माधवतिर कति लागे, एमालेमै कति अडे

माधवतिर कति लागे, एमालेमै कति अडे

कोही नेता यता–उता होलान्, तर देशको सबभन्दा ठूलो दल नेकपा (एमाले) को विभाजन कतैबाट पनि नरोकिने नै भएपछि कार्यकर्ताहरू आशाका विभिन्न त्यान्द्रो बुन्दै एकताका सम्भावनाबारे चर्चा गरिरहेका छन् ।

नेताहरू तत्काल एक ठाउँमा बस्न नसक्दा पार्टी विभाजित भए पनि अन्तिम आशाको त्यान्द्रोको रुपमा आसन्न स्थानीय तहको निर्वाचन हुन सक्ने झिनो आस पनि छ । ०५४ मा जस्तो पार्टीले एकछत्र चुनाव जित्ने अवस्था अब रहेन । ०७४ को स्थानीय चुनावमा माओवादी र कांग्रेस मिलेर लड्दा पनि एमाले बहुमतसहित अगाडि बढेकै हो । त्यसपछिको प्रतिनिधिसभा निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दा झण्डै दुई तिहाईको परिणाम आयो । अब विभाजन भएरै चुनावमा जाने हो भने ०५४ देखि ०७४ सम्मका विजय श्रृंखला दन्त्यकथाजस्तो हुने खतरा छ ।

राजनीतिलाई हरेक हण्डर, ठक्करहरूले एउटा निश्कर्षमा पु¥याउँछ । नेताहरूको इगोलाई तलको अनुभूति वा दबाबले एक ठाउँमा उभ्भिन बाध्य बनाउँछ । त्यसकारण स्थानीय तहको निर्वाचन परिणामले एमाले नेताहरूलाई एकपटक ठण्डा दिमागले सोच्ने ठाउँमा पु¥याउला भन्ने कार्यकर्ता पंक्तिको प्रारम्भिक अनुमान छ ।

निश्चित के छ भने, यो विभाजन तल–तलसम्म धाँजा फाट्ने गरी पुग्छ । कांग्रेसले जनमत बृद्धि गर्न अतिरिक्त मिहिनेत गर्नै पर्दैन । कतिपय ठाउँमा माधव पक्षले आफू जित्न नसके पनि ओली पक्षलाई हराउन सक्छ । अहिले पनि माधव नेपालको एकीकृत समाजवादी पार्टीसँग ३२ जिल्लाको निर्वाचित एमाले नेतृत्व छ । विगतमा एमाले एक हुँदै भएका जिल्ला अधिवेशनहरूबाट निर्वाचित कमिटी हुन् ती । जाजरकोट र सुर्खेतमा समीकरण सामान्य फेरिएको छ ।

तर, निर्वाचित ३९ मध्ये ७ अध्यक्ष गुमाएर पनि ती जिल्ला कमिटीहरू माधव नेपालसँगै छन् । ०४८ सालदेखि चुनाव जित्दै, पञ्चायतकालदेखि नै विद्रोहको आवाज घन्काउँदै आएका विरोध खतिवडाहरू अहिलेसम्म मन्त्री भएनन् । तर, कोहीप्रति बफादार भएकै नाममा पार्टीको आन्तरिक निर्वाचन हारेका महेश बस्नेत, गोकुल बाँस्कोटा केन्द्रीय सदस्य, अनेकौँ विभागका इञ्चार्ज र मन्त्री भए । निरु पाल, कोमल वलीहरूले मौका पाउँदै आए । अपमानका पुराना श्रृंखला अब न्यायमा परिणत हुन्छ भन्ने आशाका साथ थुप्रै एमाले कार्यकर्ता माधवतिर लागेका छन् ।

स्थानीय तहतिर हेर्दा एउटै वडामा वार्षिक २ करोड बजेटको चलखेल हुन्छ । सामान्य गाउँपालिकामा पनि कम्तीमा ९ वडा र २५ करोड बजेट हुन्छ । ती बजेटबाट पाँच वर्षसम्म तलब, सुविधा, गाडी, घोडाको लाभ ओलीतिरको सानो पंक्तिले पाउँदै आयो । नपाएको पंक्ति पाँच वर्षदेखि कुण्ठित हुँदै आयो । स्वाभाविक हो, नपाउने पंक्ति असन्तुष्ट हुन्छ नै । उनीहरू अर्को पार्टीबाट भए पनि चुनावमा उठ्न र जित्नका लागि कस्सिने नै भए । त्यसमाथि केपी ओलीसँग ठेक्कापट्टा, ढुंगा, गिट्टी बालुवा, क्रसरवालादेखि जग्गा, सेना, प्रहरीका निम्ति गोलीगठ्ठा टेलिफोन ट्यापिङ डिभाइस, हेलिकोप्टर भिडाउने दलालसम्मको डरलाग्दो घेराबन्दी छ ।

