​दुई चरणमा मतगणना

यसपालि मतदान त शान्तिपूर्ण ढंगले सम्पन्न भयो । तर, मतगणनाचाहिँ शान्तिपूर्ण होलाजस्तो देखिँदैन । किनभने मतगणना जुन गतिले अघि बढिरहेको छ त्यो देखेर मतदाताहरू आत्तिरहेका छन् । उम्मेदवार त झनै आत्तिएका होलान् ।

किनभने पाँच वर्षे यो कार्यकालको एक वर्ष मतगणनामै बित्यो भने खेल सकिएन ? एक वर्ष मतगणना, एक वर्ष कार्यालय बुझ्ने, एक वर्ष योजना तयार गर्ने, एक वर्ष त्यसको वातावरण बनाउने । अनि कार्यान्वयन गर्ने बेलाचाहिँ फेरि चुनाव । फलतः मतगणनाको यो गति देखेर कतिपय ठाउँमा नाराबाजीसमेत भइरहेको छ । अब नाराबाजी भएपछि त्यसलाई रोक्नु परिहाल्यो । यो त्यसै रोकिनेवालाजस्तो पनि लाग्दैन । यस्तो अवस्थामा प्रहरीले गोली नचलाई सुखै छैन । प्रहरीले गोली चलाए पछि त्यो टाउकोबाहेक अर्को ठाउँमा लाग्दै लाग्दैन । अनि मच्चिएन त अशान्ति ?

अस्तिसम्म देशमा मतदान कहिले सकिन्छ ठेगान थिएन । तर अहिले चाहिँ मतगणना कहिले सकिने हो ठेगान गर्न नसकिने अवस्था छ । मतदान भन्दा पनि मतगणना पो गा¥हो हुने देखियो त गाँठे ! कुनै चुनावविज्ञले यसो पनि भनेका थिए, मान्छेले मतदानमा हारे पनि मतगणनामा जित्नुपर्छ रे । वास्तवमा चुनाव भनेको मतदान होइन । मतगणना हो । त्यही भएर पनि होला, अहिले मतदान भन्दा पनि मतगणनामा सकस परिरहेको छ । शहर मात्र होइन, गाउँमा पनि मतगणनाकै सकस छ । स्थिति यदि यस्तै प¥यो भने त मतदान दुई चरणमा गरिए जस्तै मतगणना पनि दुई चार चरण गरेरै सम्पन्न गर्नुपर्ने हुन्छ कि ? 

टिप्पणीहरू