आइजिपी नियुक्ति प्रकरणमा नयाँ आयाम

आफ्नै पटक–पटकको प्रयास र अदालतको जोडबलमा समेत प्रहरी प्रमुख बन्नबाट वञ्चित डिआइजी नवराज सिलवाललाई वैशाख ११ गते प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट सीधै प्रधान कार्यालय लगी लिएको बयान फेला परेको छ । अधिवक्ता थापाकै सामु सर्वोच्च अदालतसमक्ष पेश गरिएको कार्यसम्पादन मूल्यांकनको प्रतिलिपिका सम्बन्धमा अनुसन्धान गर्न गठित छानबिन समितिले सिलवालसँग कडा बयान लिएको थियो । 

वकिल साथमै भए तापनि धेरै ठाउँ चुकेका कारण उनकै सहयोगमा सिलवाल अत्यन्तै रक्षात्मक जवाफ दिन बाध्य भएको कागजातबाट देखिन्छ । धन्न यता बन्दी प्रत्यक्षीकरणको रिटमा तुरुन्तै सर्वोच्चले रिहा गर्न आदेश दिएको कारण विमार अवस्थामा रहेका सिलवालले थप मानसिक तनाव झेल्नुपरेन । प्राप्त त्यही वयानको प्रतिलिपि मात्र हेर्ने हो भने पनि लाग्छ, यदि अदालतको शीतल छहारी नमिल्दो हो त प्रचण्ड सरकारले उनलाई किर्तेमा अहिलेसम्म हिरासतमै दुःख दिइराख्ने थियो । प्रस्तुत छ, निर्णायक प्रश्नहरुको उत्तर दिँदा पटक–पटक आफू मानसिक रुपमा तयार नरहेको स्वीकार गरेका सिलवालले दिएको वयानको अंश :

सवाल नं. ३ : तपार्इं छानबिन समितिसमक्ष वयान कार्यका लागि तयार हुनुहुन्छ ? यो प्रश्नको जवाफमा उनको भनाइ छ, ‘म मानसिकरुपले वयान दिन असमर्थ छु । कारण जयबहादुर चन्दविरुद्ध मुद्दा दायर भई वृहत पूर्ण इजलाशबाट फैसला भएपछि प्रहरी महानिरीक्षकको पदमा अन्य व्यक्ति बढुवा भएको र मैले मुद्दा हाली १९ गते सुनुवाइको लागि मिति तोकिएको छ ।’ उनले अगाडि थपेका छन्, ‘पुरक निवेदन दायर गरी विचाराधीन रहेको अवस्थामा मानसिक रुपमा तनावग्रस्त भएको र ढाडको बिरामी भई चिकित्सकको सल्लाहअनुसार बेड रेस्टमा रहेकाले बयान दिन असमर्थ छु ।’

अर्को प्रश्न थियो, ‘आफू र प्रकाश अर्यालसमेतको आव २०७२/०७३ को कार्यसम्पादन मूल्यांकन फारम सर्वोच्च अदालतमा पेश गर्नुभएको पाइयो । उल्लेखित का.स.मू.को प्रतिलिपि प्राप्तिको स्रोत के हो ?’ यो चौथो प्रश्नको जवाफ पनि त्यही आयो, ‘वयानको निम्ति असमर्थता व्यक्त गरिसकेको छु । के, कस्तो कागज पेश गरेको हो, सर्वोच्च अदालतबाटै बुझी पाऊँ । आफ्नो मुद्दाको सम्बन्धमा अन्यत्र भन्ने र वयान दिने÷दिलाउने कार्य अदालतको मानहानी जनक हुने व्यहोरा अनुरोध गर्छु ।’ त्यसपछि उनैले पेश गरेको कासमूको प्रतिलिपि देखाउँदै समितिले सोध्यो, ‘यो तपाईंले पेश गरेको हो, होइन ?’ तर जवाफ फेरि पनि उही, ‘यस सम्बन्धमा पनि वयान दिन सक्दिन ।’ 

अर्को प्रश्न छ, ‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र लोकसेवामा एक–एक प्रति सिलबन्दी र गोप्य रुपमा रहने कासमूहरु कसरी प्राप्त गर्नुभएको हो ? यस कार्यमा अन्य कसैको संलग्नता छ, छैन ?’ जवाफमा भने परिवर्तन देखिँदैन, ‘माथिकै व्यहोराबमोजिम वयान गर्न सक्दिन, के–कसरी गोप्य राखेको हो, राख्ने अधिकारीलाई नै थाहा होला ।’ सातौं प्रश्नमा प्रकाश अर्याल र उनको कासमू प्रतिलिपि साथमा छ–छैन, छ भने छानबिन समितिसमक्ष पेश गर्न भनियो । तर, नवराजको अडान फेरिएन, ‘माथि भनेबमोजिम वयान गर्न असमर्थ छु । यसबारे मेरो कानुन व्यवसायीले सर्वोच्च अदालतमा बहस पैरवी गर्ने छन् ।’ उनलाई अझ केर्दै प्रश्न सोधिएको रहेछ, ‘तपाईंले सर्वोच्चमा पेश गरेको ६ पेज लामो कासमू सक्कली हो–होइन ?’ तर जे सोधे पनि जवाफ एउटै, ‘वयानको व्यहोरा माथि भनेबमोजिम दिन असमर्थ छु । तथापि श्री स.अ.को वृहत पूर्ण इजलाशबाट अंक गणना भइसकेकाले कासमूको सम्बन्धमा केही भन्नुपर्ने अवस्था छैन ।’

