​धेरैतिर सम्बन्ध बिग्रिएको हल्ला चले

  • सीताराम कट्टेल (धुर्मुस), कलाकार

कलाकारितासँगै भूकम्पपीडित जनताको लागि टहरा बनाउन सक्रिय सीताराम कट्टेल (धुर्मुस) एक समय एमाले अध्यक्ष केपी ओलीका प्रशंसक थिए । तर, यसपालि स्थानीय निर्वाचनमा कहीँ खुलेनन्, कतै आफ्नो प्रस्तुति दिएनन् पनि । सासू सीता घिमिरे गोदावरी नगरपालिकामा माओवादी तर्फबाट उपपमेयरको उम्मेदवार थिइन् । सासूका लागि भोट मागौँ, पार्टी मन नपर्ने । भोट नमागौँ, मन परेको पार्टीलाई मर्का पर्ने ! यस्तो बिलखबन्दमा परेपछि चुनावभरि ओछ्यान लगाएरै सुते । भूकम्प पीडितका लागि टहरा बनाउनुपूर्व नेपाल सरकारको सरसफाई दूतका रुपमा व्यवस्थित शौचालय निर्माणको प्रचारमा थिए । झापा, गौरादहका बासिन्दा धुर्मुस पहाड घर सोलुको नेचाबेतघारीमा जन्मिएका हुन् । उनको मतदाता नामावली काठमाडौंमा छैन । यसकारण मतदान पनि गरेनन् ।

० स्थानीय निर्वाचन कस्तो लाग्यो ? 

– सम्पूर्ण मतपरिणाम आइसकेको छैन । त्यो नआइककन यसै भन्न सकिन्न । यद्यपि बीस वर्षपछाडि स्थानीय तहको निर्वाचन हुँदा पर्व आएकोझैं भएको छ । देशभर नै हर्ष र उल्लासको वातावरण देखें । मेरो यो प्रदेशमा नाम छैन । अरुले भोट हाल्ने, मैले नहाल्ने हुँदा कतै केही काम बिराएँ कि जस्तो लाग्यो । तर, नामै नभएपछि कुरै सकियो ।

० भूकम्पपीडितहरुको बस्तीमा लामो समयसम्म खटिनुभयो । तीन वटा बस्ती निर्माण सम्पन्न गरी हस्तान्तरणसमेत गरिसक्नुभएको छ । उनीहरूको भावना कस्तो पाउनुभयो ? 

– जनताले खोजेको विकास, शान्ति, स्थायित्व हो । हिजोको दिनसम्म जनप्रतिनिधिविहीन स्थानीय निकायले आज जनप्रतिनिधि पाउने भएका छन् । ती आएसँगै छिटोभन्दा छिटो विकास हुन्छ, सबै पीडित जनताको समस्या हल हुन्छ भन्ने आशा पीडितहरुको बस्तीमा पलाएको छ । दुई वर्षको अवधिमा हामीले गाउँमा बसेर काम गरिरहँदा कतै गाविस सचिव नहुने, स्थानीय निकायका कर्मचारीले भनेको समयमा काम नगरिदिने समस्या झेल्यौँ । यस्तै पीडा जनताले सहेका हुन् । हामीले चुनेको प्रतिनिधि आएपछि अब काम छिटो–छरितोसँग हुन्छ भन्ने आशा राख्छु । हामीले न्याय पाउँछौं÷निकास पाउँछौं भन्ने नै जनताको धारणा थियो । अहिले त जे भए पनि आफूले चुनेका प्रतिनिधि आउने भएका छन् । काम गरेनन् भने घोक्रेठ्याक लगाउनसक्ने अवस्था छ । तर, यस अगाडि कुनै विकल्प थिएन । 

० पहाड र मधेसबीच दुरी बढिरहँदा सेतुको रूपमा मधेस झर्नुभयो । त्यहाँका मधेसी जनताको धारणा के पाउनुभयो ? 

– ‘अहिलेसम्म कसैले नहेरेको ठाउँमा हाम्रालागि धेरै काम गरिदिनुभयो’ भनेका छन् । आखिर सबैले खोजेको विकास नै हो । हामी पनि तराई झर्नुअगाडि त्यहाँ धेरै गाह्रो हुन्छ, वाधा, अड्चन आउँछ भन्ने सुनेका थियौँ । तर, बिनाबाधा–अड्चन काम सम्पन्न ग¥र्यौं । वास्तवमा विकासका लागि कोही पनि बाधक हुँदो रहेनछ । 

० २० वर्षपछि आएका जनप्रतिनिधिले जनताका लागि कत्तिको काम गर्छन् भन्ने लाग्छ ?

