​भोलिको यस्तो भयावहता

राष्ट्रिय मान्यताप्राप्त दल हुन तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको चुनावमा यो अनिवार्य हुन्छ । र, यही अनुरुप दलले समानुपातिकमा सिट पाउने हो । संवैधानिक व्यवस्थाअनुसार १६५ प्रत्यक्ष निर्वाचित हुन्छन् भने ११० समानुपातिकको प्रावधान छ ।

प्रत्यक्षतर्फ कुनै एउटा दलले ४० प्रतिशत मत पायो भने मात्र कसैले सरकार चलाउन सामान्य बहुमत पु¥याउन सक्छ तर त्यस्तो संभावना फेरि पनि छैन । त्यसो हुँदा यो समानुपातिक प्रावधानले गर्दा आगामी सरकार पनि अस्थिर र ढुलमुले हुने निश्चित छ । स्थानीय तहको चुनावमा राप्रपाले एक गाउँपालिकाबाहेक कतै नजित्नुको कारण पनि यही हो किनकि यसमा ०७० को चुनावमा झैं दुईतिर मत हाल्ने विकल्प थिएन । अन्य साना दल पनि यसै कारणले हराइरहेका छन् । पूरै जिल्ला जितेको भनेको अहिले माओवादीले रुकुममा मात्र हो ।

काठमाडौंको निर्वाचन क्षेत्र अब संसदीय चुनावमा १० बाट ६÷७ मा झर्दैछ । चितवन माओवादीको राम्रो पकड छ भनिएको ठाउँमा पनि छासमिस भयो । मकवानपुरमा थाहा नगरपालिकाबाहेक अन्यतिर पकड देखिएन । एउटा नगरपालिकाले सिंगो निर्वाचन क्षेत्र बन्दैन । आफ्नै पकडका क्षेत्र जोडिए मात्रै हो सांसदमा जित्ने । त्यसैले अहिलेको अवस्थाले आगामी दिनमा माओवादीको अवस्था झन् नाजुक हुने संकेत गरिरहेको छ ।

काठमाडौं, ललितपुरलगायत सबै शहरी क्षेत्रमा माओवादी कमजोर देखिइसकेको छ । त्यसो त वामदेव, विष्णु पौडेल र प्रचण्डबीच भरतपुर र ललितपुर माओवादीलाई दिने, काठमाडौं र पोखरा एमालेले लिने प्रारम्भिक सहमति भएको माओवादी दाबी छ । तर, यता अध्यक्ष केपी ओलीले त्यहीबीच कमल थापासँग वार्ता गरेर माओवादीलाई ललितपुर मात्र दिन सकिने भनेपछि दुई कम्युनिष्ट घटकबीच तालमेल हुन नसकेको चर्चा छ । त्यसो त सहमति भएकै ठाउँमा पनि कार्यकर्ताले मात्र भोट दिएर पुगेन । जनताले माथि नेताले सहमति गरेअनुसार भोट हालेनन् ।

टिप्पणीहरू