दूधे बालक मारेर जेलभित्रै देहत्याग

दूधे बालक मारेर जेलभित्रै देहत्याग

सातवर्षे बालकलाई चटक्कै छाडेर अन्त हिँड्ने आमा बाँच्नु र मर्नु बराबर हो । दूधपोखरी गाउँपालिका–३ फुलिङगिरी प्राविको कक्षा २ मा पढ्ने सातवर्षे बालक युकेश गुरुङलाई आमा अनिताले पाँच वर्षको उमेरमा छाडेर हिँडिन् । चैत ३० गते विद्यालय हिँडेका तिनै बालक एकाएक हराए । बाबु राजकुमारले चारैतिर खोजे तर फेला परेन ।

वैशाख १ गते साँझ ५ बजेतिर घाँस काटेर फर्केका स्थानीय गाउँदेखि झण्डै तीन सय मीटर पर खोल्सीमा उनै युकेश मृत फेला परेपछि चकित भए । हराएको सूचना त जिल्ला प्रहरी कार्यालयमा आइपुगेको थियो । डिएसपी गंगाबहादुर थापाले मातहत इप्रका गौँडालाई कडा निर्देश गरेका थिए । हराएको सूचना आएको ४८ घण्टा नबित्दै बालक मृत फेला परेको खबर आयो । डीएसपी थापाले पोष्टमार्टमका लागि शव पोखरा पठाए । हत्या गरिएको प्रमाणित त भयो तर कसले ग¥यो यस्तो दूधे बच्चाको हत्या ? वैशाख १२ गतेसम्म पत्ता लागेन । तत्कालीन डिएसपी गंगाबहादुर थापाले वरिपरिका बच्चा बटुले । चकलेट बाँडे । युकेश सबैभन्दा बढी कोसँग मिल्थ्यो, कसकोमा जान्थ्यो सोधे । कक्षा २ मै पढ्ने सुमन बिकले आफ्नो मिल्ने साथी भएको कुरा खोले । प्रहरीले अनुसन्धान त्यतै सोझ्यायो ।

स्कुलबाट सँगै फर्केका युकेश, सुमनको घर पसे । युकेशले ऐना हेर्ने क्रममा भुइँमा खसेर फुट्यो । सुमनकी आमा फूलमालाले ऐना फुटाएको झोंकमा प्याटपुट्ट पार्ने क्रममा घाँटीमा लागेपछि बेहोस भएको बालकलाई मृत ठानी तीन सय मीटर पर खोल्सामा लुकाइन् । न कुनै रिसराग, न कुनै प्रतिशोध । तर्साउन गरेको त्यो भूलले बच्चाको ज्यान गएपछि नियन्त्रणमा लिइएकी ४८ वर्षीय फूलमायालाई वैशाख २४ गतेदेखि पुर्पक्षमा कारागार चलान गरिएको थियो । तिनै फूलमालाले ठ्याक्कै दुई महिनापछि अर्थात् असार २५ गते कारागारभित्रै आत्महत्या गरिन् ।

माओवादी आरोपमा ०५८ मा तत्कालीन भारते गाविस सूर्योदय माविका शिक्षक वासुदेव अधिकारी सेना, प्रहरीको चरम यातनापछि जेल चलान भएको दुई महिना नपुग्दै बितेलगत्तै आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरी मारेका श्रीमञ्ज्याङ गाविसका मंगले विकले दुई पोका सुर्ती एकैचोटि खाएर देह त्याग गरेपछि यता कसैले कारागारमा मृत्युवरण नगरिरहेको बेला फूलमायाको आत्महत्याको खबर आयो र अर्का एक बन्दीले पनि घाँटी सेरेर आत्महत्याको कोसिस गरे ।

१३ वर्षीया बालिका करणी अभियोगमा असार २८ गतेदेखि कारागारमा रहेका रुबी भ्याली गाउँपालिका –३ धादिङका ३० वर्षे विष्णु तामाङले दारी फाल्ने ब्लेडले घाँटी सेरेर आत्महत्या गर्ने प्रयास गरे । सबैले अब जेलमै सड्ने भइस् भनेर हतोत्साही पारिदिएका तामाङले यही २५ गते बिहान ६ बजेतिर ब्लेडले घाँटी रेट्दै गर्दा अरु बन्दीले देखेका थिए । तत्काल लमजुङ अस्पताल पु¥याए पनि घाँटीमा गहिरो चोट लागेकाले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए ।

०२८ सालमा निर्माण गरिएको जिल्ला कारागार लमजुङ जीर्ण त यसै छ । त्यहीमाथि ०७२ सालको भूकम्प र पटक पटक गएको पराकम्पले सेन्ट्री बुर्जा, पर्खाल कुन दिन ढल्ने हो निश्चित छैन । जीर्ण भवन, सयको हाराहारीमा खचाखच कैदीबन्दी । कोरोनाको कहर । बिचलित मनका कारण कैदी बन्दीले आत्महत्या गर्न थालेपछि अब प्रत्येक शनिबार साढे ७ बजेदेखि ९ बजेसम्म डिएसपी कृष्णबहादुर कार्कीले योग तथा मेडिटेसन सञ्चालन गर्ने भएका छन् ।

– अञ्जनकुमार

टिप्पणीहरू