“ओलीको दमन र अवसरवादले बिभाजनमा पुर्यायो”नयाँ दिल्लीबाट झलनाथ खनाल

“ओलीको दमन र अवसरवादले बिभाजनमा पुर्यायो”नयाँ दिल्लीबाट झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) को युग सकिएको बताउनुभएको छ । जनवादी क्रान्ति सम्पन्न भएसँगै जबजको औचित्य सकिएको भन्दै उहाँले अबको कार्यभार समाजवाद रहेको उल्लेख गर्नुभयो ।

स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहनुभएका खनालले चन्द्रागिरी रिसोर्टमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्ने क्रममा पार्टीले लिने वैचारिक,राजनीतिक कार्यदिशा नै निर्णायक हुने भएकाले युग सुहाउँदो कार्यदिशा बनाउनु पर्नेमा जोड दिनुभएको हो ।

‘कमरेडहरु! जनवादी क्रान्ति पूरा गरिसकेकाले जबजको युग सक्कियो । जबज अब पुँजीवादी सिद्धान्त हो, त्यसलाई अनुशरण गर्न सकिंदैन । अबको कार्यक्रम समाजवादमा रुपान्तरणको हो । हामीले युगअनुसार कार्यक्रम निर्धारण गर्नुपर्छ’ खनालले भन्नुभयो ।

नयाँ पार्टी गठनलाई क्रान्तिकारी बिद्रोह भन्नुभएका नेता खनालले सही बिचार,नीति,कार्यक्रम र कार्यदिशा निर्धारण गर्न सके एक वर्षमै विशाल पार्टी बनाउन सकिने दृढतासमेत प्रकट गर्नुभएको छ । ‘हामीसँग सशक्त वैचारिक,राजनीतिक कार्यक्रम,कार्यदिशा बनाउने दृढता र एकता हुनुपर्छ । त्यस्तो भयो भने ठूलो परिवर्तन गर्न सक्छौं । वर्ष दिन नपुग्दै विशाल पार्टी बनाउन सकिन्छ’, उहाँले भन्नुभयो ।

आम कार्यकर्ता केपी ओलीको दमन र दक्षिणपन्थी अवसरवादबाट पीडित भएको भन्दै उहाँले क्रान्तिकारी रुपान्तरणसहित सबैलाई गोलबद्ध गर्न आव्हान पनि गर्नुभयो ।

सम्बोधनका क्रममा नेता खनालले केपी ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवादमा पुर्याएको भन्दै त्यसको खण्डनमा सिंगो पार्टी उत्रिनुपर्नेमा जोड दिनुभयो । सर्वोच्च अदालतको फैसलालाई पुस्तिकाका रुपमा छापेर देशव्यापी अध्ययनका लागि पठाउन पनि उहाँले आग्रहसमेत गर्नुभयो ।

टिप्पणीहरू