​गोली ठोक्न पनि गठबन्धन

‘म सिडिओ हुँ, मेरैअनुसारले काम गर्छु, तपाईंले सिकाउने होइन’ भन्दै कराउने यी तिनै सिडिओ हुन्, जसले पहिलो चरणको स्थानीय निर्वाचनमा सबभन्दा बढी गोली चलाएको, मान्छे मारेको र दिनदहाडै बुथ कब्जा गरिएको जिल्ला अगुवाइ गरे । र, ३१ गते दिउँसो यस्तो कर्कश स्वरमा जवाफ फर्काए, ‘दोलखा तामाकोसी गाउँपालिका प्रमुखमा एमाले प्रत्याशी ईश्वरचन्द्र पोखरेललाई ।

बबाल पनि कस्तो भने, केन्द्रमा कांग्रेस र माओवादी गठबन्धनझैं । मंसिर ८ गतेको सरुवामा दोलखा जानुअघि यज्ञ बोहरा गृहमन्त्री विमलेन्द्र निधिका निजी सचिव थिए । दुई महिना निधिको सचिवालय सम्हालेका बैतडीका यी बोहोरासँगै प्रचण्डको अंगरक्षक रहिसकेका रविन कार्की प्रहरी प्रमुख तोकिए । बोहोरा कांग्रेससम्बद्ध कर्मचारी युनियनका, कार्की पुष्पकमलकै सुरक्षामा बसेका व्यक्ति भएपछि दोलखा, जफेका स्थायी बासिन्दा तथा नेविसंघ महामन्त्री कुन्दन काफ्ले र त्यहीँकी माओवादी नेत्री देवी खड्काले ‘मौकाको फाइदा’ उठाएको एमालेको आरोप छ ।

३१ गते १२ बजेअघि नै तामाकोशीको आलम्पु बुथमा मतदान रोकियो । कुन्दन आफैँ पुगेर मारमुङ्ग्री चलाउन थालेपछि मतदाता भागाभाग भए । एमाले प्रमुखका प्रत्यासी ईश्वरचन्द्रले मतदान गर्न बाँकी नै थियो । उनको नामावली जामुने बुथमा थियो । आलम्पुबाट कुन्दन र देवीको टोली जामुने पुगेर आलम्पुकै जसरी पेल्न थाल्यो । र, ईश्वरचन्द्र आफ्नो पक्षका मतदातासहित भागे । वडाध्यक्षमा एमाले उम्मेदवार परशुराम कार्की र पार्टी अध्यक्ष जिवस खड्का कुन्दनको आक्रमणबाट गम्भीर घाइते भए । केही बेरमा कालपानी बुथमा एमाले कार्यकर्तामाथि त्यही टोलीबाट आक्रमण भयो । प्रहरीले घाइतेलाई नजिकैको स्वास्थ्य केन्द्र पु¥याउनुपर्नेमा दंगाग्रस्त जामुने बुथमा लगेर अलपत्र छाडिदियो । एकैछिनमा डिएसपी कार्कीले एफएममा अन्तर्वार्ता दिन थाले, ती बुथमा मतदान शुरु भयो भनेर । तर, त्यतिबेला एमाले पक्षधर मतदातालाई डाँडापारी नै छेक्दा प्रहरीको टोली नै तैनाथ थियो । एकैछिनमा सहरेमा हवाई फायर भयो । 

त्यस्तै, वैत्यश्वर गाउँपालिकाको गैरीमुदीका दुवै बुथमा मतदानको बिहानैदेखि स्थिति तनावग्रस्त थियो । कांग्रेस–एमालेबीच झडपका नाममा प्रहरीले हवाई फायर गर्दा सर्वसाधारणको भागाभाग चल्यो । मतदाता भागेपछि मतदान शुरु भयो, भोटजति कांग्रेस र माओवादीका कार्यकर्ताले खसाले । एमालेले बुथ कब्जा गरिएको भन्दै चरिकोटमा उजुर ग¥यो । उजुरी लिएर छानवीन गर्नु त कहाँ कहाँ, सिडिओ बोहोरा उल्टै कराउन थाले, ‘मलाई सिकाउने तपाईंहरू को हो ?’ तर, कांग्रेस र माओवादी कार्यकर्ताबाट आलम्पुमा एमालेले आफूहरूमाथि आक्रमण गरेको उजुर परेपछि सिडिओले थपक्क त्यहाँको मतदान रोकिदिए । 

उता, गौरीशंकर गाउँपालिकामा आक्रमणमा उत्रियो काफ्लेको टोली, तर सिडिओले गृहमा खबर सुनाए ‘एमालेले’ भनेर । यति गरेर फेरि मेलुङ गाउँपालिकास्थित पोवटी बुथमा लफडा चल्यो, डिएसपी रविन कार्कीको निर्देशनअनुसार । त्यहाँ बुथ कब्जा गरेका थिए, कांग्रेसकाले । तर, नाम लगाए एमालेको । नियन्त्रणका क्रममा हवाई फाइरिङ खोल्दा डम्बरबहादुर भुजेलको ज्यान गयो ।

यसरी सिडिओ र डिएसपी नै मिलेर, उनीहरूसँगै नेविसंघ र माओवादी नेताले लोली मिलाउँदाको हविगत दोलखाले व्यहोरेको बताउँछन्, त्यहाँका एमाले नेता । सिडिओले गाली गरेका तामाकोसी गाउँपालिका प्रमुखका उम्मेदवार ईश्वरचन्द्र पाँच वर्ष एमालेको जिल्ला कमिटी अध्यक्ष भएका व्यक्ति हुन् । 

त्यस्तै, ०५८ सालमा असईमा भर्ना भई ०६१ सालमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर उत्तीर्ण डिएसपी कार्की भक्तपुर जिल्लाका बासिन्दा हुन् । डिएसपी दानबहादुर मल्ल जाजरकोटमा प्रहरी प्रमुख खटिएपछि प्रधानमन्त्री पुष्पकमलको निजी सुरक्षा अधिकृतका रूपमा उनी तोकिएका थिए । त्यसअघि इन्स्पेक्टर छँदा पनि प्रचण्डको सुरक्षा टोलीमा बसेका हुन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनका बेला उनी पुष्पकमलकै कृपाले तनहुँमा थिए, इप्रका इञ्चार्जका रूपमा । प्रहरी कार्यसम्पादन मूल्यांकनअनुसार कम नम्बर भएका उनी ०६१ सालमा इन्स्पेक्टर भएका व्याचीमध्ये तेस्रो पटकको बढुवामा परेर एक वर्षअघिमात्र डिएसपी भएका हुन् । 

दोलखामा सिडिओ र प्रहरी प्रमुखकै यस्तो रवैया भएपछि प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय निर्वाचन सेलले पटक–पटक कार्कीलाई अलर्ट ग¥यो, फायर नखोल्नका लागि । ‘फिल्डमा खट्दा आदेश दिने अधिकारीले आदेश दिएपछि मैले के गरौँ हजुर’ भन्दै उनी पन्छिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

टिप्पणीहरू