​विवादकै बीच फेरि को बन्दै ?

जेठ ३१ गतेको चुनावका लागि ७ नम्बर प्रदेश अर्थात् सुदूरपश्चिममा अवस्थित एक मात्र धनगढी उपमहानगरपालिकाको उम्मेदवार छान्ने काम एमालेले चर्को विवादका बीच टुंगो लगाएको छ । तलबाट आएका नामहरु उपाध्यक्ष भीम रावलले शनिबार स्थायी समितिको बैठकमा पेश गरेका थिए । दुर्गा जोशी, यज्ञ बाँस्तोला र कलावती जोशीको नाम आएको हो ।

 पहिलाको धनढी नगरपालिकामा डोटीबाट झरेका मान्छेको जनसंख्या ४० प्रतिशत छ । दुर्गा डोटीका पुराना बासिन्दा हुन् । यसो हुँदा मेयरमा उनी र उपमेयरमा रुक्मिणी देवकोटा (पाल्पाबाट गएकी) लाई छनोट गरिएको छ । रावलले यसरी हुँदा पूर्व र पश्चिमबीच संयोग मिल्ने तर्क राखेका थिए । त्यही विषयमा नेताहरुबीच गलफत्ती परेको हो । 

उपाध्यक्ष वामदेवले यज्ञ बाँस्तोलाको नाम लिए । उनलाई विष्णु पौडेलको पनि समर्थन थियो । ७ नं. प्रदेशमा उम्मेदवार छनौट ठीक भएन, सिफारिस ठीक आएन भन्दै अध्यक्ष ओलीचाहिँ भित्रभित्रै गुनगुन गरिरहेका थिए । उनको गुनासो कञ्चनपुरको महेन्द्रनगर नगरपालिकामा पार्टी सचिव सुरेन्द्र बिष्टको नाम सिफारिस भएर आएकोप्रति रहेजस्तो देखिन्थ्यो । तर स्पष्टसँग केही बोलेनन् । नामहरु पेश भइसकेपछि वामदेवतिरै फर्केर सोधे, ‘भीम रावल कमरेडले प्रस्ताव ल्याउनुभयो, यसमा तपाईंको भनाइ केही छ कि ?’ यसैबेला हो वामदेवले यज्ञराजको नाम लिँदै, ‘पुराना साथी हुन्, राम्रै छन्’ भनेको । विष्णुको समर्थन आयो, ‘पूर्वबाट गएका साथीहरुले नै हो सुदूरपश्चिममा संगठन बनाएको ।’ बाँस्तोलाले पाल्पाबाट गएर त्यहाँ काम गरेका हुन् । यज्ञले भूमिगतकालमा रोल्पा जिल्ला हाँकेका थिए । भीम रावलले यसपछि कडा आपत्ति जनाए, ‘के पूर्व, पूर्वमात्र भन्नुहुन्छ । हामी त्यहींका मान्छेले चाहिँ संगठन बनाएका छैनौं ? सबै पूर्वबाट गएकाले मात्र बनाएको भन्ने ? 

०५१ सालमा अहिले टिकापुर भएको क्षेत्रबाट काठमाडौंमा जन्मिएका हिमाञ्चलराज भट्टराईलाई टिकट दिने मै हुँ । ०६४ सालमा दीपक देवाकोटा (कैलालीको जिल्ला सचिव) लाई उठाउने पनि म नै हुँ । सात नम्बर प्रदेशका पार्टी कार्यालय सचिव दिनेशचन्द्र सुवेदी (पोखराबाट गएका) लाई बनाउने पनि म नै हुँ । हामीले पनि पूर्वका साथीहरुको सन्तुलन मिलाएका छौं । पश्चिमकालाई मात्र च्यापिएको छैन ।’

सचिव प्रदीप ज्ञवाली केही थप्न खोज्दै थिए तर भीम रावलले उनीपट्टि पनि फर्किएर कराएपछि अन्त्यमा केपी ओलीले हस्तक्षेप गरेर रोके । अनि तलबाट आएका नाम नै गरौं भनेपछि शनिबार धुम्बाराहीमा बसेको बैठकले कुरा टुंग्यायो ।

टिप्पणीहरू