भाउजू सांसदविरुद्ध परिवारकै सदस्यले हाले अंशमुद्दा

भाउजू सांसदविरुद्ध परिवारकै सदस्यले हाले अंशमुद्दा

लुम्बिनीकी भाउजू सांसद अर्थात् विमलाकुमारी वलीविरूद्ध उनका साहिँला जेठाजु अमर वलीले ‘अंश संरक्षण’ सम्बन्धी मुद्दा दर्ता गरेका छन्।

उनले प्रणय वली र दिवाकर वलीको तर्फबाट गत भदौ ३ गते दाङ–देउखुरी जिल्ला अदालतमा ०७३-०७८-००३६२ नम्बरअन्तर्गत मुध्दा हालेका थिए । प्रणय र दिवाकर सांसद वलीका छाेरा हुन्।

पति उत्तरकुमार वलीको २०७५ फागुन १० गते सवारी दुर्घटनामा मृत्यु भएपछि उनको नाममा भएको सबै सम्पत्ति विमलाको नाममा गएको थियो। उक्त सम्पत्ति रोकी नाबालक छोराहरुको नाममा राख्न मागदाबी गरिएको छ ।

प्रदेशसभा सदस्य विमलाको पर–पुरुषसँग आलिङ्गन गरिरहेको फोटो गत साता सार्वजनिक भएसँगै घर–परिवार सशंकित भएको पारिवारिक स्रोतले जनाएको छ।

सांसद् वलीका दुई छोरा छन्। उनीहरू दुवै जना नाबालक हुन्। आफ्ना दुई छोराहरूसँग बस्दैआएकी छन्।

छोराहरूको उमेर १८ वर्ष पुगेको छैन। ‘उनीहरूको उमेर नपुगेसम्म सम्पत्ति संरक्षण गरी पाऊँ भनी’ साहिँला जेठाजु अमर वलीले जिल्ला अदालतमा मुद्दा हालेका हुन्। मुद्दा दर्ता भई कारबाही प्रक्रिया अघि बढेको अदालत स्रोतले जनाएको छ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसद वलीको सम्पत्ति तथा बैँक खाता रोक्का हुने बताइएको छ।

टिप्पणीहरू