बत्तीबिनै मन्त्रीको बहाली

सत्ताबाहिर बस्नै नसक्ने मधेसका नेता विजय गच्छदारले सरकारको आयु सकिने थाहा पाउँदा पाउँदै पहिलो चरणको चुनावअघि सरकारमा प्रवेश गरेरै छाडे । कमल थापा नेतृत्वको राप्रपामा विवाद देखिएपछि राप्रपा सरकारबाट बाहिरिएर खाली भएको ठाउँ लोकतान्त्रिक फोरमले भरेको थियो । सरकार परिवर्तन हुने बेलासमेत उनले सत्तालाई नै प्राथमिकतामा राखे ।

गत हप्ता एघारौं पटक सत्तामा गएका गच्छदारले कार्यकक्षमा प्रवेश गर्ने साँझ त्यहाँ पूर्वमन्त्री कमल थापाले राखेको पृथ्वीनारायण शाहको फोटो राख्ने र हटाउने काम भएको थियो । स्थानीय विकास मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीले त्यहाँ टाँगिएको पृथ्वीनारायण शाहको फोटो हटाउन लाग्दा गच्छदार टिमका मानिसले भने त्यो तस्बिरले कुनै बाधा नपारेको भन्दै त्यही स्थानमा राख्न आग्रह गरेपछि बुर्लाकोटीले पुनः फोटो झुन्ड्याएका थिए । गच्छदारसँगै सरकारमा प्रवेश गरेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले शपथग्रहणपछि कार्यकक्षमा प्रवेश गर्न लाग्दा विद्युत् सप्लाई अवरुद्ध भएर मोबाइल र टर्च लाइटको सहारामा कार्यकक्षमा प्रवेश गर्दै मोबाइलको उज्यालोमा निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

उनले आफू लामो राजनीतिक तपस्यापछि यो स्थानमा आइपुगेको भन्दै सबै कर्मचारीलाई इमानदारीसाथ देश र जनताको पक्षमा लाग्न आग्रह गरेका थिए । मधेसका अन्य शक्ति संविधान संशोधनको पक्षमा लागिरहेका बेला गच्छदार भने चुनावमा पनि सहभागी भए र सत्तामा पनि । राजधानीलगायत थुप्रै स्थानमा उम्मेदवार खडा गरे पनि खासै मतदाताले भने पत्याएनन् । काठमाडौंमा उनका उम्मेदवारले १ सय १८ मत मात्रै पाए । त्यसो त पार्टीका डन नेता मानिने गणेश लामाले काभ्रेको एक गाउँपालिकामा एउटा वडामा चुनाव जिताएका थिए । मधेसका अन्य राजनीतिक शक्तिहरु राजपाको छाताभित्र एक ढिक्का भइरहेका बेला गच्छदारले पनि सानातिना टुक्रा जोडजाड गरिरहेका छन् । सानातिना टुक्राबाट आएका नेतालाई पनि ठूलै भाग दिएर उनले पार्टी केन्द्रीय कमिटीलाई जम्बो बनाउँदै लगेका छन् ।

पदकै लोभमा भए पनि टुक्राटाक्रीको नेतृत्व गरेर बसेका नेतालाई उनले आफ्नो पक्षमा ल्याएका छन् । सत्तामा नहुँदा उनका अघिपछि खासै हुँदैनन् तर जब गच्छदार सत्तामा पुग्छन् उनका वरिपरि थुप्रै मान्छेको भीड लाग्ने गर्छ । आफ्ना कार्यकर्ताको मन राख्न सिपालु गच्छदाले कार्यकर्तालाई खामबन्दी दिने गरेकै कारण उनका वरिपरि अहिले पनि ठूलै भीड सिंहदरबारभित्र देखिने गरेको छ । गच्छदारले थारुलाई अलि बढी काखी च्यापेका कारण त्यहाँ ठूलो नजराना बुझाएर पुगेका पवन शारदा, सुबोध पोखरेल, बाबुराम पोखरेल र गीता राणहरू गच्छदारप्रति आक्रोशित बनेका थिए । सरकारमा जाने अवसर पाउँदा चौधरीहरूलाई नै रोजेका कारण गच्छदारप्रति उनीअरु आक्रोशित बनेका हुन् ।

उनीहरूको फाटेको मन बुझाउन गच्छदारले पार्टीभित्र उपाध्यक्ष तथा अन्य पदाधिकारीको कोटा बढाएर पार्टी कमिटी जम्बो बनाएका छन् । त्यसो त उनले शिक्षामा नाम चलेका बाबुराम पोखरेल र गीता राणाहरूको अकुत सम्पत्ति काण्डलाई अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग कुरा मिलाएर फाइल तानेको बताइन्छ । त्यसो त केही व्यक्तिले गीता राणा र बाबुरामलाई अकुत सम्पत्ति छानबिनमा पार्ने पनि उनै गच्छदार थिए भन्ने आरोप नलगाएका होइनन् । 

टिप्पणीहरू