माधवतिर ४ माननीय थप,आयोगले झलनाथलाई समेत रोक्यो

माधवतिर ४ माननीय थप,आयोगले झलनाथलाई समेत रोक्यो

एमालेबाट औपचारिक रुपमा छुट्टीभिन्न भएर नयाँ दल दर्ताको निम्ति प्रस्तावित नेकपा एकीकृत समाजवादीको आज निर्वाचन आयोगमा सनाखत कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत हुने आयोगले जानकारी दिएको छ ।

हिजो आयोगमा नेकपा एकीकृत समाजवादीमा जोडिन ४ जनाले निवेदन पेश गर्नेमा तीन जना संघीय सांसद र एक जना प्रदेशतर्फका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरुले आयोग पुगेर आफूहरु आज बुधबार सनाखत गर्न आउने भन्दै एकीकृत समाजवादीको सांसद र केन्द्रीय सदस्यमा नाम समावेश गरिपाउन निवेदन दिनुभएको थियो ।

उहाँहरुको पूरक निवेदन दर्ता गरिए पनि अपरान्ह बसेको आयोग बैठकले उक्त निवेदनलाई कानुनसम्मत नभएको उल्लेख गर्दै अस्वीकार गरिदिएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशमा कुनै पनि दल विभाजनको निम्ति एउटै निवेदन लिएर सबैजना एकै पटक जानुपर्ने प्रावधान रहेको भन्दै आयोगले उहाँहरुको माग स्वीकार्न गाह्रो मानेको स्रोतले बताएको छ ।

नयाँ दल दर्ता हुन नदिन हिजो दिउँसो पूर्व कानूनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेललगायतका केही एमाले नेता आयोग पुग्नुभएको थियो ।

आयोगका एक जना उच्चअधिकारीले भने, ‘सोमप्रसाद पाण्डे,माया ज्ञवाली न्यौपाने,शारदा देवी भट्ट र राजन राईले निवेदन पेश गर्नुभएको देखियो । निवेदनमा उहाँहरुले हामी पनि दल दर्ता प्रक्रियामा सहभागी हुन पाऊँ भन्नुभएको छ ।’ तर,लगत्तै बसेको आयोगको बैठकमा आयुक्तहरुले अध्यादेशमा लेखिएको कानुनी प्रावधानले उहाँहरुको निवेदनलाई स्वीकार गर्न नमिल्ने भन्दै पन्छाइदिएको हो ।

हतारमा जारी गरिएको अध्यादेशका कारण एकमुुष्ठ परेको निवेदनबाहेक अन्यलाई दल विभाजनसम्बन्धी प्रक्रियामा सहभागी गराउन नमिल्ने भएकाले उहाँहरु छुट्नुभएको बताइएको छ । अध्यादेशको कानुनी भाषाबमोजिम पटक पटक निवेदन दिन नपाइने व्यवस्थालाई देखाउँदै आयोगले उक्त निर्णय गरेको हो । बैठकमा सरकारले जारी गरेको कानुन (अध्यादेश) लाई देखाउँदै सबैले एउटै धारणा राखेका थिए । जसअनुसार अब अरु सांसदले समेत कित्ता काट गर्न पाउँदैनन् । तर प्रदेशसभाका सांसदलाई भने २१ दिनभित्र कित्ता काट गर्न पाउने सुविधा दिइएको छ ।

“आज आयोगमा पुरानो एमालेको केन्द्रीय सदस्यमध्ये ५५ जना र सांसदहरु २९ जनाको मात्र सनाखत हुने भएको छ ।”

बैठकमा प्रतिनिधिसभा सभा सदस्य तथा नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत् सनाखत गर्ने व्यवस्था मिलाउन आयोगमा दिनुभएको निवेदनको सम्बन्धमा पनि ‘हुँदैन’ भनिएको छ । अब उहाँले समेत आजको सनाखत प्रक्रियाबाट बाहिरिनुपर्ने भएको छ । उपचारको सिलसिलामा खनाल अघिल्लो महिनादेखि नयाँ दिल्लीमा हुनुुहुन्छ ।

आज आयोगमा केन्द्रीय सदस्यमध्ये ५५ जना र सांसदहरु २९ जनाको मात्र सनाखत हुने भएको छ । एमालेबाट छुट्टिएर नयाँ दल दर्ता हुन पछिल्लो अध्यादेशबमोजिम कम्तिमा ४१ जना केन्द्रीय सदस्य र ३१ जना सांसद आवश्यकता पर्छ । अध्यादेशमा दुईमध्ये एकातिर मात्र २० प्रतिशत संख्या पुगे पनि नयाँ दल दर्ता हुन पाउने व्यवस्था छ ।

कानुनमा भएको अस्पष्टता र अपूर्ण व्यवस्थाले आफूहरुलाई अपूरणीय क्षति भएको माग गर्दै अब उहाँहरु (चार जना) अदालत जानसक्ने कानुनी बाटो भने बाँकी रहेको बताइन्छ । अध्यादेशमा लेखिएको व्यवस्थाले कुनै पनि राजनीतिक दलका नेता तथा सांसदले पार्टी छोड्न पनि नपाउने र त्यहाँ बस्न पनि नसक्ने अवस्था सिर्जना भएको भन्दै उहाँहरु अदालत जान मिल्ने कानुन व्यवसायीहरुले सल्लाह दिएका छन् । एक जना कानुन व्यवसायी भन्छन्, ‘कुनै पनि कानुन बनाउँदा त्यसबाट पर्नसक्ने प्रभावको बारेमा गहन छलफल नगरिएको परिणाम हो यो ।’

‘सोमप्रसाद पाण्डे,माया ज्ञवाली न्यौपाने,शारदादेवी भट्ट र राजन राईले निवेदन पेश गर्नुभएको देखियो । निवेदनमा उहाँहरुले हामी पनि दल दर्ता प्रक्रियामा सहभागी हुन पाऊँ भन्नुभएको छ ।’

हिजोको घटनापछि अब ती चार जना सांसद तथा नेतामाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्को दबाब हाल्ने स्वतः देखिन्छ । गत साता एमालेका ५५ जना केन्द्रीय सदस्य र ३१ जना सांसदले आयोगमा नयाँ दल दर्ताको लागि एकमुष्ठ निवेदन पेश गरेका हुन् ।

नयाँ दल दर्ता हुन नदिन हिजो दिउँसो पूर्व कानूनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेललगायतका केही एमाले नेता आयोग पुग्नुभएको थियो । ‘कुरो जे गरे पनि माधव नेपाल नेतृत्वको नयाँ दल दर्ता गर्न दिन भएन भन्ने जिकीर थियो,’ खरेल आयोग पुग्नुको कारण व्यक्त गर्दै स्रोतले भनेको छ ।

तर खरेलको उक्त पहलबारे चर्को प्रतिक्रिया दिँदै नेकपा एकीकृत समाजवादीका नेताहरुले भनेका छन्, ‘के अब उनीहरुलाई साक्षी राखेर मात्र अर्को पार्टी दर्ता गर्नुपर्ने ? यसअघि जसपाको उपेन्द्र यादव समूहलाई मान्यता दिँदा सोही पार्टीका महन्थ ठाकुरहरुलाई साक्षी राखिएको थियो ?’

टिप्पणीहरू