दशैं नलाग्दै घर जानेको ताँती, दुःख नानाभाँती, कोरोना बढेसँगै जन्मथलो फर्किने थपिए

दशैं नलाग्दै घर जानेको ताँती, दुःख नानाभाँती, कोरोना बढेसँगै जन्मथलो फर्किने थपिए

– अनुषा थापा

उपत्यकामा कोभिड संक्रमण बढ्दो छ । तीन जिल्लाका प्रजिअको गत मंगलबार बसेको बैठकले राति ७ बजेपछि पसल सञ्चालनमा रोक लगाएको छ । बिहीबार राति ८ बजेपछि निजी गाडी वा सार्वजनिक सवारी साधन चल्न नपाउने निर्णय थपिएको छ ।

उपत्यकामा लाखौं मानिसको व्यापार, रोजगारी, शिक्षाका लागि डेरामा बास छ । संक्रमण बढेसँगै लकडाउन हुन्छ भनेर जन्मथलो जानलाई गाडी कुरी बस्नेको चाप केही दिनयता कलंकी चोकमा बाक्लै देखिन्छ । पोखराकी शुभद्रा खत्री झोलासँगै ३ वर्षको छोरी काखमा च्यापेर डेढ घण्टादेखि गाडी कुरेको बताउनुहुन्छ । पोखराको भाडादर सरकारले तोकेको ४८५ हो तर जम्बो हायस र माइक्रो बसले ८ सयसम्म लिने गरेको उहाँको गुनासो थियो ।

छोरा भेट्न काठमाडौं आउनुभएका केदार सुवेदीले दाङ जान गाडी कुरेको दुई घण्टा भइसकेको र गाडी नपाएको दुःखेसो पोख्नुभयो । काठमाडौंदेखि दाङ गएको भाडा १५०० हो । एउटी महिलाले चितवन जाने भनेर टिकट खोज्दा काउन्टरको कर्मचारीले ८ सय दिने हो भने टिकट मिलाइदिने भनी जवाफ दिएको पाइयो । सरकारद्वारा निर्धारित भाडालिस्ट जनताले देख्ने गरी किन काउन्टरमा राखिन्न ?

साना गाडी जस्तै जम्बोहायस, माइक्रोबस, टाटासुमो सुपर डिलक्स र डिलक्सभित्र पर्छ कि पर्दैन, यसको छुट्टै भाडा जनताले तिर्नुपर्छ कि पर्दैन ? सुपर डिलक्स हुन यातायात व्यवस्था विभागले एउटा मापदण्ड बनाएको छ । सरकारको मापदण्ड साना गाडीहरूले पूरा गरेका छन् ? साना गाडीको पछाडि एउटा मात्र चक्का हुन्छ । गाडीमा लोड बढी भयो भने टायर पञ्चर हुन्छ । यी गाडीमा यात्रा गर्नु निकै जोखिमपूर्ण छ । बिलबुकमा १४ सिट तोकेको छ । साना गाडी चलाउने नक्कली सिट हालेर २२ जना यात्रु राखेको हुन्छ ।

अनुगमन फितलो भएको कारण यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । नक्कली सिट हाल्नेलाई कारबाही छैन । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगहरूले भाडामा छुट पाएका छैनन् । यता, राज्यबाट यातायात व्यवसायीले कर छुट पाएको हुन्छ । यसरी बढी भाडा लिएर र सिटभन्दा बढी यात्रु राखेर खुला ठाउँ, चोकचोकमा टिकट काट्दा ट्राफिक र यातायात व्यवस्था विभाग किन चुप लागेर बसेका होलान् ?

बल्खुबाट हेटौँडा चल्ने टाटासुमोले पनि सरकारले तोकेभन्दा डबल भाडा लिइरहेका छन् । नयाँ बसपार्कबाट केही दिनदेखि उपत्यकाबाहिर जाने यात्रुको चाप बढेको छ । नयाँ बसपार्कमा पनि बिचौलियाले सरकारले तोकेभन्दा बढी भाडा लिइरहेका छन् । जति माग्यो त्यति तिर्नुपरेको छ । कोटेश्वर, जडीबुटी, गठ्ठाघर, सल्लाघारी, सूर्यविनायकमा पनि भीड अफगानिस्तानको काबुल एयरपोर्टमा जस्तै छ । सिन्धुली जिल्ला घर भएका उमेश महतले कोटेश्वरको टिकट काट्ने काउण्टरमा टिकट नपाएको गुनासो गर्नुभयो । सिन्धुली जान सरकारले तोकेको भाडा ४९० मात्रै हो तर काउण्टरको कर्मचारीले ८०० मागेको पाइयो ।

रामेछाप, सिन्धुपाल्चोक, दोलखा, बर्दिवास जाने यात्रु कोटेश्वरमा गाडी कुरेर बसेको प्रशस्त देखियो । उता आफूखुशी रेट राखेर रिजर्भको नाममा जनता ठगिएको पनि उस्तै छ । उपत्यकाबाट घर जाने मानिस बिनापरीक्षणका छन् । यसो हुँदा गाउँमा घर र टोल छिमेकी सबैमा कोरोना सल्किने डर हुन्छ ।

स्वास्थ्य मापदण्ड कुनै पनि सर्वसाधारण र व्यवसायीले पालना गरेनन् । सरकारले पनि अनुगमन गरेन । हिजो लकडाउन गर्नेबित्तिकै कोरोना लाग्छ भनेर उपत्यकामा भएका मानिस घर गए । उपत्यकामा कोरोना घटेपछि तिनै मान्छे गाउँबाट जंगलको बाटो हुँदै उपत्यका छिरे । एम्बुलेन्ससमेत दुरुपयोग गरे । नाकामा कुनै पनि मान्छेको कोभिड परीक्षण भएको छैन । घरधनीले पनि कोरोना चेक गरेर आउनुस् भनेनन् । गाउँबाट मानिस आउँछन्, सिधै आफ्नो काममा लाग्छन् । एक जनालाई कोरोना लागेको रैछ भने सबैलाई सल्किन्छ ।

टिप्पणीहरू