चर्चामा आउन बार्दलीबाट भाषण गरेको हुँ,पार्टी फुटको जिम्मेवारी लिन्छु : केपी ओली

चर्चामा आउन बार्दलीबाट भाषण गरेको हुँ,पार्टी फुटको जिम्मेवारी लिन्छु : केपी ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चर्चामा आउनको लागि आफूले बालकोटस्थित निवासको बार्दलीबाट भाषण गरेको बताउनुभएको छ । आज एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टीले कानुनी हैसियत प्राप्त गरेको क्षणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

आफूले बार्दलीमा बसेर बोलेको कुरा चर्चामा आउनु गलत हो ? भन्दै उहाँले हिजोको सरकारलाई काम गर्न नदिएकाले संसद नचलेको र अहिलेको सरकारले कामै नगरेकाले संसद नचलेको उहाँको निश्कर्ष छ ।

त्यसक्रममा उहाँले आफूले ल्याएको अध्यादेशले कुनै पनि दलमा विभाजन नआएको तर अहिलेको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पार्टी फुटाउनै पर्ने गरी ल्याएको उहाँको भनाइ थियो । ‘पहिलेको र अहिलेको अध्यादेशको उद्देश्य नै फरक रहकाले अहिले अनैतिक तरिकाले पार्टी फुटाउने नियतले अध्यादेश ल्याइएको हो,जुन असंवैधानिक छ,’उहाँले बताउनुभयो ।

एमालेले कारबाही गरेका १४ जना सांसदलाई आजसम्म प्रक्रिया अघि नबढाएकोमा सभामुखको चर्को आलोचना गर्दै उहाँले भन्नुभयो, ‘यो सरकारको प्रतिगमनकारी चरित्र हो,लोकतान्त्रिक हुनै सक्दैन । एमालेले पार्टी नफुटोस् भनेर १४ जनालाई कारबाही गरेको हो ।’

पार्टी प्रमुख भएको नाताले पार्टी बचाउन एकताको लागि भरपुर प्रयास गरेपनि आफू असफल भएको उहाँले स्वीकार गर्नुभएको छ । माधव नेपालप्रति लक्षित गर्दै उहाँले नेपालले पार्टी दर्ता गरेपछि पार्टी एकताको लागि पहल गर्छु भन्नु हावादारी कुरा भएको उल्लेख गर्नुभयो । ‘त्यस्तो हावादारी कुराको पछि नलाग्नुस्,’ उहाँले नेता तथा कार्यकर्तालाई भन्नुभयो ।

नेपाल पक्षको नयाँ पार्टी एकीकृत समाजवादीले कम्युनिष्ट एकतालाई अघि बढाउने भनेको सन्दर्भलाई जोड्दै ओलीले कसैले टुक्राटाक्री जोडेपनि एमालेलाई असर नगर्ने दाबी गर्नुभयो । उहाँको जोड थियो, ‘एमाले नै कम्युनिष्ट मूलधार हो ।’

माधव नेपालप्रति कटाक्ष गर्दै उहाँले चुनाव हारेको मान्छेले अध्यक्ष चाहियो भन्दैमा दिन मिल्ने नियम पार्टीभित्र नभएको बताउनुभएको छ । चन्द्रागिरीमा भएको एकीकृत समाजवादीको बैठकलाई संकेत गर्दै ओलीले भन्नुभयो, ‘अरुले बाटो बिराउने, रिसोर्टमा गएर घुरेर निदाउने अनि आफूचाहिँ सहि बाटोमा हिँड्दा भोक नलाग्ने,निन्द्रा नलाग्ने भन्ने हुँदैन । त्यसैले म चिन्ताग्रस्त भएर बस्ने मान्छे होइन ।’

टिप्पणीहरू