चन्द्रागिरीको टुप्पोबाट नयाँ पार्टीको सन्देश

चन्द्रागिरीको टुप्पोबाट नयाँ पार्टीको सन्देश

नयाँ पार्टी दर्ताको क्रममा रहेको एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह काठमाडौंमा उपलब्ध सबै सदस्यलाई लिएर चन्द्रागिरी हिल्स रिसोर्टमा बसेको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिका सबै सदस्य र नयाँ पार्टी दर्ताको निम्ति आवश्यक २० प्रतिशतभित्र रहेका सबै जना नेता त्यहाँ रहेको बताइएको छ ।

उहाँहरु भोलि त्यहिँ बसेर पर्सि बुधबार १० बजे मात्र केबुलकारमा राजधानी खाल्डो झर्ने कार्यक्रम छ । त्यहि दिन निर्वाचन आयोगमा सनाखत हुँदैछ । आज चन्द्रागिरीमा रहेकामध्ये अधिकांश नेता दृढ र दायाँबायाँ नगर्ने खालको रहेको स्रोतले बताएको छ । स्रोत भन्छ, ‘दोग्ला कोही पनि हुुनुहुन्न ।’

एमालेको २ सय ३ जना केन्द्रीय सदस्यमध्ये नेपालसँग अति निकट रहेका भनिएका ५७ जना कोही पनि यताउता नगर्ने बताइएको छ । केही सदस्य आज त्यहाँ नपुगेको र ओलीतर्फका अरु दुई जना भोलि नेपाल पक्षमा जाने बुझिएको छ ।

“नौ जना स्थायी समिति सदस्यले रोकेका केन्द्रीय सदस्यको संख्या १४ रहेको बताइन्छ ।”

स्थायी समितिका हिजो नेता नेपालसँगै रही आज बालकोटमा अध्यक्ष ओलीसँग १० बुँदे सहमति कार्यान्वयनको लागि अनुरोध गर्न पुगेका नौ जना स्थायी समिति सदस्यहरु निकट केही केन्द्रीय सदस्यले मुख नखोलेको बताइन्छ । उहाँहरुमा भानुभक्त जैसी,राजबहादुर बुढा, सोमप्रसाद पाण्डे,नुवाकोटका माधव अर्याल,कृष्ण खनाल,सुरेन्द्र मानन्धर,रचना खड्का,अरुण नेपाल,हरि राई,धर्म निरौला, यज्ञराज सुनुवार,जीवन घिमिरे र रविन कोइराला आज चन्द्रागिरी उक्लनुभएको छैन । नौ जना स्थायी समिति सदस्यले रोकेका केन्द्रीय सदस्यको संख्या १४ रहेको बताइन्छ ।

यता,नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले भोलि पार्टी स्थायी समितिको बैठक बोलाएको छ । तर माधव पक्षलाई केही पनि नभनिएको चन्द्रागिरीमा रहेका एक जना नेताले जानकारी दिनुभएको छ । नेपाल पक्षसँग नजिक रहेका भनिएका कार्यदल सदस्यहरुले आज माधव नेपालसँग भेट्ने भने पनि भेट हुन नसकेको बताइन्छ ।

आज स्वयम् नेता नेपाल पनि चन्द्रागिरीमा हुनुहुन्छ । त्यसैले एमाले एकताको सम्भावनाको च्याप्टर सकिएको बताउन थालिएको छ । दुबै पक्ष आ–आफ्नो बाटोमा लागेको प्रष्ट भएको छ । अध्यक्ष ओली समूहले पार्टी २०७५ जेठ २ को अवस्थामा अघि बढ्ने भन्ने समाचार र प्रसंगले सबैलाई भ्रम सिर्जना गरेको बताउन थालिएको छ ।

आज माधव नेपालसँग नजिक रहेका एमाले स्थायी समितिका सदस्यहरुले अध्यक्ष ओलीसँग बालकोटमा सामूहिक भेटघाट गर्नुभएको थियो । त्यसक्रममा ओलीले आफ्नै कुरा राख्नुभएको र नौ जना स्थायी समिति सदस्यले कारबाही फिर्ताको माग गर्नुभएको थियो । भेटमा सिध्दान्ततः दश बुँदे कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर भए पनि भोलिको बैठकमा कसरी प्रस्तुत हुने भनेर सहमति गरेको उपस्थित एक जना नेताले बताउनुभयो ।

बालकोटमा भेटघाट चलिरहँदा स्थायी समिति सदस्य तथा बाग्मती प्रदेशकी मुख्यमन्त्री आफ्नो धारणा राखेर बिचमै उठ्नुभएको थियो । उहाँले अध्यक्ष ओलीलाई ‘पार्टी एकता कायम राख्न तपाईंले नेतृत्व गर्नुहोस्, तपाईंको मुख्य दायित्व छ,’ भन्नुभएको बताइन्छ ।

उहाँहरुले १० बुँदे लागू गर्ने रोडम्यापबारे निर्णय गर्न आग्रह गरेपछि त्यसको लागि बैठकको प्रस्ताव तयार पार्न भीम रावल, ईश्वर पोखरेल र विष्णु पौडेललाई जिम्मा दिइएको छ । आजको सहमति कार्यान्वयन भएन भने, भोलिको बैठकमा किचकिच शुरु हुने सम्भावना देखिएको स्रोतले बताएको छ ।

टिप्पणीहरू