सास्ती छ हजुर संसदमा

सास्ती छ हजुर संसदमा

ओलीको अनुकूलका काम तत्काल सल्टाइहाल्ने, प्रतिकूल हुने काम चाहिँ झुलाइदिने शैलीका कारण संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतम आलोचित बन्दैछन् । गतहप्ता माधव नेपाल पक्षको एउटा निवेदन दर्ता गर्न आनाकानी गरी नेताहरूलाई झुलाएका कारण अहिले सभामुखलगायत नेतादेखि कर्मचारीसम्म रुष्ट भएका छन् । आफ्नो साथ छाडेर बाटो मोडेका १४ भाइ सांसदमाथि कारबाही गर्न ओलीले पठाएको पत्र तुरुन्त दर्ता हुनु, आफूमाथिको कारबाही रोक्न तिनै सांसदले भोलिपल्टै दिएको निवेदन दर्ता गर्नचाहिँ आलटाल गर्नु ।

भदौ १ मा एमाले अध्यक्ष ओलीले १४ सांसदको पद खारेज गर्न पठाएको पत्र तत्काल दर्ता भयो । भोलिपल्ट बिहानै उक्त कारबाही अवैध भएको पत्रसहित गएका विरोध खतिवडा र जीवनराम श्रेष्ठको तीन पृष्ठ लामो पत्रलाई भने बेबारिस बनाइयो । महासचिवले दर्ता गर्न नमानेपछि विरोध र जीवनरामले सभामुख अग्नि सापकोटालाई गुहारे । र, अपराह्न २ बजेर २५ मिनेट जाँदा बल्ल दर्ता हुन सक्यो ।

सो पत्रमा सर्वाेच्च अदालतको फागुन २३ गतेको फैसलापछि एमाले पूर्ववत् ०७५ साल जेठ २ को स्थितिमा फर्किएको, केन्द्रीय कमिटीमा २०३ जना रहेमध्ये निवेदक १४ मध्येका ९ जना केन्द्रीय कमिटीमा रहेको, सो यता केन्द्रीय कमिटीको बैठकै बस्न नसकेको अवस्थामा केन्द्रीय कमिटीको २५ साउनको बैठक भन्दै प्रस्तुत तथ्य नै गलत भएको औँल्याइएको छ । केन्द्रीय कमिटीको बैठक नै नबसी विधानले नचिनेकाहरु भेला भएर गरिएको काम कारबाही स्वतः अवैध हुने उनीहरुको जिकिर थियो ।

सात बुँदे उक्त पत्रको तेस्रो बुँदामा पार्टी अध्यक्ष केपी ओलीले ०७८ जेठ २३ गते जारी गरेको पत्रको बुँदा नम्बर ५ मा, पार्टीभित्रको विवाद समाधान गर्न सो मितिसम्म भए गरेका सबै कामकार्वाही स्वतः निष्क्रिय भएको भनिएको र सर्वाेच्चको २३ फागुनको फैसलापछि नेकपा एमाले पुनर्जीवित भई पार्टीको वैधानिकता र एकतासँग मेल नखाने कुनै पनि राजनीतिक र सांगठनिक काम कारबाही स्वतः बदरभागी मानिएकाले सो मितिभन्दा अघि भएका काम कारबाहीको आधारमा १४ जना सांसदउपर कारवाही गर्न नमिल्ने र यसमा दलीय ह्विप उल्लंघन नलाग्ने जिकिर गरिएको छ ।

कर्मचारी पृष्ठभूमिबाट संघीय संसद्को सचिव बनेका गौतमले यसअघि ५ पुसमा संसद विघटन हुनुपूर्व प्रचण्ड र माधव नेपालसहितका नेताले संसद सचिवालयमै पुगेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ज गर्न खोज्दा उनैले आनाकानी गरेका थिए । त्यसबेला उनले बल्लतल्ल ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे तर प्रक्रिया नपु¥याई ।

यसअघि यसैगरी माधव नेपाल पक्षलाई असहयोग गर्ने डा. हरि पौडेल अहिले अख्तियारको आयुक्त बनेका छन् । ओलीले संसद् विघटन गरेपछि भीम रावल, पम्फा भुषालहरूको समूह समावेदन पत्र बोकेर राष्ट्रपति निवासमा पुग्दा पिसाब आयो भन्दै त्यहाँबाट मोबाइल अफ गरेर पौडेल बेपत्ता भएका थिए ।

टिप्पणीहरू