दिल्ली दूतावासका मन रुने दुर्दशा

अर्थविद् तथा लामो समयसम्म राष्ट्र बैंकमा बोर्ड सदस्य विश्वम्भर प्याकुरेल के देखेर हो कुन्नि, राष्ट्रपति विद्यादेवी भण्डारी जानु एक हप्ताअगाडि श्रीलंकाको राजदूत नियुक्त भएर कोलम्बो पुगे । तर, त्यहाँ नेपाली दूतावास बसेको घर भत्काउने क्रम चल्दै रहेछ । हाम्रो दूतावासले भाडामा लिएको घर दुई दाजुभाइको आधा–आधा रहेछ । उनीहरुबीच अंशबण्डा भएपछि भाइचाहिँले आफ्नो भागमा परेको भवन भत्काएछ । दाजुले पनि आधा भत्केको घर त्यत्तिकै राख्ने कुरा भएन ।

त्यसैले भन्न थालेछन्, ‘म यो घर पूरै भत्काएर अर्को बनाउँछु । अब तिमीहरु अर्कै घर खोजेर सरिहाल ।’ यस्तो अवस्था आएर दूतावास नै विचल्ली भएको बेला कमाण्ड सम्हाल्न पुगेका प्राध्यापकको मन मर्ने नै भयो । त्यसैले राष्ट्रपतिको भ्रमण सकिएलगत्तै स्वदेश फर्किएका छन् । अहिले त्यहाँको समस्या कसरी समाधान गर्ने भन्दै दौडिरहेका छन् । उनको माग छ, बजेट बढाइदिनुप¥यो नत्र मलाई जान मन छैन । हुन पनि यो दूतावास अति नै लो प्रोफाइलमा रहेछ । बजेट छैन । राजदूतसहित जम्मा तीनजना कर्मचारी– एक अधिकृत र एक नासु । त्यो घर अर्जुनकान्त मैनाली कार्यवाहकको हैसियतमा कार्यरत रहेका बेला खोजिएको हो । त्यसपछि नीलाम्बर आचार्य, बलबहादुर कुँवर, दुर्गा भट्टराई, सुशील अमात्यले कमाण्ड सम्हालिसकेका छन् । नारद वाग्लेलाई केपी ओली सरकारले नियुक्त गरेको थियो तर उनी त्यता लाग्न नपाउँदै प्रचण्ड सरकारले निर्णय फिर्ता लिएर अहिले प्याकुरेललाई पठाइएको हो । 

अरुतिर पनि लफडा कम छैन । दिल्लीका सेकेण्डम्यान कृष्ण ढकाललाई फिर्ता बोलाइएको छ । तर, उनी ‘म पत्र बुझ्दिन, मरिगए फिर्ता जान्न’ भन्दै अड्डी कसेर बसेका छन् । यिनले एकदिन स्टाफ मिटिङमा राजदूतले पहिल्यै अह्राएको काम ‘के भो ?’ भनेर सोधे । ढकालले पुरानै तरिकाले एउटा बहाना निकाले र काम नभएको जनाऊ दिए । राजदूतले स्वाभाविक असन्तुष्टि पोखे, ‘के हो ढकालजी, तपाईं जहिले पनि एक–एकवटा बहाना बनाउनुहुन्छ । काम कहिल्यै गर्नुहुन्न ।’ उनले त्यति भन्न नभ्याउँदै ढकाल पड्किए, ‘मलाई यहाँ गाली गर्न बोलाएको ? लाज लाग्दैन तपाईंलाई ? पदभार ग्रहण गर्न पाएको छैन, आफूचाहिँ यताउता जाने को हो ?’ कात्तिक २८ गते दिल्ली गएर मंसिर १ गते दीपकुमार उपाध्यायले पदभार ग्रहण गर्नुअघि दुई दिन पुराना चिनजानका मान्छे भेटेकोमा समेत ढकालले यसरी डाँटेका हुन् ।

