ओलीजस्ता धुन्धुकारी सच्चिन्छन् भन्नेमा मलाई विश्वास छैन : बिरोध खतिवडा

ओलीजस्ता धुन्धुकारी सच्चिन्छन् भन्नेमा मलाई विश्वास छैन : बिरोध खतिवडा

एमाले अध्यक्ष केपी शर्मा ओलीका चर्का आलोचकमध्येका एक हुन बिरोध खतिवडा । ओलीविरुद्ध हस्ताक्षर गर्नेमध्येका शसक्त पात्र पनि हुन् उनी । मकवानपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडा अहिले प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य हुनुहुन्छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि उहाँ गत साता पहिलोपटक गृहजिल्ला मकवानपुर पुगेर राजनीतिक छलफलमा व्यस्त हुनुभयो । गृहजिल्लामा भेटिनुभएका खतिवडासँग जनआस्थाकर्मी शिवकुमार काशीले केही जिज्ञासा राख्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी पार्टी) कसरी निर्माण हुन पुग्यो ?

-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार, दम्भ, घमण्ड अनि आफैँ राज्य, आफैँ शासक हुँ भन्ने चिन्तनका कारण क्रमशः तत्कालीन दुई तिहाई नजिकको सरकार चलाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फुटाउने चालबाजीपछि विकसित राजनीतिक घटनाक्रमले नयाँ पार्टी निर्माणको वातावरण बनाउँदैलग्यो । हामीले पटक पटक नेकपा एमालेको एकतालाई अक्षुण्ण राख्नका प्रयास गर्यौं, तर सबै खेर गए । हाम्रा प्रयासमा केपी ओलीले भाँजो मात्रै हाल्ने, ढाँट्ने गरिरहनुभयो । दिनैपिच्छे कुरा फेर्ने, उहाँको चरित्र । त्यसैले हामी नेकपा (एकीकृत समाजवादी पार्टी) बनाउने दिशामा अघि बढ्यौँ ।

१० बुँदे बनाएर पार्टी एकता गर्न ओली तयार भए पनि माधव पक्षले नमानेको आरोप छ । के भन्नुहुन्छ ?

-१० बुँदे कहाँ र कसरी कार्यान्वयन भयो ? १० बुँदे निर्माण गर्ने साथीहरु अहिले पनि मोरल डाउन भएर हिँड्नुपरेको छ । १० बुँदे त परको कुरा भयो, ओलीका नजिकका मान्छे भनिएका सुवास नेम्वाङ र विष्णु पौडेलहरुलाई गरेको वाचा त केपी ओलीले भुल्नुभयो । यसरी आफ्ना, अर्का सबैलाई धोका दिने ओलीबाट पार्टी एकता हुन्छ ? हामीले यत्रो समय पीडा, अपमान, हेलाँ सह्यौं । उनीहरु सुध्रन्छन् कि भनेर, तर पार्टी चलाउन नसक्ने, एउटा गुट चलाउनेहरु सुध्रिएनन् ।

यहाँले भन्नुभयो ओलीले सुवास नेम्वाङ र विष्णु पौडेललाई नै धोका दिए । त्यो कुन प्रंसग हो ?

