जेठ २ भनेर जेठ ३ को बैठक

जेठ २ भनेर जेठ ३ को बैठक

नेकपा एमालेले पार्टीको सम्पूर्ण सांगठानिक संरचना २०७५ जेठ २ गते पूर्वको अवस्थाबाट क्रियाशील हुन सबै तहका पार्टी कमिटी र जनसंगठनका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएको छ । माओवादी र माधव खेमा छाडेकाहरुलाई राखेर आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधानका लागि कार्यदल गठन पनि गरेको छ । बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न सो कार्यदल बनाएको हो । कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल,उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् । जेठ २ को कमिटी क्रियाशील हुने निर्णय गरेको बैठकले माओवादीबाट आएका भट्टलाई समेत कार्यदलमा राख्ने निर्णय गरेको हो ।

त्यस्तै,तत्कालीन कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई सन्दर्भ सामाग्रीका रुपमा मातहतका कमिटी तथा पार्टी सदस्यसम्म पठाउने बैठकको निर्णय छ ।

त्यसैगरी, २०७५ जेठ २ लाई आधार मानेर सदस्यता नवीकरण गर्ने बैठकको अर्को निर्णय छ । एकीकरणमा आवद्ध भएका र २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको सदस्यतासमेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने भनिएको छ ।

एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन र असोज ४, ५ र ६ गते विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

स्थायी कमिटी बैठकले भदौ १० गते (पर्सि) केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै,भोलि ११:०० बजे पत्रकार सम्मेलन गरी आजको बैठकले गरेका निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

आजको बैठकमा माधव नेपाल समूह छोडेर तेस्रो धार जन्माएका १० जना स्थायी कमिटी सदस्य पनि सहभागी थिए । अध्यक्ष केपी ओली जेठ २ को बैठक बोलाउन सहमत भएपछि तेस्रो धारका नेताहरु आजको बैठकमा सहभागी हुने निर्णयमा पुगेका हुन् । तर,जेठ २ को नभई बादलहरुसहित जेठ ३ को बैठक बोलाइएको हो ।

टिप्पणीहरू