पत्रकार फसाएर कानूनको रक्षा ? एसपी आफै अपराधमा सम्लग्न

पत्रकार फसाएर कानूनको रक्षा ? एसपी आफै अपराधमा सम्लग्न

नेपाल पत्रकार महासंघ रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी र डिएसपीलाई तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ । पत्रकारको मोटरसाइकलमा एसपी सिध्दिविक्रम शाहको निर्देशनमा लागुऔषध राख्न लगाएको अडियो बाहिरिएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले पहिले एसपी शाह र डिएसपी नारायण चिमोरियालाई निलम्बन गरेर घटनाको निष्पक्ष छानबिनको माग गरेको हो ।

अस्ति सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटले लागुऔषध कारोबारमा समातेर ९ दिन थुनिएका पत्रकार मोजिबुल्लाहलाई छाडेको थियो । पत्रकारलाई छाड्नुअघि प्रहरीले त्यसको दोष अर्का पत्रकार सञ्जय सहनीलाई लगाएको छ । त्यसमासमेत पत्रकार महासंघले आपत्ति जनाएको छ । एकजना पत्रकारलाई छाड्न प्रहरीले अर्को पत्रकार फसाउने षड्यन्त्र गरेको र घटनामा प्रहरीको प्रत्यक्ष संलग्नता रहेको भन्दै महासंघले एसपी र डिएसपीलाई निलम्बन गरेर छानबिन हुनुपर्ने माग गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकांश पत्रकारले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिध्दिविक्रम शाह र डिएसपी नारायणप्रसाद चिमोरियालाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् । एसपी शाहले पत्रकार सन्जय सहनीको मिलेमतो र घुमुवा प्रहरीको संलग्नतामा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेको पत्रकार बताएका थिए ।

उनले सो कुरा बताएलगत्तै पत्रकार सञ्जय सहनी र एसपी शाहबीच लागुऔषध पत्रकारको मोटरसाइकलमा राखेर फसाउन सफल भएको भन्दै खुशी साटासाट भएको अडियो बाहिर आएको थियो । एसपी शाहले घुमुवा प्रहरीलाई निलम्बन गरेको बताए पनि प्रहरी स्रोतका अनुसार दुबैमाथि कुनै प्रकारको कारबाही गरिएकै छैन ।

नेपाल पत्रकार महासँघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले पत्रकारलाई फसाउने काममा एसपी शाह र डिएसपी चिमोरियाकै संलग्नता रहेकाले उनीहरुमाथि पहिला कारबाही हुनुपर्नेमा जोड दिएका छन् । अर्का पत्रकार सञ्जय सहनी र एसपी शाहबीच मोजिबुल्लाह पक्राउ परेपछि भएको वार्तालापको अडियोसमेत सार्वजनिक भएपछि रौतहटमा प्रहरीको उक्त कार्य र रवैयाप्रति स्थानीय आक्रोशित भएका छन् ।

घुमुवा प्रहरीका असई उदय यादव र जवान मनोज साहमाथि कुनै प्रकारको कारबाही नभएको भन्दै नेपाल पत्रकार महासंघ रौतहटले आपत्ति जनाएको छ । दुबै जना घुमुवा प्रहरीको संलग्नतामा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राख्ने काम भएको थियो । रौतहटस्थित माण्डबी नामक संस्था र जिल्ला प्रहरी कार्यालय रौतहटबिरुध्द मोजिबुल्लाहले समाचार लेखेपछि संस्थाकी अध्यक्ष अञ्जु झा र एसपी शाहकै संलग्नतामा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउने काम भएको रौतहटका पत्रकारहरुको भनाइ छ ।

नेपाल पत्रकार महासंघ रौतहटको सहसचिव समेत रहेका सञ्जय सहनी माण्डबीमा पनि कार्यरत थिए । प्रहरीको पत्रकार सम्मेलनमा पत्रकारहरुले उक्त घटनामा एसपी र डिएसपी समेतको संलग्नता रहेकाले उनीहरुमाथि छानबिनको माग गरेका हुन् । त्यसक्रममा पत्रकार मिश्रले माण्डबी नामक गैरसरकारी संस्थाकी अध्यक्ष झाको मिलेमतोमा प्रहरीले एउटा पत्रकारलाई छाडेर अर्को पत्रकार फसाउने षड्यन्त्र गरिएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले उक्त घटनाको विषयमा केन्द्रीयस्तरको जाँचबुझ समिति बनाउनुपर्ने माग गरेका छन् । प्रहरीले निर्दोष पत्रकारलाई फसाउन माण्डबी नामक गैरसरकारी संस्थासँग आर्थिक चलखेल गरेको रौतहटका पत्रकारहरुको आरोप छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा प्रहरीले पत्रकारको मोटरसाईकलमा लागुऔषध राख्ने दुईजना युवा धिरज यादव र जितेशकुमार यादवको बयानका आधारमा पत्रकार सञ्जय सहनीको खोजी भइरहेको बताएको छ ।

माण्डबीकी अध्यक्ष झा नेपाली काँग्रेसबाट इशनाथ नगरपालिकाको मेयरमा चुनाव लड्ने तरखरमा रहेको अवस्थामा पत्रकार मोजिबुल्लाहले उनको बिरोधमा समाचार लेखेका थिए । मोजिबुल्लाहले रौतहटका घुमुवा प्रहरीको असुली धन्दाका विषयमा समेत आफ्नो अनलाइनमा समाचार प्रकाशित गरेका थिए । उता जेलमा रहेका काँग्रेस नेता तथा पूर्वमन्त्री आफ्ताब आलमको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना गर्ने अर्का पत्रकार सञ्जय सहनीलाई फसाउन आलमका मान्छेसमेत सक्रिय रहेको बुझिएको छ ।

काँग्रेसकै नेताहरु पत्रकार मुजिबुल्लाहलाई निकाल्ने र सञ्जय सहनीलाई फसाउने अभियानमा सक्रिय रहेका थिए । रौतहट प्रहरीले फसाउने र प्रहरी हिरासतबाट निकाल्ने दुबैसँग आर्थिक चलखेल गरेको समेत रौतहटमा व्यापक चर्चा छ ।

टिप्पणीहरू