कोरियामा भए गरिएका यति हुन् कुरा

जनगणतन्त्र कोरिया सरकारको निमन्त्रणामा गत चैत २७ गते नेपाल–कोरिया लेखक पत्रकार मञ्च अध्यक्षको हैसियतले ६ जना प्रतिनिधिको नेतृत्व गर्दै प्योङयाङ पुगेको थिएँ । यो संस्था समाजवाद आएका मुलुकहरूको सांस्कृतिक, वैचारिक, राजनीतिक तथा सञ्चारसम्बन्धी विषय अध्ययन र अनुभव आदानप्रदान गर्न स्थापना भएको हो । जसमा महिलानेत्री शान्ता श्रेष्ठदेखि प्राडा सुरेन्द्र केसी, हस्तबहादुर केसी, पूर्णबहादुर सिंह, माणिक लामा सल्लाहकार र कलाकार विश्वम्भर लामिछाने, सुभास गजुरेल, नरेन्द्र भण्डारी, अग्निराज पौडेल अरापलगायत हुनुहुन्छ । यो पार्टीको भ्रातृ संगठन होइन । 

यसले समाजवादको अध्ययन र अनुभव आदानप्रदान गर्छ । उत्तर कोरियाले यसअघि गत सेप्टेम्बरमा पनि हामीलाई साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता अभियानमा आमन्त्रण गरेको थियो । यसपटक राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हस्तबहादुर केसी, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंह, केन्द्रीय सदस्य सरोज भण्डारी र जनगणतान्त्रिक मञ्चका कोषाध्यक्ष ताराबहादुर (अर्जुन) कटवालको टोलीलाई लिएर म कोरिया गएको हुँ । साम्राज्यवादविरुद्धको अभियान र समाजवाद अध्ययन गर्ने एउटै उद्देश्य लिएर गएका कमरेड र बौद्धिक व्यक्तित्वबीच मदिरापान, कुटपिट र आर्थिक अनियमितताका कुरा केही भएनन् । समूहका ६ जना साथी वैशाख ११ गते बेइजिङ पुग्दासम्म सँगै हाँसीखुसी फर्किएका छौँ । अर्को समूहका नेता माणिक लामाको अर्कै देश जानुपर्ने भएकाले एकजना सदस्य नेकपाका पीबीएम भरत बम रणवीरसँगै बेइजिङबाट अघि लाग्नुभएको हो । 

हामी पाँचजना १२ गते छेन्दुमा माओका योगदानसम्बन्धी गोष्ठी गरेर १३ गते काठमाडौं फर्कियौं । समाचारमा लेखिएको जस्तो कटवाल, शाही (यो थर गरेको कुनै पनि व्यक्ति हाम्रो समूहमा थिएन) र भण्डारी थरका व्यक्ति एउटै पार्टीमा आबद्ध जिम्मेवार साथीहरू हुन् । ल्हासा, सांघाई, बेइजिङ, छेन्दु रुटको टिकट संयुक्त रूपमा लिइएको हो । उताको टिकट बेइजिङमै एकैसाथ लिइएको हो । समाजवादी कोरिया सरकारले भिसाका लागि पैसा लिँदैन । भिसा लागिसकेपछि कसैले यात्रा रद्द ग¥यो भने कन्सुलरले त्यहाँको सरकारलाई दुई सय डलर दण्ड गर्ने हुनाले दूतावासकै आग्रहमा धरौटी रकम संकलन गरिएको हो । अरू पैसाको लेनदेन भएको छैन । बरु साम्राज्यवादविरुद्धको ऐक्यबद्धता अभियानमा नेपालका कम्युनिस्ट क्रान्तिकारीहरू र लेखक÷पत्रकारहरूको शक्तिशाली उपस्थिति देखेर कोरिया सरकार धेरै आशावादी भएको हामीले पाएका छौँ । नेपाल फर्किसकेपछि पनि कोरिया सरकारले हाम्रो क्रियाशीलता र उपलब्धिपूर्ण यात्राका लागि धन्यवाद र बधाई पठाएको छ । कोरियामा हामीले साम्राज्यवाद र उत्तरसाम्राज्यवादविरुद्ध जमेर बहस गरेका थियाँै । मेरो अघिल्लो वर्षको यात्राका बारेमा लेखिएको कृतिको लोकार्पण र परिचर्चा संसारभरबाट आएका प्रतिनिधिसामु भएको थियो । 

– अशोक सुवेदी, अध्यक्ष, नेपाल–कोरिया लेखक/पत्रकार मञ्च

टिप्पणीहरू