​मात्तिने र आत्तिने दुवैथरि मूर्दावाद

स्थानीय तह चुनावको पहिलो चरण अत्यन्त उत्साहप्रद ढंगले सफल भएपछि अब बाँकी चार प्रदेशका मतदाता पनि जेठ ३१ को व्यग्र प्रतीक्षामा छन् । तर, यस चरणले देखाएको मत परिणामले कतै दोस्रो चरणको निर्वाचनमाथि खेलवाड पो हुने हो कि भन्ने चिन्ता पनि शुरु भइसकेको छ । पहिलो र दोस्रो चरणको चुनाव गराउँदा दुनियाँमै कहीँ नहुने, नभएको काम पनि गर्ने तयारीमा सत्ताधारी दल छन् । दुई चरणको बीचमा बजेट ल्याउने, सरकार बदल्ने जस्ता काम गर्न आतुरी मात्र छैन दिने र लिने दुवै तम्तयार अवस्थामा छन् । के सही, के गलत हो यसको अन्तर्राष्ट्रिय विधि र मान्यता के छन् त्यसबारे प्रचण्ड र देउवाले थोरै पनि हेक्का राख्नुपर्ने ठानेका छैनन् । 

यस्तो बेला प्रमुख प्रतिपक्ष के भन्छ उसको कुरा सुन्ने वा सोध्ने कुनै जरुरी ठानिरहेको छैन सरकारले । तर, देखियो के भने विभिन्न प्रकारका घेराबन्दीबीच पनि प्रतिपक्षी नै बलियो देखिएको छ स्थानीय तहमा । यसको अर्थ सरकारले आफ्नो लोकप्रियता गुमाइसकेको मात्र अवस्था छैन जनमत पनि पुरै विपक्षमा छ भन्ने प्रमाणित भएको छ । यसबीच, सरकारमा टिक्न, पालैपालो सरकार चलाउन र आफ्ना विपक्षी र भनेको नमान्नेलाई तह लगाउन सरकारले जे–जे ग¥यो त्यो सही थिएन भनेर जनताले मतमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । अब मधेसमा पनि त्यस्तै हुने त होइन भन्ने आशंका सरकारमा बसेका कांग्रेस–माओवादीलाई मात्र होइन, मधेसकै दललाई समेत छ । मधेसका नाममा अनावश्यक रूपमा काठमाडौंमा सत्ताको दलाली गर्ने तर मधेसका असली माग र जनचाहनालाई कहिल्यै संबोधन नगर्ने गरेको आरोप उनीहरूले खेपिरहेका छन् । मधेसका वास्तविक समस्यालाई कहिल्यै पनि आफ्नो माग र मुद्दा नबनाएको तर प्रायोजित एजेण्डामा झुन्डिएको आरोप सबै मधेसी दललाई लाग्ने गरेको छ । 

केन्द्रमा हुने सत्ता राजनीति जे–जस्तो भए पनि आखिर सबैभन्दा महŒवपूर्ण त स्थानीय सरकार नै हो । त्यसैले स्थानीय तहको निर्वाचन जुनसुकै मूल्यमा सम्पन्न हुनुपर्छ भन्ने मागलाई सरकारले अति महŒवसाथ लिनु जरुरी छ । यसबीच मधेसका पूरा गर्न मिल्ने मागलाई संबोधन गर्न प्रमुख प्रतिपक्षी दलसँग पनि सहकार्यमा जानै पर्ने बाध्यतालाई सत्ता गठबन्धनले जति छिटो बुझ्छ सबै समस्याको समाधान त्यति नै सहज हुने देखिन्छ । अबको विकल्प भनेकै एमाले, माओवादी र कांग्रेससँगै बसेर मधेसको कसरी चित्त बुझाउने र उनीहरूलाई पनि खुशी मुहार लिएर चुनावमा जाने वातावरण बनाइदिने भन्नेबारे हुनैपर्ने छलफल हो । यसको लागि अहिलेदेखि नै काम गरौं । ठूला दललाई यो सल्लाह हो, पहिलो चरणको नतिजाबाट ‘कोही नआत्तिनु, कोही नमात्तिनु ।’

टिप्पणीहरू