– काम नगरी सुखै छैन † चुनाव जितेर कुर्सीमा मात्र बसिरहने, पीडितको समस्या जहाँको त्यहीँ भइरहने हो भने सञ्चारमाध्यमले  फड्को मारेको यो युगमा घच्घच्याउँछ । लुकाएर, छिपाएर हुने चिजै छैन ।  ‘गर्दिनँ, सक्दिनँ’ भनेर सुख पाउने अवस्था छैन ।  पहिलाजस्तो झूठो आश्वासन बाँडेर चुनाव जित्ने पुरानै परिपाटी चल्लाजस्तो लाग्दैन । धेरैले आफ्नो जनप्रतिनिधि विकासप्रेमी नै चुनेका छन्जस्तो लाग्छ । मतदाता सचेत भइसकेका छन् । सबै जनाले काम नगरी सुखै छैन ।

० जनप्रतिनिधि सचेत भएको त भन्नुभयो । कुनै ग्राहक रेस्टुरेण्टमा पुगेर मेन्यु पल्टाउने र अन्तमा मःम–चाउमिन नै अर्डर गरेझैं फेरि पनि जनताले उही पुरानै पार्टीहरु रोजेका छन् नि !

– नयाँ पार्टीहरुको जिल्ला–जिल्लामा संगठन विस्तार नभएर होला । १ र २ नम्बर वडाको एलिट क्लास तप्का बस्ने काठमाडौंको प्रारम्भिक नतिजा जसरी आउँदैछ, विवेकशील, साझा पार्टीहरुका पक्षमा त्यसबाट बुझिन्छ कि, जनताले विकल्पचाहिँ खोजेका रहेछन् । 
० चुनावको मुखमा कलाकारलाई आफ्नो प्रचारका लागि तान्ने परिपाटी छ । तपाईंहरुलाई पनि त्यस्ता अफर आएनन् ? 

– पार्टीमा आउनुपर्छ भनेर प्रस्ताव नआएका होइनन् । तर, हाम्रो अहिले त्यो समय होइन । हामी स्वतन्त्र रुपमा काम गर्न चाहन्छौँ । त्यही अडानमा अगाडि बढिरहेका छौँ । अहिले बेलै भएको छैन । 

० कहाँ–कहाँबाट आए प्रस्ताव ?

– (हाँसो) अहिले नभनौं ! केही ठूला पार्टी र केही नयाँ पार्टीबाट आए । 

० तपाईंकै सासूआमा पनि गोदावरीबाट उठ्नुभएको थियो । उहाँको प्रचारमा पनि देखिनुभएन त ? 

– त्यो राजनीतिक इस्यु भयो । मम्मी लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्छ । त्यसको कदर गर्दै पार्टीले टिकट दियो ।  त्यो उहाँको व्यक्तिगत कुरा भयो । हामी स्वतन्त्र ढंगले काम गरिरहेका छौँ । हामीलाई यो पार्टी÷त्यो पार्टी भन्ने कुरै रहेन । आमा उठ्नुभयो । उहाँलाई शुभकामना÷शुभेच्छा दिनेबाहेक प्रचारमा गएनौँ पनि । ममात्र हैन, कुञ्जना पनि गइनन् । हामीले पहिलादेखि नै कुनै पार्टीको प्रचारमा नजाने, स्वतन्त्र भएर बस्ने अडान लिएका हौँ । यी सब आफूमा भर पर्ने कुरा रहेछ । हाम्रो प्रचारमा आइज भनेर कसैले पनि कर गरेनन् । 

० धुर्मुस–सुन्तलीले राजनीतिमा आउनकै लागि अहिले समाजसेवा गरिरहेका हुन् भन्छन् नि ! 

– त्यस्तो केही होइन । राजनीतिको जग खन्नका लागि समाजसेवामा होमिएका होइनौँ । सरकारलाई सघाउन हिँडेका सिकर्मी हौँ । जुनसुकै दलको सरकार आए पनि नागरिकले सरकारलाई सघाएन भने त्यो देशको भविष्य मजबुत हुँदैन । हामी त्यही नागरिकको कर्तव्य पूरा गर्नका लागि मात्र हिँडेका हौँ । भूकम्पपछि मनैदेखि पीडितहरुको पक्षमा उभिने प्रण गरेका थियौँ । जनताको पीडा टुलुटुलु हेर्न सकेनौँ र त्यही भएर फिल्डमा उत्रिएर काम गरेका हौँ । न त यो कुनै योजनावद्ध ढंगले गरिएको काम हो । भुइँचालो यतिखेर जाला अनि हामीले एकीकृत बस्ती बसालौँला भनेर कहिल्यै ड्राफ्ट नै बनाएका थियौँ र ! 

० तेस्रो चरणको एकीकृत नमूना बस्ती हस्तान्तरणपछि आगामी योजना के छ ? 