-तत्कालीन कार्यदलका सदस्यको रुपमा सुवास र विष्णुहरुले माधव कमरेडलाई भेटिरहनु भएको थियो । त्यसबेला सुवास र विष्णु कमरेडले एउटा गज्जबको खबर ल्याउनुभयो । अब पार्टी एकता हुने र १० बुँदे पूर्ण कार्यान्वयन हुने । त्यसका लागि बराबर हैसियतको दुई अध्यक्ष मानेर माधव कमरेडलाई अध्यक्ष बनाउन ओली तयार भएको खबर थियो त्यो । माधव कमरेडले त्यो कुरा मान्नु भएन । उहाँले जवाफ दिनुभएको थियो म पदको लोभी होइन, अध्यक्ष चाहिँदैन, वरिष्ठ नेता नै ठीक छु । त्यसरी अध्यक्ष नै बनाउने हो भने युवराज ज्ञवाली वा अष्टलक्ष्मीलाई बनाउनुस् । त्यसरी समान हैसियत र हस्ताक्षर चल्ने गरी पार्टी मिल्छ भने हुन्छ भन्नुभयो । सुवास र विष्णु कमरेडले त्यसो नभन्नुस्, तपाईले नाइँ नभन्नुस् । अष्ट र युवराजहरुले हुँदैन । तपाईं चुप लागेर यो कुरा मानिदिनुस्, तपाई हामीहरु सबैको अभिभावक हुनुहुन्छ । बाँकी कुरा हामी मिलाउँला । यसमा इग्नोर गर्ने काम नगर्नु्स् भनेपछि माधव कमरेड मौन बस्नु भएको हो । यसरी माधव कमरेडलाई मनाएर उहाँहरु फर्केर ओलीलाई माधव कमरेड मान्नु भयो भनेर सुनाए । यसबीचमा सर्वत्र हल्ला चल्यो । अब पार्टी एकता हुने भयो भनेर अरु झैं म पनि खुसी नै थिएँ । तर, ओलीले सुवास र विष्णु कमरेडले माधव कमरेडले मान्नुभयो भन्ने सन्देश सुन्नासाथ ‘त्यसरी कहाँ हुन्छ ? त्यो मिल्दैन । त्यो पुरानो कुरा हो । तीन दिनअघिको कुरा हो त्यो भन्नासाथ सुवास र विष्णु कालो निलो हुनुप¥यो । हो यस्तै तरिकाका कारण ओलीप्रति हामीहरुको मात्रै होइन, उहाँकै मान्छेहरुको पनि विश्वास घट्दै गएको छ ।

त्यसो त माधवपक्षमा पनि धोका भयो नि !

-नयाँ तेस्रो धार निर्माण गरेर बसेका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुसहित ९ जना नेकपा (एकीकृत समाजवादी) मा गएनन् । केही साथीहरु पार्टी एकढिक्का बनाउने प्रयत्नमै हुनुहुन्छ उहाँहरु अहिले नयाँ पार्टी दर्ता प्रक्रियामा छुट्नु भएको छ । केपी ओलीलाई सच्याउन सकिन्छ कि भनेर उहाँहरु लाग्नु भएको हो । तर, ओलीजस्ता धुन्धुकारी सच्चिन्छन् भन्नेमा मलाई चाहिँ विश्वास छैन । उहाँहरुलाई विश्वास लागेको होला । तर, उहाँहरुलाई पनि ओलीले भनिसक्नुभयो नी ‘पिलो त निचोरियो, खिलहरु बाँकी नै रह्यो’ । हेर्न बाँकी छ उहाँहरु खिल भएर ओलीसँग बस्नु सक्नुहोला ? मलाई त विश्वास लाग्दैन । नयाँ पार्टी दर्ता हुने पेरिफेरिमा उहाँहरु हामीसँगै आउनुहुन्छ । ओलीतिर जाने त बाटै बन्द छ, हामीतिर नआएर केही मान्छेहरु सामान्य नागरिक भएर बस्न सक्ने सम्भावना हुन्छ । जस्तो कि, घनश्याम भुसाल किताब लेखेर बसिदिनुभयो वा रघुजी पन्तहरु लेख लेखेर बस्न सक्लान् । तर, उहाँहरु पनि ओलीतिर त टिक्न सक्नुहुन्न ।

तपाईसहित १४ जनालाई ओलीले कारबाहीका लागि संसद सचिवालयमा पत्र पठाएका छन्, अब सांसद के हुन्छ ?

