भोक,रोग र गरिबी तिब्बतमा बन्यो एकादेशको कथा « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

भोक,रोग र गरिबी तिब्बतमा बन्यो एकादेशको कथा

प्रकाशित मिति :  ८ भाद्र २०७८, मंगलवार १९:००


छिमेकी चीनको तिब्बत स्वायत्त प्रदेशले पछिल्लो सात दशकमा लोभलाग्दो प्रगति गरेको छ । आर्थिक,सामाजिक र राजनीतिक क्षेत्रमा चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीले दिएको महत्वको परिणाम सात दशकपछि देखिएको बताइएको छ ।

तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वार्षिकोत्सव मनाउने क्रममा उक्त जानकारी दिइएको छ । गत साता तिब्बतको राजधानी ल्हासामा आयोजित विशेष समारोहमा हिजो र आजको तिब्बतको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा २० हजारभन्दा बढी नागरिकको सहभागिता रहेको बताइन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा तिब्बतमा रहेका सबै धार्मिक समुदाय र जातिलाई एउटै मालामा उन्ने सबैभन्दा उल्लेखनीय उपलब्धिसमेत प्राप्त भएको छ । आगामी दिनमा नयाँ,आधुनिक, समाजवादी र एकताबद्ध तिब्बतले नै त्यहाँका जनताको सम्बृध्दिमा थप ईंटा थप्ने चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सि जिनपिङले बताउनुभएको छ ।तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वार्षिकोत्सवलाई पठाउनुभएको बधाई सन्देशमा उहाँले अबको तिब्बत अझ बढी एकताबद्ध,समृद्ध,सांस्कृतिक सम्पन्नता,उत्कृष्ट समाज र आकर्षक स्थल बन्ने विश्वास लिनुभएको छ ।

यसअघि गत जुलाईमा तिब्बतको भ्रमण गर्दै राष्ट्रपति,महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सिले चिनियाँ कम्युनिष्ट पार्टीको अनुपस्थितिमा नयाँ चीन र नयाँ तिब्बतको कल्पना पनि गर्न नसकिने बताउनुभएको थियो । आजसम्म चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतको विकास सम्बन्धमा लिएको नीति र निर्देशन समय सान्दर्भिक थियोे भन्ने पुष्टि भएको पनि उहाँले भ्रमणको क्रममा उल्लेख गर्नुभएको थियो ।

तिब्बतबाट केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वार्षिकोत्सव संयुक्त रुपमा मनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सात दशकमा प्राप्त उपलब्धिको चर्चा गर्नुभएको थियो ।

उहाँले सन् १९५१ को अन्धकार तिब्बतबाट घाम जत्तिकै उज्यालोमा पुगेको सबैले देख्न सक्ने बताउनुभयो । ‘पिछडिएकोबाट प्रगति,गरिबीबाट सम्बृध्दि,निरंकुशताबाट लोकतन्त्र र बन्द समाजबाट खुलापनको बाटोमा पुगेको कारण एक सम्बृध्द समाजवादी नयाँ तिब्बत संसारमा दृढताका साथ उभिएको’ उहाँले उल्लेख गर्नुभएको छ ।ती दिन तिब्बतमा कुनै पनि उद्योग अस्तित्वमा थिएन । कृषि र पशुधन पनि प्रकृतिको दयामा बाँचेका थिए । तिब्बतको ल्हासा र सिनिंगबीच एकोहोरो यात्रा गर्न त्यतिबेला ६ महिनाभन्दा बढि समय लाग्थ्यो । तर अहिले सयौं किलोमिटर प्रतिघण्टा गुड्ने रेल पुगेको छ भने,जताततै चिल्ला र फराकिला सडक देखिन्छन् ।

सन् १९५१ मा १ सय ३० मिलियन चिनियाँ युआन रहेको तिब्बतको कूल गार्हस्थ्य उत्पादन बढेर सन् २०२० मा १ सय ९० बिलियन युआन पुगेकाले पनि यसबीचमा भएको तिब्बतको आर्थिक विकासलाई सहजै अनुमान गर्न सकिन्छ । खेतिपाती र पशुपालनमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गरिएको छ । किसानहरुको दैनिकी र जीवनचर्या अरुलाई समेत लोभलाग्दो देखिन थालेको छ । कृषि उत्पादनले नसोचेको रेकर्ड कायम गर्न थालेको छ ।

पहिले ९० प्रतिशत तिब्बती जनता जीवन निर्वाहका लागि संघर्षरत थिए । त्यसबेला ९५ प्रतिशत नागरिक निरक्षर थिए । तर,अहिले भोक र गरिबी तिब्बतका सबै जातीय समूहका नागरिकको लागि एकादेशको कथा बनेको छ । सन् २०१९ सम्म दर्ता भएका गरिबहरुको संख्या यसबीचमा शून्य भएको छ ।

त्यतिबेला तिब्बतीको औसत उमेर ३५ वर्ष ६ महिना थियो भने अहिले बढेर ७१ वर्ष नाघेको छ । मुख्यभूमि र ठूला शहरमाझैैैैंै तिब्बतमा समेत सूचना प्रविधिको जालो छ । प्रविधिलाई सबै क्षेत्रमा लागू गरिएको छ ।

तिब्बतको परम्परागत संस्कृतिलाई जोगाउन र विकासमा केन्द्र सरकारले निकै ठूलो जनशक्ति, स्रोत र पुँजी लगानी गरेको पनि कार्यक्रममा जानकारी दिइएको थियो । तिब्बतमा तिब्बती भाषाको व्यापक प्रयोगलाई सबैभन्दा धेरै महत्व दिइएको छ । त्यसैगरी जातीय समूहहरुको धार्मिक विश्वासको राज्यले पूर्णसम्मान गरेको पनि याङ्ले बताउनुभएको छ ।

उहाँले तिब्बत र तिब्बती जनताको सन्दर्भमा भन्नुभयो,‘तिब्बतको मामिलामा चीन बाहिर कसैलाई पनि औंला उठाउने अधिकार छैन । तिब्बतलाई चीनबाट अलग गर्ने कुनै पनि प्रयास वा चालबाजी सँधै असफल हुनेछ । यी सबै कर्तुत तिब्बती जनताको चाहना विपरितका कार्य हुन् ।’


प्रतिक्रिया दिनुहोस !