चिनियाँहरु झन् धेरै ओइरिँदै

चिनियाँहरु झन् धेरै ओइरिँदै

झण्डै डेढ वर्षदेखि सेलाएको चिनियाँ सक्रियता भदौ लागेपछि एकाएक बढेको छ । विशेषगरी नेपालमा सञ्चालित चिनियाँ सहयोगको परियोजनालाई द्रुत गतिले अघि बढाएर तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले उनीहरुको चहलपहल बढेको हो ।

कोरोना महामारीपछि सुस्ताएको चिनियाँ सक्रियता अब कोरोनालाई कुरेर नबस्ने भन्दै अघि बढेको बताइन्छ । महामारी कहिलेसम्म सकिन्छ भन्ने कुनै ठेगान नभएपछि आफूले हात हालेका निर्माण कार्य र विभिन्न परियोजना सम्पन्न गर्न चिनियाँ सक्रियतालाई एकाएक बढाइएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।

तीन साताअघि काठमाडौं निजगढ फास्ट ट्रयाकको काम अघि बढाउन दुई दर्जन चिनियाँको टोली नेपाल आएको थियो । अहिले उक्त टोलीले नेपाली पक्षसँग मिलेर काम शुरु गरिसकेको छ ।

आज ९० जनाको अर्को टोली पनि काठमाडौं आउँदैछ । हिमालय एअरलाइन्सको विमान चार्टर गरेर आउन लागेको टोली सुनकोशी मरिन डाइभर्सन आयोजना, सिन्धुलीको निम्ति हो । सुनकोशी नदीको पानी कमला नदीमा झारेर विद्युत र दुई नम्बर प्रदेशमा सिंचाईं गर्ने परियोजनाको काम पनि अब अघि बढ्ने बताइएको छ ।

अर्को चिनियाँ टोली आगामी शनिबार काठमाडौं आउँदैछ । फास्ट ट्रयाकलगायत चिनियाँ सहयोगमा सञ्चालित परियोजनाहरुको अनुगमनको निम्ति उक्त टोली आउन लागेको बताइएको छ ।

काठमाडौंको चक्रपथ विस्तार परियोजना,मदन भण्डारी विश्वविद्यालयलगायतका परियोजना डेढ वर्षदेखि रोकिएको छ । तीलगायतका कार्यलाई निरन्तरता दिन उनीहरु आएका हुन् ।

टिप्पणीहरू