-आज कारबाही, भोली फिर्ता । हामीमाथि यो सिलसिला चलेको वर्ष दिन बित्यो । अहिलेसम्म हामी एमालेकै सांसद हौँ, कारबाहीका लागि सिफारिस गरेको १५ दिनसम्म त्यसबारे प्रक्रिया गर्ने अधिकार सभामुखलाई छ । यो १५ दिनको बीचमा पार्टी दर्ता भएमा हामीहरुलाई एमालेले कारबाही गर्न सक्दैन । यदि सभामुखले प्रक्रिया सुरु गरेर हामीहरुलाई सांसदबाट हटाए भने पनि हामी अदालत जान्छौं । एउटै विषय वा गल्तीमा मन परेको दिन आममाफी, मन नपरेको दिन कारबाही ? यस्तो दुनिँयामा कहिँ कतै हुन्छ ? अर्का कुरा, मानिलियौँ हाम्रो पद गयो रे, पुस ५ र ८ जेठमा पनि हाम्रो सांसद पद गएकै हो । के फरक पर्छ हामीलाई । संसद फिर्ता भएपछि पनि संविधान जोगाउनका लागि हामी पद त्याग गरेरै भए पनि लागेका हौँ । केही फरक पर्दैन । बरु हामीहरुले पद त्याग गरेर ल्याएको संसदमा ओलीतिरकाहरुको सांसद पद पनि बचाइदिएका छौँ ।

पार्टी एक हुने सम्भावना कतिको देख्नुहुन्छ ?

केपी ओली सच्चिएको खण्डमा ।

पार्टी फोडेर गएकाहरु चुनावमा लज्जाजनक हार व्यहोरेको विगतको उदाहरण छ । तपाईहरुकै पनि हिजो वामदेव गौतमकै हालतमा पुग्ने त होइन ?

-त्यतिखेरको वामदेव गौतमको परिस्थिति र अहिलेको परिस्थिति फरक हो । यति बुझ्नुहोस, हामी चुनावमा जान्छौ र जित्छौँ ।

कसरी ?

-आगामी चुनावसम्म हाम्रो मोर्चा कायमै रहन्छ । यो राष्ट्रिय समझदारी हो । सके वाम–लोकतान्त्रिक मोर्चा । नसके वाममोर्चा । स्थानीय वडादेखि संघीय तहसम्मै हाम्रो मोर्चा हुन्छ । त्यसो हुँदा हामीले हाम्रो पार्टीलाई उचित साइज र हैसियतमा कायम राख्छौँ । त्यसपछिका चुनावका लागि हामी पार्टी बलियो बनाइसक्छौँ ।

अष्टलक्ष्मी शाक्य ओली खेमामा लागेर बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको चर्चा छ । वास्तविकता के हो ?

-धेरै साथीले यही प्रश्न गरिरहनुभएको छ । उहाँ ओलीतर्फ लाग्ने सम्भावना त देख्दिनँ । तर, अहिले नयाँ पार्टी नबनिसकेको सन्दर्भमा उहाँ केपी र माधव नेपालकै सल्लाहमा मुख्यमन्त्री बन्नुभएको हो । यसमा केपी ओलीको छलकपटपूर्ण स्वार्थ र माधव नेपालको बाध्यता देखिन्छ । १ महिना प्रतिक्षा गरौं थाहा भइहाल्छ । उहाँ ओलीतर्फ लाग्नुभएको र प्रतिगमनको मतियार बन्न खोज्नुभएको हो भने उहाँलाई हटाइन्छ । माधव नेपालको पनि केपी ओलीको पनि साझा हुँ भनेर धेरै समय टिक्न सकिन्नँ । तर, उहाँ पनि केपी ओलीले भनेको खिलअन्तर्गत पर्नुहुन्छ ।

पार्टी अब कसरी अघि बढ्छ ?

-३५/४० जिल्लामा हामीसँग पहिल्यै हाम्रा पक्षधरको नेतृत्वको कमिटी छ । पार्टी दर्ता हुने बित्तिकै सबै जिल्ला र ७५३ वटै स्थानीय तहमा हाम्रो संरचना वडा तहसम्मै पुग्छ । दर्ता भएको १५ दिन भित्रमा हाम्रा पक्षका जनप्रतिनिधिहरुको हिसाब निकाल्छौँ । अनि राष्ट्रिय सम्मेलनमार्फत हामी तात्कालिक कार्यनीति र संगठनात्मक संरचना पारित गरी अघि बढ्छौँ ।

टिप्पणीहरू