जता पनि आफ्नै मान्छे जय नेपाल

नवलपरासीको सुनवलमा एमालेबाट निर्वाचित उपमेयर दधिराम अर्यालसहित नौजना वडाध्यक्षले पहिलेदेखि कार्यालय सहयोगीको रुपमा काम गरेकालाई स्थायी गर्नुपर्ने माग राखी एक महिनासम्म नगरसभालाई अवरोध पुर्याए ।
मेयर भरत थापालाई दबाब दिएपछि भएको बाध्यताको सहमतिमा नगरसभा बल्लतल्ल हुनसक्यो । त्यसपछि गत असार ९ गते कार्यालय सहयोगीको १९ जनाको विज्ञापन (११/२०७७/०७८) प्रकाशित गरियो । त्यहाँ कार्यरत रिता न्यौपाने,मिना न्यौपाने,दिपिका भुसाल,सन्तोष कार्की,शिला पाण्डे,सपना गुरुङ्ग, विष्णुकुमारी न्यौपाने (खनाल), राजेन्द्र चालिसे,सुनिता कुँवर,बिन्दु तिवारी,यमकला भण्डारी पाण्डे, अमृत गौडेल,नवराज सापकोटा र नर्वदा चौधरीलगायतलाई स्थायी गर्ने सहमतिपछि नगरपालिकाले विज्ञापन प्रकाशित गरेको हो । १ सय ९२ जनाले आवेदन भरेको सूचि प्रकाशन गरी कार्यविधि बनाएर कार्यालय सहयोगी भर्नाको लागि अन्तरवार्तासमेत हालै लिइएको छ ।
एमाले निकट भनिएका ती ९ जना, काँग्रेस निकट मानिएका ३ जना र अन्य ७ जना गरी उन्नाईस जना कर्मचारी भर्ना गर्न थालेपछि माओवादीलगायतका राजनीतिक दलहरुले नगरपालिकाको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन् । साउन ३ गते अन्तरवार्ताको पहिलो सूचना प्रकाशन गरेको नगरपालिकाले ५ गते स्थगित गरी पुनः साउन १५ गतेका लागि अर्को सूचना प्रकाशन गरेको थियो ।
साउन १८ गते छुट उम्मेदवारको नाममा स्पष्ट कारणसहित उपस्थित हुन र १५ दिनभित्र अन्तरवार्ताको लागि पुनः आह्वानसमेत गरिएको छ । १३ वटा वडा रहेको सुनवल नगरपालिकाका नौ वटा वडामा एमालेले नेतृत्व गरेको छ । तीन वटामा काँग्रेस र एउटामा माओवादी केन्द्रको नेतृत्व छ । उपमेयर एमालेको रहेको नगरपालिकामा मेयर भने काँग्रेसका भरत थापाले जितेका हुन् ।
टिप्पणीहरू