तिनले मच्चाएको आतंक नरुचाउने पंक्तिचाहिँ माधव नेपालसँग छ । अर्थात्, अवसर नपाएको वैचारिक पंक्ति त्यहाँ छ । ओलीले युवराज खतिवडा, अर्जुन कार्कीहरूलाई च्यापे । झापा आन्दोलनको विरासतमा विकास भएका नेता र कार्यकर्ताहरू ओलीकालमा हराए–बिलाए । कम्युनिष्ट पार्टीका निष्ठावान कार्यकर्ता नेतालाई ‘आइ लभ यु’ भनेर पछि लाग्दैनन् । केपीलाई त्यसो नभन्ने मान्छे मन नपर्ने, ‘जी–हजुरी’ र एस्कर्टिङ गर्ने, अग्लो र आरामदायी कुर्सी राखिदिनेकै झुण्ड चाहिने । त्यही भएर उहाँले आजसम्म फरक विचारका नेतालाई साथमा लिन चाहनु भएन । त्यसैले कथंकदाचित केपीले १० बुँदे सहमतिमा चल्छु नै भन्नुभएछ भने पनि त्यो वडा, गाउँपालिका र जिल्लासम्म त पुग्ला ।

तर, प्रदेश र केन्द्रमा ढिम्किने सम्भावना छैन । किनभने, उहाँलाई आफू निर्विकल्प हुनु छ । अबको महाधिवेशनमा केपीलाई च्यालेञ्ज गर्नेहरू पार्टीभित्र खासै छैनन् । त्यहाँभित्र पनि एकता पक्षधर केही नेता त छन् । तर, माधव हुँदा तलको कुरा उठाइदिने नेता थिए भने अब सामुहिकता टुट्दा बार्गेनिङ शक्ति कमजोर हुने भयो ।

समस्या ओलीकै समूहमा पनि छ । कञ्चनपुरका निर्वाचित अध्यक्ष तारा लामा ओलीतिरै छन् । विगतमा एकता हुँदा उक्त जिल्ला माओवादीको भागमा प¥यो । अध्यक्ष नपाएको पार्टीको अध्यक्ष सचिव हुने मापदण्डअनुसार त्यहाँ अध्यक्ष भए, वीरबहादुर थापा र तारा सचिवमा झरे । पुस ५ पछि थापा ओलीसँगै रहे । अहिलेसम्म एमाले अध्यक्ष वीरबहादुर छन् । ताराचाहिँ ‘०७५ जेठ २’ भन्दै आफू अध्यक्ष भएको दाबी गर्दै छन् । जेठ २ मा फर्कंदा तारालाई अध्यक्ष बनाउनुपर्ने हुन्छ । त्यस्तोमा वीरबहादुरले के गर्छन् ?

अर्कातिर, माधव नेपालले गठन गर्नुभएको नेकपा (एकीकृत समाजवादी) मा नगएर ओलीतिरै रहने नेतामध्ये प्रदेश १ मा भीम आचार्य, कर्णालीमा युवराज ज्ञवाली, सुदूरपश्चिममा भीम रावल पार्टी इञ्चार्ज हुन् । के ओलीले पर्सिदेखि ती इञ्चार्जसिप कायम राख्नुहोला ? १५ मतले महासचिव हारेका सुरेन्द्र पाण्डेको व्यवस्थापनप्रति उहाँ चिन्तित हुनुहोला ? किनभने, सुरेन्द्रले हिक्मत कार्कीहरूलई मिलेर केपी कमरेडको सरकार जोगाउनुपर्छ भनेकै हुन् ।

भीम रावल, जो एक्लै पनि सुदूरपश्चिममा सरकार बनाउन सक्ने नेता मानिन्छन् । उनीहरूको हकमा के हुन्छ ? अनि, अबको ध्रुवीकरणमा घनश्याम भूषालको भूमिका के हुने ? अष्टलक्ष्मी र किरण गुरुङको इञ्चार्ज कसरी कायम हुने ? लेखराज भट्ट र मणि थापाको जिम्मेवारी के रहने ? ओलीकै गृहजिल्ला झापमा १७ वर्ष जेल बसेका नरेश खरेलको उपस्थितिबीच बेद रेग्मीको नेतृत्वमा माधव खेमाको कमिटी बनेको छ ।

मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइरालाजस्ता सक्रिय राजनीतिबाट ‘रिटायर्ड’ नेताहरू अहिले माधव पक्षको समर्थन गर्दैछन् । प्रदीप नेपाल, केदार न्यौपाने, हरि पराजुलीहरूले स्पष्टसँग माधवपक्षलाई समर्थन गरिसकेका छन् ।

टिप्पणीहरू