त्यसपछि मौन बसेका उपाध्यायले के बुझे भने यी मान्छेबाट काम चल्दैन । त्यति मात्र होइन, उनले यो पनि थाहा पाए कि केपी ओली सरकारका बेला चाहिँदो÷नचाहिँदो पोल लगाएर फिर्ता बोलाउन लगाउनमा यिनैको ठूलो हात छ । त्यसैले परराष्ट्रमा पार्टी र गुटसमेत मिल्ने मन्त्री भएका कारण ढकाललाई फिर्ता बोलाउनू भन्दै उजुर हाले । पहिलोपटक उपाध्याय दिल्लीमा हुँदा कुनै विदेश मन्त्रालयको सहसचिव भेट्न गयो भने पनि ‘लसरकार ढाल्न लबिङ गर्न गयो’ भन्दै केपीनिकट निरुपाल, केशव बडालमार्फत पोल लगाउँदा रहेछन् । उनको सोचचाहिँ के रहेछ भने यदि उपाध्याय फिर्ता भए भने संक्रमणकालमा नयाँ राजदूत नियुक्तिमा कुरा मिल्दैन अनि आफूले कार्यवाहक भएर ढुक्कै चलाउन पाइन्छ । ढकाल कतिसम्म माहिर भने वचन अति चिप्लो तर भित्र कोढी प्रवृत्ति । तलबाट आएका फाइलहरु सबै आफैंकहाँ अड्काएर राखिदिने ।

यदि अगाडि बढाउनैप¥यो भने टिप्पणीमा ‘महामहिम राजदूतज्यू, यसमा प्रचलित कानुनबमोजिम सम्बन्धित शाखाको राय लिई उपयुक्त निर्णय हुन पेश गर्दछु’ जस्ता अति नै अस्पष्ट र काइते भाषा लेख्ने । ठहर खण्डमा के गर्नुपर्ने हो त्यो उल्लेख गरेर सदरका लागि पो पेश गर्नुपर्ने तर त्यस्तो कहिल्यै नगर्ने । उनको यस्तै तरिकाले गर्दा अढाइ वर्षअगाडि नेपालमा सार्क सम्मेलन हुँदा भिआइपी चढ्ने गाडी ल्याउन समस्या परेको थियो । यताबाट खगनाथ अधिकारी आफैं गएर प्रक्रिया पूरा गरी गाडी ल्याएको तथ्य छँदैछ । कुनै पनि निर्णयका काम नगर्ने तर सुविधा पनि केही नछाड्ने बानीले गर्दा दूतावासका सबै उनीबाट आजित भइसकेका छन् । उपसचिव हरि ओडारीसँग कुर्सी हानाहानको तहसम्म पुगेर झगडा गर्ने पनि उनै । तलबाट आएका फाइल आफूले अड्काएर राख्ने अनि कोही सीधै राजदूतसम्म पुग्यो भने मलाई किन बाइपास ग¥यौ भन्दै निहुँ खोज्ने । बिपी कोइराला फाउण्डेसन र दूतावासको पैसामा हप्ताको अन्तिम दिन पारेर कसैलाई नभी भारतका विभिन्न शहर घुम्ने र अन्तिममा पाँचतारे होटलको बिल पेश गर्ने, यिनका अनेकौं हर्कतबाट पीडित रहेछ हाम्रो दूतावास ।

मान्छे कतिसम्म कपटी भने यदि नेपालबाट मन्त्री वा कोही भिआइपी जाने भयो भने जम्मा त्यहाँ पाइने तीनवटा पासमध्ये एउटा सधैं आफ्नो नाममा जारी गर्न लगाउने । तर, स्वागत गर्न विमानस्थलचाहिँ नजाने । यता राजदूत सेकेण्डम्यान गइहाले भनेर ढुक्क बस्ने, उता ढकालले साना कर्मचारी पठाउने । पछि भिआइपीहरुलाई भने ‘राजदूतले हजुरहरुको इज्जत नराखेर के ग¥या हो, बुझ्नै सकिएन भन्दै उकास्ने, चाकडी गर्ने ।’ यस्तै तरिकाले बिना महत र आरजु देउवाको समेत मन जित्न भ्याएका रहेछन् उनले । अहिले मन्त्रीसँग आरजु र बिना बन्दैछन्, ‘होइन, मान्छे त ठीक रहेछ त । अनि किन काम नदिएको राजदूतले ?’

टिप्पणीहरू