लुम्बिनीका दुई सांसदलाई पदबहाली गर्ने बाटो खुलेन

लुम्बिनीका दुई सांसदलाई पदबहाली गर्ने बाटो खुलेन

माओवादी केन्द्रको कारवाहीले पदमुक्त भएका लुम्बिनी प्रदेशका दुई सांसदको पदबहाली गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । माओवादीको कारवाहीले पद गुमाएका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको पक्षमा अन्तरिम आदेश दिन आवश्यक नदेखिएको सर्वोच्चले ठहर गरेको हो ।

दधिराम न्यौपानेका तर्फबाट दायर रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो । ‘अन्य विषयमा निवेदनको अन्तिम निर्णय हुँदा सम्बोधन हुने गरि सुविधा र सन्तुलनको दृष्टिले समेत तत्काल निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु पर्ने देखिएन’, आदेशमा भनिएको छ ।

सर्वोच्चले एमाले अध्यक्ष केपी ओलीले २०७७ चैत १३ गते जारी गरेको अन्तरपार्टी निर्देसन (अपानी)ले उनीहरु एमालेको केन्द्रीय सदस्यका रुपमा देखिएको पनि बताएको छ। यस्तै प्रकृतिको मुद्धामा लेखराज भट्ट, प्रभु साहहरुलाई अन्तरिम आदेश नदिएको कुरा पनि आदेशमा भनिएको छ।

यसअघि आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई हटाउनुको कारण माग गर्दै दुवै पक्षलाई बोलाएको थियो । अन्तरिम आदेश नदिएपछि माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन जितेर एमालेमा प्रवेश गरेका न्यौपाने र पन्थीको सांसद पद खारेज भएको छ ।

टिप्पणीहरू