सेनाको कुटपिटपछि उपचार र राहत दिने सहमति

सेनाको कुटपिटपछि उपचार र राहत दिने सहमति

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी परिसरमा घाँस दाउरा गर्न जाने एक गाउँलेलाई कुटपिट गरेको घटना मेलमिलापमा टुंगिएको छ ।

हिजो साँझ सोही गाउँका मोहम्मद अहमदलाई गस्तीमा रहेको सैनिक टुकडीले समातेर कुटपिट गरेको थियो । आज बिहान पीडित गाउँले र बाहिनीका प्रतिनिधिवीच भएको छलफलपछि पीडित व्यक्ति र उनको आस्रित परिवारलाई उपचार र राहत दिने सहमतिबमोजिम मेलमिलाप भएको हो ।

कुटपिटबाट घाइते भएका महमदको उपचार खर्च ब्यहोर्ने र उनको परिवारलाई राहतस्वरुप खाद्यान उपलव्ध गराउने सहमति भएको छ । वार्तामा ३ नम्बर वडाध्यक्ष अवधेश चौधरी र सेनाका तर्फबाट मेजर विकास शाक्य,बसपार्क प्रहरी चौकीका इन्चार्ज अजय राईलगायत पीडित गाउँलेहरु उपस्थित थिए ।

यस घटनापछि उब्जेको समस्यालाई सल्टाउन पर्सि शुक्रबार बिहान ८ बजे भुल्केमै भेला बस्ने सहमतिसमेत भएको छलफलमा सहभागी यदु ढकालले बताउनु भएको छ । अहिले घाइते महमदको उपचार उदयपुर अस्पतालमा भई रहेको छ ।

छलफलमा गाउँलेले ब्यारेकको क्षेत्र प्रयोग गर्दै जङ्गल जान छुट पाउनु पर्ने,पीडित घाइतेको उचित उपचार हुनुपर्ने र आस्रित परिवारलाई एक महिनाको खाद्यान उपलव्ध गराउनु पर्ने माग राखेका थिए ।

हिजै सेनाले ब्यारेकभित्रै रहेको क्लिनिकमा घाइते महमदलाई सामान्य उपचार गरी खान्तेपिन्ते गराएर घर पठाएको थियोे । पीडित महमदसँगै सेनाको ब्यारेक परिसरभित्र बाख्रा चराउन र लहलहाउँदो घाँस काट्न जाने चार महिला थिए । उनीहरुवीच सामुदायिक बन क्षेत्र र ब्यारेक क्षेत्र भएको दावासहित भनाभन शुरु भएर कुटपिट भएको थियो ।

दुवै पक्षले घटनास्थल आ-आफ्नो भएको दावा गरेका छन् । कुटपिटविरुद्ध हिजो राती करिव ९ बजेसम्म बाहिनीको मुख्य गेटमा भेला भएर गाउँलेले विरोध जनाएका थिए । विरोधपछि बाहिनीपति मधुकर कार्कीले घटनाबारे आवश्यक छानवीन गर्न मातहतका अधिकारीलाई आदेश दिएका छन् ।

टिप्पणीहरू