माननीयलाई जब जोगाइयो

माननीयलाई जब जोगाइयो

टोले गुण्डाहरुले मान्छे तर्साएर सबलाई मुठ्ठीमा पार्न खोजेजस्तो कार्यशैली अपनाउन थालेको छ, पूर्व सत्तारुढ पार्टीले । माधव नेपालसहितका सांसदहरुको पद रिक्त गराउनका निम्ति पठाइएको पत्रका आधारमा तत्काल सूचना टाँस्नुपर्ने मागसहित पूर्वमन्त्रीहरु संसद सचिवालय पुगेका थिए ।

गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, शान्ता चौधरीहरु समेत उफ्रिपाफ्री गर्न पुगेको बेला सभामुखचाहिँ गृहजिल्ला सिन्धुपाल्चोकतिर पुग्नुभएको थियो । उनीहरु तुरुन्त सूचना नटाँसे संसदमा ‘देखाइदिने’ भन्दै थिए । त्यसअघि केपी ओलीले एक भाषणमा ‘न्यायाधीश पल्टिने होइन’ भन्दै सभामुखमाथि धम्कीको भाषा प्रयोग गर्नुभएकै हो । सभामुखको सचिवालयमा पुगेका नेताहरुले त ‘महेश बस्नेतहरु परिचालन गरेर ठीक पार्ने’ सम्मका कुरा गर्न भ्याए ।

स्मरणीय के छ भने, सुवास नेम्वाङ सभामुख भएको बेला मात्रिका यादव र अनिल झाहरूको सांसद पद खारेजीका लागि पत्र लेखिँदा सूचनामा ढिलाई गरेर जोगाइएको थियो । पछि एउटा कार्यदल बनाइयो । त्यसबाट निश्कर्ष निकालेर अनिल झाले अर्को पार्टी दर्ता गर्न सक्ने बनाइयो । उनले अर्को पार्टी दर्ता पनि गरे ।

अनिल झा त्यसबेला नेपाल सद्भावना पार्टीका महामन्त्री थिए । अध्यक्ष राजेन्द्र महतोले आर्थिक अनियमितताको आरोप लगाउँदै कारवाही गरेपछि सांसद पद रिक्त बनाउन पत्र लेखेका थिए । तर, सुवासले नै हो, जोगाइदिनुभएको । अहिले सुवास आफैँ ‘दुई दिनभित्र सूचना टाँस’ भन्दै सभामुखको सचिवालयमा पुग्नुभएको छ ।

उता, लुम्बिनी प्रदेशमा सरकारबाट निस्किएको भोलिपल्टदेखि नै सदन अवरुद्ध पारियो । सूर्य चिह्नबाट चुनाव लडेकै नाममा विमला वली र अजय शाहीलाई सांसदबाट हटाउन पत्राचार गरियो । जबकि, विमला माओवादी केन्द्रकी र अजय हृदयेश त्रिपाठीहरुको स्वतन्त्र समूहका सांसद हुन् । त्यसरी हृदयेशको समूहका सांसद निकाल्न चिठी लेख्नुअघि एमाले महासचिव ईश्वर पोखरेल र स्वतन्त्र सांसद समूहको तर्फबाट हृदयेशबीच सहमति भएको थियो, ‘आगामी निर्वाचनमा सहकार्य गरेर जाने ।’ यत्तिका भरमा ती स्वतन्त्र समूहका मान्छेलाई हाम्रो पार्टीको मान्छे हो भन्दै त्यहाँ पनि सभामुखलाई धम्क्याइयो ।

टिप्पणीहरू