 – यदि सरकारले पाँच सयदेखि हजार रोपनीसम्म जग्गा दियो भने एकै कम्पाउण्डमा हिमाल, पहाड, तराईका पीडित परिवार अटाउने गरी एकीकृत बस्ती बनाउने योजनामा छौँ । विज्ञहरुसँग सल्लाह जारी छ । यो हाम्रो सपना हो । विदेशी पर्यटकले पनि यसलाई अध्ययन केन्द्रको रुपमा हेर्न सकुन् । राष्ट्रिय गौरवको परियोजनाको रुपमा यसलाई अगाडि बढाउन चाहेका छौँ । अहिले रित्तो अवस्थामा छौँ । सबैले साथ दिएमा हामी यसलाई नयाँ बस्तीको रुपमा अगाडि बढाउनेछौँ ।     

० धुर्मुस सुन्तली फाउण्डेसनले आफ्नो हिसाब किताब पारदर्शी गरेन भन्ने आवाज पनि यदाकदा सुनिन थाालेको छ, के भन्नुहुन्छ यसबारेमा ? 

– त्यस्तो लाग्छ भने पुरानो बानेश्वरमा धुर्मुस–सुन्तली फाउण्डेसनको कार्यालय छ, त्यहाँ गएर हाम्रो खाता जसले पनि चेक गर्नसक्नुहुन्छ । कहाँबाट कति पैसा आायो र कहाँ कति खर्च ग¥र्यौं भन्ने बुझ्न हाम्रो वेबसाइट धधध।मजगचmगकजकगलतबष्।िअयm मा हेर्नुभए पनि हुन्छ । छर्लङ्ग हुन्छ । हामीले फेसबुकमार्फत पनि खुलाएका छौँ । खर्चको हिसाब पाई–पाई सार्वजनिक गर्दा पनि त्यस्तो कन्फ्युजन छ भने कृपया हाम्रो कार्यालयमा आएर हेर्दा हुन्छ । हामी खुला किताब हौं । कुनै स्वार्थ छैन । अरुबाट  पैसा उठाएर मस्ती गर्ने रहर छैन । सबै चिज त्यागेर पीडितका लागि काम गर्न होमिएका हौँ । निर्धक्क भन्न सक्छौँ कि, जति काम गरेका छौँ, पारदर्शी ढंगले गरेका छौँ । 
० दीपकराज गिरी, दीपाश्रीसँग सम्बन्ध चिसिएको हो ? नयाँ मुभीमा अटाउनुभएन त ? 

– नअटाएको होइन । उहाँहरुले प्रस्ताव गर्नुभएको पनि हो । तर, म फिल्डमा खटिएर मुभीको तयारी चल्दै गर्दा भेट्न आउन पाइनँ । अहिले सम्बन्ध बिग्रियो भनेर धेरैतिर हल्ला चले । तर, हाम्रो सम्बन्धमा कुनै समस्या छैन । मेरैलागि कुर्ने अवस्था उहाँहरुलाई पनि रहेन । त्यही कारण हो । उहाँहरु मेरोलागि आदरणीय दाजु÷दिदी हुनुहुन्छ । कोहीसँग पनि मेरो सम्बन्ध बिग्रिएको छैन । सबैलाई सम्मान गर्छु÷सबैले माया गर्छन् । 

० तपाईं आफै फिल्म बनाउने कुराचाहिँ कहाँ अड्कियो ? 

– फिल्मभन्दा पहिला नमूना नेपाल बनाउने धोको छ । त्यो सफल भएपछि मात्र फिल्ममा हात हालिन्छ । 

० धेरैपटक केपी ओलीको क्यारिकेचर गर्नुभयो । वाहवाही पनि पाउनुभयो ।  अहिले स्थानीय तहको निर्वाचन परिणाममा एमाले अगाडि देखिएको छ । खुशी हुनुहुन्छ ?

– उहाँ, हामी एउटै जिल्लाको भए पनि क्यारिकेचरको सम्बन्ध मात्र हो । पार्टीगत हिसाबमा कुनै पार्टीसँग निकट छैन । धेरैतिर क्यारिकेचर गर्दा त्यतैको हो कि भन्ने अनुमान गरिन्छ । मेरो एउटै पार्टी छ, त्यो हो कलाकार पार्टी । अहिले जुन लहर आएको छ, उहाँको कार्यकालमा बाँडेको सपनाबाट प्रभावित भएर जनताले मतदान गरेका हुन् । जनतालाई स्थायित्व भएको स्थानीय सरकार चाहिएको छ । त्यस्तो सरकारबाट विकास निर्माणका काममा सहजता आओस् भन्ने उनीहरु चाहन्छन् । शायद, जनताले त्यो कुराका लागि एमालेलाई ठीक ठानेका हुन् कि ! 

० तपाईंको कार्यक्रम प्रायोजन गर्ने मिडिया हबले कलाकारलाई पैसा दिइरहेको छैन । तपाईंहरु कसरी चलिरहनु भएको छ ?    
– मिडिया हब आफैँ अप्ठ्यारोमा परिरहेको अवस्था छ । छिट्टै त्यो समस्या हल होला । र, कलाकारहरुले पनि पैसा पाउलान् कि !

टिप्पणीहरू