​सइ बिचरासँग मन्त्री सनक्क

बाहिर कमाएको नाम मात्र ठूलो भएर के गर्नु, भित्रभित्रै नियत बिग्रिएपछि ! कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले आफ्ना निकटस्थमाथि प्रहरीले सामान्य धक्काधक्कीमात्र गर्दा रातारात सरुवाको उर्दी लगाए । त्यति गरिसकेर पनि कुराको ठेगान लगाउनु नि, भोलिपल्टै सरुवा गर्नु भनिएका प्रहरी उनैलाई सलाम गर्न त्यहीँ खडा भए ।

त्यही दिन, जुन दिन गगन थापा कपनको गौरीशंकर टोलबाट एमाले कार्यकर्ताको लखेटाइमा परेका (३० गते) थिए । बिहान खानेपानी व्यवस्थापनबारे छलफल गर्ने नाममा कांग्रेसलाई भोट मागिरहँदा उनी घेराबन्दीमा परे । त्यही बेलुकी अर्को घटना भयो, प्रहरी फेर्ने । मनोज सिग्देल अघिपछि पनि गगनको नाममा हाट्टहुट्ट गर्थे । तर, मतदानको अघिल्लो साँझ आफ्नै घरका कामदारझैँ व्यवहार गर्दा प्रहरीको कुटाई भेटे । भोलिपल्टको मतदान कार्यलाई सौहार्दपूर्ण बनाउन खटिएका कर्मचारी र दलका प्रतिनिधिबीच छलफल भइरहँदा ‘गगन दाइको आदेश हो यो’ भन्दै मनोजले सइ विजय भण्डारीसँग सक्कली मतपत्र मागे । ‘यहाँ कसैको आदेश/सादेश चल्दैन, मतपत्र कसैलाई दिन मिल्दैन’ भन्दै सई कराए । तर, मनोज थामिएनन्, ‘तँलाई ठीक पार्नुप¥यो ? के ठान्या छस् तैँले ?’ भन्दै कराएपछि सईले कठालो समातेर केही पर हुत्याइदिए । उनले त्यहीँबाट गगनलाई फोन गरे । घटनाको १० मीनेटपछि सर्वदलीय छलफलमा बसिरहेका सई भण्डारीलाई खबर आयो, ‘कपनबाट विथड्र भएर तुरुन्त सुन्दरजलको ड्युटी बुझ्ने !’ 

यस्तो आदेशपछि हल्लिखल्ली मच्चियो । सर्वदलीय बैठकमा बसेकै कांग्रेसका प्रतिनिधिहरूले पनि त्यस्तो आदेशको विरोध गरे । एकछिनपछि प्रहरीले नै हाकिमको आदेशको प्रतिवाद गर्न थाले । उनीहरूले बौद्धका डिएसपी विपिन रेग्मीलाई भने, ‘रात परेपछि सईसा’बलाई विथड्र गर्ने हो भने हामी यसरी ड्युटी गर्न सक्दैनौँ । भोलि अर्कोसँग भनाभन होला, फेरि अर्कोलाई विथड्र गरिएला । गर्ने भए हामी सबैलाई झिकेर नयाँ टोली पठाइयोस् । हैन भने एउटा सई सा’बलाई मात्र दुःख दिन भएन ।’ यसरी राति १० बजेसम्म गलफत्ति चल्यो । अन्ततः गगनको आदेश फेल खायो, सई त्यहीँ बसे । 

त्यसदिन बिहान खानेपानी समस्याबारे छलफल गर्न उनी अन्तै पुगेको भए केही हुँदैन थियो होला, तर पुगिदिए एमाले वडाध्यक्ष उम्मेदवार नवराज भट्टराईको घरैअगाडि । जहाँ पानीको मुहान छ, जोरधारा । त्यो खानेपनी उपभोक्ता संघका अध्यक्ष हुन्, एमाले ४ नं. क्षेत्रीय कमिटीका सचिव तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने । अध्यक्षको जानकारीबिना गगन आफ्ना घरमा खानेपानी भन्दै भोट माग्न पुगेपछि ती घरधनीले एमालेलाई खबर गरे । खबर पाएपछि एमाले कार्यकर्ता उत्तेजित भए । तर, उनै ध्रुवराज न्यौपानेले आफ्ना कार्यकर्तालाई संयमित हुन आग्रह गर्दै गगनलाई ‘तपाईं खुरुक्क जानुस्, म साथीहलाई सम्हाल्छु’ भने । यसपछि अघि–अघि गाडीमा गगन, पछि–पछि मोटरसाइकलमा ‘गगन थापा मूर्दावाद’ भन्दै एमाले कार्यकर्ताहरू । उनीहरूले सुकेधारासम्म गगनलाई पछ्याएपछि न्यौपानेले छाडिदिन निर्देशन दिएका थिए । त्यसक्रममा निजामती कर्मचारी संगठनकी केन्द्रीय उपाध्यक्ष भवानी दाहाल(नर्स)का छोरा उज्वल घाइते भएका थिए । 