सिलवाल अति नै जब्बर देखिएपछि समितिले उनले गरेका कामहरुबारे सोध्यो । कासमूको फन्टमा देखिएको भिन्नता बताउँदै त्यो कसरी भयो, एकरुपता नहुनुको कारण के हो भनी सोधिएको रहेछ । जसको जवाफ पनि सिलवालले उही उत्तर दोहो¥याएका छन्, ‘वयान दिन असमर्थ छु । तथापि के, कुन कागज परीक्षण के–कसले गरेका हुन्, थाहा भएन ।’ दशौं प्रश्न सोधियो, प्रकाश अर्यालको कासमू कपी, पेष्ट गरिएको विषयमा तर जवाफ उही, ‘माथि भनेबमोजिम वयान दिन असमर्थ भएको व्यहोरा जानकारी गराएको छु । तथापि वृहत पूर्ण इजलासबाट अंकगणना गरी म नवराज सिलवाल प्रथम रहेको आदेश भइसकेपछि… प्रस्तुत विषयमा एकाएक बोलाउनुबाट संविधान र कानुनको हक अतिक्रमण गरी वयान लिएको कुरा मेरो शारीरिक र मानसिक अवस्थासमेतको कारणले भएको व्यहोरा दर्शाएको छु ।’

उनलाई फेरि खेरियो, ‘अदालतमा प्रकाश अर्याल र तपाईंको कासमूको अंक उल्लेख गर्नुभएको छ । त्यसको स्रोत के हो ? उक्त अंक के, कसरी प्राप्त गर्नुभएको ?’ यसको जवाफमा भनेका छन्, ‘माथि भनेबमोजिम वयान दिन सक्दिन तर पनि अदालतको न्यायिध अधिकारमा गएको विषयमा खोजबिन गर्नुका पछाडि मेरा प्रत्याशी प्रकाश अर्यालको के मनशाय छ, बुझी पाऊँ ।’ छानबिन समितिले उनैले पेश गरेको रिट नं. ०७३–डब्लू ओ–१०९२ को प्रकरण २१ पढेर सुनाउँदै त्यहाँ उल्लेख भएको कासमूको अंकबारे कहाँबाट थाहा भयो भनी सोधेको देखिन्छ तर यसपटक भने उनी असमर्थ भएनन् । सीधा जवाफ दिए, ‘सर्वोच्च अदालतले अंकगणना गरेको विषय उसैसँग बुझी पाऊँ ।’

प्रश्न नं. १३ अझ कडा थियो, प्रकाश अर्यालको कासमू आफ्नोमा राखी पाँचौं पानामा हुबहु राखी पेश गर्नुभएको हो, होइन ? जवाफमा उनी उम्किए, ‘सर्वोच्च अदालतको पूर्ण इजलाशको पाठ र अहिले पेश भएका कागजहरु सर्वोच्च अदालतमा हेरी त्यहीं भन्नेछु ।’ फेरि फन्ट र किर्तेबारे प्रश्न गरिएको रहेछ । जवाफ उही, ‘मेरो शारीरिक र मानसिक अवस्थाले वयान दिन नसक्ने कुरा सबै सवालजवाफमा आकर्षित हुन्छ ।’ प्रकाश अर्यालको हुबहु कपी गरेको बारे गरिएको पन्ध्रौं प्रश्नको जवाफ यस्तो छ, ‘माथि भनेबमोजिम शारीरिक र मानसिक अवस्थाले गर्दा के–कस्तो कागजको आधारमा तयार गरेको हो, बुझ्न सक्दिन ।’ सोह्रौं प्रश्न कासमू तयार गर्नेहरुको हस्ताक्षरबारे सोधिएकोमा जवाफ दिए, ‘माथि भनेबमोजिम मानसिक र शारीरिक कारणले बुझ्न नसक्ने र निराधार प्रश्नहरु राखेकाले केही भन्न नसक्ने व्यहोरा अनुरोध छ ।’

बाँकी १७ औं र १८ औं प्रश्नको जवाफ दिन पनि असमर्थता जनाउँदै उनले मानसिक अवस्था ठीक नभए पनि वयानको प्रतिलिपि एक थान माग गर्न भने भुलेका छैनन् ।

टिप्पणीहरू