अष्ट र भीम : मुख्यमन्त्री कसलाई दिम ?

अष्ट र भीम : मुख्यमन्त्री कसलाई दिम ?

एमाले विभाजनपछि विकसित परिस्थितिले तीनवटा प्रदेशको राजनीतिलाई अनुमानभन्दा फरक किसिमबाट प्रभाव पार्दै छ । फुटको असरले सबैभन्दा पहिला बागमती प्रदेशलाई छुने भएको छ ।

लामो समयदेखि माधव समूहमा रहेर एक महिनायता ‘ढलपल–ढलपल’ गर्दै ओलीतिर लागेपछि अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री त बन्नुभयो । तर, अब ओलीतिरै लागिरहने हो भने उहाँ बढीमा एक महिनाभित्र पदच्युत हुनुपर्ने स्थिति छ । त्यसो त मुख्यमन्त्री बन्नुअघि धेरै दुःखले एकचोटि माधव नेपालसँग उहाँको फोनमा कुरा भएको थियो । माधवलाई आफैँले दुई दिन लगातार गरेको फोन नउठेपछि अष्टले पतिको सहारा लिनुभयो । पति, अर्थात् पार्टीका पुराना नेता अमृत बोहोराले माधवलाई फोन गर्नुभयो । अमृतको फोन माधवले नउठाउने कुरै थिएन ।

तर, त्यो फोनमा बोल्नचाहिँ अष्ट बोल्नुभयो । भन्नुभयो, ‘कांग्रेसले अविश्वासको प्रस्ताव राख्दैछ । त्यो पारित भयो भने उनीहरू नै मुख्यमन्त्री हुन्छन् । यदि अविश्वासको प्रस्ताव पारित भएन भने डोरमणि नै अर्को १७ महिनासम्म मुख्यमन्त्री हुने भए । तर, अहिले ओलीहरूसँग हामी मिल्यौँ भने डोरमणिले छाडिदिन्छन् र हामी मुख्यमन्त्री हुन्छाैँ । कांग्रेसले पनि अविश्वासको प्रस्ताव दर्ता गर्दैन । मैले केपीसँग कुरा गर्दा हुन्छ भन्नुभएको छ । तर, तपाईंले नभनी म जान्नँ ।’ माधवले ‘ठीकै छ नि त, हुने भए जानुस्’ मात्रै भन्नुभयो । त्यसो भनेकै दिन माधव नेपालहरू निर्वाचन आयोगमा नयाँ दल दर्ताका निम्ति पुग्नुभयो । त्यही साँझ अष्टलक्ष्मी मुख्यमन्त्री बनाइनुभयो ।

त्यसपछि अष्टका कुरा फरक आउन थाले । ‘एमाले छाड्नै सकिँदैन’ भन्नुभयो । एकीकृत समाजवादीका नेताहरू चर्चा गर्दैछन्, ‘नयाँ दल दर्ता भएको २१ दिनभित्र कता लाग्ने भन्ने भएपछि अष्टलक्ष्मीको पद रहन्छ कि सकिन्छ भन्ने टुंगो लाग्छ ।’ अर्थात्, उहाँले एकीकृत समाजवादी रोज्नुभयो भने पद जोगियो, एमाले हुनुभयो भने, कांग्रेस, माओवादी, जसपा र साझा पार्टीसम्मका सांसद मिलेर विश्वासको मतमा हराउनतिर लाग्ने भए् । अहिले अष्टलक्ष्मीसँग माधव पक्षका अरुण नेपाल र रचना खड्का छन् । अर्कातिर, प्रदेश १ को मुख्यमन्त्री बन्ने परिस्थिति सहज बन्दै गएपछि अस्ति सोमबार बिहान माधवकुमार नेपालसँग भेट्न पुगेका भीम आचार्यले राम्रो रेस्पोन्स पाएनन् । ‘म तपाईंकै हुँ, कसैले भ्रम पारिदिए…’ भन्दै कुरा शुरु गरेका उनका सबै कुरा माधवले सुन्नुभयो । अन्तिममा ‘मलाई सबै थाहा छ’ भनेर बिदा गर्नुभयो ।

नाताले माधव नेपालको सम्धी पनि रहेका सोमप्रसाद पाण्डे बीचबीचमै छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गर्न पुग्नुअघि नयाँ बानेश्वरस्थित होटल अर्यालमा सोमप्रसाद माधवलाई भेट्न पुगेका थिए । तर, माधवले ‘अहिले कुरा नगरौँ, चाडबाडमै भेटौँला’ भनेपछि वरिपरिका मान्छे गललल्ल हाँसे । त्यही दिन बाहिर निस्किएपछि राजेन्द्र पाण्डेसँग बाझाबाझ नै भयो ।

राजेन्द्रलाई सोमले ‘दाइ’ भन्छन् । राजेन्द्रको ठट्टा थियो, ‘तिमी पाण्डे थरको मान्छे नै हैनौ, पाण्डेहरू यति लुज कहाँ हुन्छन् ? तिम्रो जातमै शंका छ ! दाइसँग सल्लाह नै नगरी जे पायो त्यही गर्न मिल्छ ?’ सोमले ‘एउटा डायरी छ, मैले कति–के गरेँ, म देखाउँछु…’ भन्दै कुरा टारेको बताइन्छ ।

टिप्पणीहरू