सवारी दुर्घटनामा ४ को निधन

सवारी दुर्घटनामा ४ को निधन

कास्की, सप्तरी, महोत्तरी र बाँकेमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–७ नागढुङ्गास्थित सडकमा हिजो साँझ ग.२०प ६०७५ नम्बरको मोटरसाइकल ग.१य ११७१ नम्बरको गाडीमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय बिरौटा बस्ने मोटरसाइकल चालक २९ वर्षीय कृष्ण देवकोटा रहेका छन् । उता सप्तरीको सुरुङगा नगरपालिका–४ कदमहास्थित सडकमा ना.८ ख ३४२२ नम्बरको ट्रकले को.१ ख ६९५६ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर आपसमा ठक्कर खाँदा एक बालिकाको मृत्यु भएको छ ।

ट्रक चालक रामधुनी ईकराही नगरपालिका–४ बस्ने आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्रकमा सवार चालकसहित तीन जनाको सप्तऋषि अस्पताल, लहानमा उपचार भइरहेको छ भने ट्याङ्कर चालक फरार छन् ।

त्यसैगरी महोत्तरीको बर्दिवास नगरपालिका–११ खैयरमार लच्कापुलमा ना.३ ख ८८०० नम्बरको ट्रक र ज.४ प २७०० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका–३ बस्ने २८ वर्षीय धनपत महतोको स्थानीय शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ मा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ईमरान राईको छोरा ३ वर्षीय अनादिया राई हुन् । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू