई यादवले भाँडेर हिँडेको नयाँ शक्तिका नेताले टिप्पणी गर्न थालेका छन् ।

यो कुरा बाबुरामले सानेपामा भेला भएका आफूनिकट पत्रकारसँग घुमाउरो ढंगबाट खुलासा गरेको सो भेलामा सहभागी एक पत्रकारले बताए । सायद बाहिरी र भित्री तत्वको यही दबाबका कारण होला अगाडि नयाँ शक्ति नाम लिएर पार्टी एकीकरण गर्न राजी भएका यादवले अन्त्यमा बबरमहलस्थित नयाँ शक्तिको पार्टी कार्यालयमा आएर बाबुरामसँग एकीकरण पछाडि अध्यक्ष पद आफैंलाई चाहिने जिकिर गरे । तर, बाबुरामले भने अध्यक्ष उनलाई दिन नसकिनेमा अड्डी लिए र अन्त्यमा नयाँ शक्ति र फोरमबीचको एकता भाँडिएपछि उनी मधेसी÷मधेसी दल एक हुनुपर्छ भन्दै कहिले राजेन्द्र महतोलाई फोन गर्ने त कहिले महन्थ ठाकुरलाई भेट्नमा व्यस्त छन् ।  

अहिले एकता प्रक्रिया पोस्टपन्ड गर्ने र चुनावपछाडि नयाँ शिराबाट अगाडि बढ्ने नयाँ शक्तिका नेता देवेन्द्र पौडेलको भनाइ छ । यद्यपि, नेतृत्व प्रणाली, सांगठनिक संरचना, संविधानप्रतिको बुझाइलगायत दर्जनांै विषयवस्तुमा यी दुईबीच मतान्तर रहँदा नयाँ शक्ति र उपेन्द्र यादवबीचको कार्यगत एकता सल्लाहमै सीमित बन्ने खतरा देखिएको छ । 

उसो त उपेन्द्र यादवले यसअगाडि वैशाख ५ गते शरत्सिंह भण्डारीको निवासमा बसेर माइन्युट लेखेका पनि हुन् । त्यहाँ राजकिशोर यादव, महेन्द्रराय यादव उपस्थित थिए । मध्यरातिसम्म बसेर उनीहरूले पार्टी एक गर्ने विषयमा माइन्युट तयार लेखेको पर्सिपल्टै उपेन्द्रलाई चक्मा दिने गरी राजकिशोर, महेन्द्ररायहरूले राजपा पार्टी गठन गरे । अहिले उनै उपेन्द्र कहिले विजय गच्छदारसँग त कहिले महन्थ ठाकुरको राजपासँग कार्यगत एकताको कुरा गर्दै हिँड्न थालेका छन् तर सल्लाह गर्ने, छलफल चलाउने र अन्त्यमा आफैं भागिहिँड्ने यादवलाई मधेसी नेताहरूले नै पत्याउन छाडेका छन् । 

टिप्पणीहरू