म्याद गुज्रिएको खाद्य सामग्री बजारमा छ्याप्छ्याप्ती

म्याद गुज्रिएको खाद्य सामग्री बजारमा छ्याप्छ्याप्ती

म्याद गुज्रिएको खाद्यवस्तु रिलेबलिङ गरेर बजारमा पठाइएको छ । सोही अभियोगमा आज एक जना पक्राउ परेको छन् । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका ६ बस्ने बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर ३१ वर्षीय सुवास खड्का हुन् ।

खड्काले म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेबलिङ गरी आफूखुशी महँगो मूल्य समेत राखी बजारमा बिक्री गर्न पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्यवस्तुहरुको बिक्री वितरण भइरहेको थाहा पाएपछि प्रहरीको अपराध महाशाखा मिनभवन र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले भेन्चरमा छापा मारेको हो ।

त्यसक्रममा प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रिएका विभिन्न कम्पनीका खाद्य सामग्री बरामद गरेको छ । जसमा बिस्कुट, पास्ता, कर्नफ्लेक्स, सेबइलगायत छन् ।

म्याद गुज्रिएको सामानलाई मेसिनद्वारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेबलिङ गरि थोक तथा खुद्राका लागि बिक्री गरिरहेको अवस्थामा खड्का पक्राउ परेका हुन् । प्रहरीले उत्पादन मिति र मूल्य रिलेबलिङ गर्ने डिजिटल मेसिन १ थान र पूरानो लेबल मेट्न प्रयोग हुने केमिकलसमेत बरामद गरेको छ ।

खड्कालाई आवश्यक कारबाहीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलको जिम्मा लगाइएको छ । हाल फरार उक्त कम्पनीका सञ्चालक मोरङ घर भई बानेश्वर बस्ने प्रभात देवको खोजी भइरहेको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ । अहिले उक्त कम्पनीलाई सिल गरिएको बताइएको छ ।

टिप्पणीहरू