ओलीले लखेटेपछि विद्रोह अनिवार्य बन्यो : माधव नेपाल

ओलीले लखेटेपछि विद्रोह अनिवार्य बन्यो : माधव नेपाल

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का संयोजक माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण आफूहरु नयाँ पार्टी गठनको बाध्यात्मक अवस्थामा पुगेको बताउनुभएको छ । आफूलाई घर न घाटको बनाउने ओलीको षड्यन्त्र चिर्न विद्रोह अनिवार्य बनेको उहाँको भनाइ छ ।

चन्द्रागिरी रिसोर्टमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै संयोजक नेपालले ओलीले पार्टीमा एकलौटी गरेर आफूहरुलाई लखेटेका कारण नयाँ पार्टी गठन गरेको प्रष्ट पार्नुभयो । ओलीले पार्टीलाई प्राइभेट कम्पनीजस्तो बनाउन थालेपछि आफूहरु त्यसका विरुद्ध संघर्षमा उत्रिएको उहाँले बताउनुभयो । आफूहरुको संघर्ष विचार,मूल्य र मान्यतामा आधारित रहेको पनि उहाँको दाबी छ।

संयोजक नेपालले एमालेमै रहेर संघर्ष गर्दा पनि ओली सुध्रिने लक्षण नदेखेपछि आफूहरु नयाँ राजनीतिक शक्ति निर्माणमा लागेको उल्लेख गर्नुभयो । त्यसमा केही नेता सहमत नभए पनि धेरैले साथ दिएको उहाँको भनाइ छ । नेपालले आफूहरुको संघर्ष कुनै पदका लागि नभई मूल्य,मान्यताको भएको पनि प्रष्ट पार्नुभयो । ओलीले एमालेबाट निष्कासन गरेपछि आफूहरूसँग नयाँ पार्टी गठनको विकल्प नरहेको उहाँले बताउनुभयो ।

हिजोदेखि जारी केन्द्रीय कमिटी बैठकले घोषणा पत्रसंगै पार्टीको विधान,राजनीतिक प्रस्ताव र नियमावली पनि पारित गर्ने बताइएको छ । बैठकले विधान, घोषणा पत्र र नियमावली पारित गरेपछि भोलि त्यहाँबाट सनाखतका लागि सिधै निर्वाचन आयोग जाने सल्लाह छ !

टिप्पणीहरू