यस्तै–यस्तै घटना मतदान चलिरहँदा ३१ गते दिउँसो पनि भयो । २ बजेको आसपास गगन बालउद्धार मावि मतदान केन्द्रमा पुगे, हतियारधारी सुरक्षाकर्मीसहित । बुथभित्र छिरेनन् । बाहिरै बसेर गफ गरे । त्यसपछि वडा नं. १२ को बुथ भएको खरिबोट, फैका पुगे । त्यहाँ पनि वरिपरि मान्छे राखेर बाटैमा गफ गर्न थाले । एमालेका कर्ण तामाङसहितको जत्थाले ‘भीड भो, भीड भो’ भन्दै बाटो खालि गर्न थाले । गगन सुनेको नसुन्यै भए । अनि, एकजनाले नजिकै गएर भने, ‘तपाईं कान सुन्नुहुन्न, साइड लाग्नुस् भनेको’ भन्दै कराएपछि बल्ल गगन आफ्नो गाडीमा चढे । गाडी चढिरहँदा गगन एक्लै केही भन्दै बर्बराइरहेका थिए । 

गगनको समस्या 
कपन संसदीय निर्वाचनमा क्षेत्र नं. ४ को मात्र भोट बैंक नभएर अहिलेको स्थानीय निर्वाचनका क्रममा बूढानिलकण्ठ नगरपालिकाकै सबभन्दा बढी मतदाता भएको ठाउँ हो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा गगनले त्यहाँबाट भारी मतका साथ जितेका थिए । तर, जितेलगत्तै सडक, खानेपानीजस्ता समस्या चर्किंदै गएपछि उनीसँग स्थानीयवासी क्रुद्ध थिए । त्यसमाथि कांग्रेस महाधिवेशनपूर्व स्थानीय पार्टी कमिटीमा उनको प्रभाव क्रमशः घट्दै गयो । क्षेत्रीय समिति सभापतिमा गगनद्वारा उठाइएका न्हुच्छे महर्जनलाई हालका मेयरका उम्मेदवार राजु श्रेष्ठले पराजित गरे । त्यसमाथि अहिले स्थानीय निर्वाचनको टिकट वितरणमा पनि गगन भूमिकाहीन बने ।

उनले न्हुच्छेलाई अघि सारेका थिए । तर, शेरबहादुर निकट राजुले टिकट हात पारे । त्यसपछि गगनको बार्गेनिङ शुरु भयो, वडाध्यक्षका लागि । कपन बूढानिलकण्ठ नगरपालिकामा गाभिएपछि त्यहाँ १०, ११ र १२ गरी तीनवटा वडा कायम भयो । तर, प्रस्तावित तीनै वडाध्यक्ष गगन पक्षधर थिएनन् । त्यसपछि मापदण्ड नै बनाएर बडा सक्रिय कमिटीका अध्यक्षलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गराए । त्यसो गर्दा पनि १० नं. वडामा मात्र गगन पक्षधर वडाध्यक्षका उम्मेदवार भए, श्याम डोटेल । 

‘यहाँ शेरबहादुर दाइ बस्नुहुन्छ, मैले यहीँबाट चुनाव जितेको । यस्तो ठाउँमा कांग्रेसले बाहेक अरु कसैले जित्न सक्दैन, जित्नुहुँदैन’ भनेर २८ गते अन्तिम चुनावी सभामा भाषण गरेका गगनले यो कुरा जसरी पनि पूरा गर्नु थियो । त्यसैका लागि थियो, उनको निरन्तर छटपटाहट । त्यसमा पनि बार्गेनिङ गर्दागर्दा पाएको १० नं. को वडाध्यक्ष नजिते गगनको साख कहिँ बाँकी नरहने भएपछि उनले त्यो वडालाई सबभन्दा बढी फोकस गरे । तर, त्यहाँ एमालेले उम्मेदवारी घोषणा गरेदेखि नै नवराज भट्टराईको पक्षमा लहर आइसकेको थियो । कांग्रेसबाट पहिला लोकप्रिय व्यक्ति रामप्रसाद लुइँटेलको उम्मेदवारी घोषणा भएको हो । तर, गगनको अडानका कारण डोटेलले उम्मेदवारी पाएपछि एकथरि कांग्रेस नै एमालेका नवराजका निम्ति भोट मागिरहेका थिए । यसरी राष्ट्रिय राजनीतिमा कहलिएका, सरकारका क्याबिनेट मन्त्री एउटा अति सामान्य एमाले कार्यकर्ता नवराज भट्टराईले जित्लान् भनी दिनदिनै कपन छिर्न थालेपछि त्यहाँका बासिन्दा उत्तेजित भए । 

को हुन् नवराज ?

गगनले प्रतिष्ठाको विषय बनाएको बुनपा– १० को वडाध्यक्ष पदमा एमाले प्रत्यासी नवराज भट्टराई अति सामान्य एमाले कार्यकर्ता हुन् । पेशाले विज्ञापन व्यवसायी, स्वदेशी जुत्ताको प्रबद्र्धनका लागि इभेन्ट म्यानेजरका रुपमा सक्रिय । त्रिकोण एड्भरटाइजिङ एजेन्सीबाट सो पेशामा छिरेका उनले कहिँ, कतै र कसै गरी पनि गगनको केही बिगार्ने ल्याकत राख्दैनन्, वडाध्यक्षमा बाहेक ।

टिप्पणीहरू