ओलीद्वारा अनेक सम्झौतामाथि अर्को सम्झौता

ओलीद्वारा अनेक सम्झौतामाथि अर्को सम्झौता

नेकपा एमालेको अन्तरसंघर्ष चर्किंदै जाँदा माधव नेपाल समूहका उपल्लो तहका केही नेता गत चैत्र ४ र ५ गतेको समानान्तर भेलाबाटै केन्द्रीय कमिटी घोषणा गरेर जानुपर्ने निचोडमा पुगिसकेका थिए । अध्यक्ष केपी ओलीबाट कम्युनिष्ट आन्दोलनको नेतृत्व र जगेर्ना सम्भव नहुने भन्दै नयाँ पार्टी गठन अपरिहार्य बनेको उनीहरुको निष्कर्ष थियो । तर, विविध कारणले त्यतिबेला एमाले औपचारिक विभाजनबाट जोगियो ।

चैतमै नयाँ पार्टी गठन गर्न हत्तारिएका तिनै नेता ५ महिनापछि पार्टी एकताको विकल्प सोच्नु पनि अपराध हुने निष्कर्षमा आइपुगेका छन् । माधव नेपाल समूहबाटै मोर्चा सम्हालेका तर,नयाँ पार्टी दर्ता गर्ने नेपालको निर्णयलाई साथ नदिएका नेताहरु आज अध्यक्ष ओलीसँगको छलफलपछि एमालेमै रहने निर्णयमा पुगेका हुन् । त्यति मात्र होइन,अध्यक्ष ओलीलाई नै नेता मान्न पनि उनीहरु सहमत भएका छन् ।

यसअघि नेपाल र ओली दुबैतिर नलाग्ने भन्दै एमालेमै तेस्रोधार बनाएका भीम रावल,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवालीलगायतका नेताहरु ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलपछि ओलीसँग रहन सहमत भएका हुन् । ओलीले भोलिका लागि बोलाएको बैठकमा जाने उनीहरुको तयारी छ ।

“अप्ठेरोमा पर्दा सहमति गरिदिने तर कार्यान्वयन नगर्ने ओलीको कार्यशैलीका कारण आजित भएका तेस्रो धारका एक नेताले आजको सहमति ‘सम्झौतामाथिको अर्को सम्झौता’ हुने त होइन भन्ने आशंका गरेका छन् । “

नवौँ महाधिवेशनदेखि पछिल्लो विभाजनसम्म पार्टीभित्रको अन्तरसंघर्षमा माधव नेपाललाई साथ दिएका दोस्रो पुस्ताका नेताहरु अध्यक्ष ओलीतिर लाग्ने निर्णयमा पुगेपछि एमाले वृत्तमा अनेक चर्चा शुरु भएको छ । अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन गर्न तयार भएपछि एमालेमै रहने निष्कर्षमा पुगेको उनीहरुको दाबी छ । तर,अध्यक्ष ओलीले सहमति कार्यान्वयन गर्नेमा भने तेस्रो धारकै नेताहरु विश्वस्त देखिएका छैनन् । विगतमा पनि पार्टीभित्र अप्ठेरोमा पर्दा सहमति गरिदिने तर कार्यान्वयन नगर्ने ओलीको कार्यशैलीका कारण आजित भएका तेस्रो धारका एक नेताले आजको सहमति ‘सम्झौतामाथिको अर्को सम्झौता’ हुने त होइन भन्ने आशंका गरेका छन् ।

उनी भन्छन्, ‘१० बुँदे कार्यान्वयन गर्ने अध्यक्षको प्रतिवध्दता आएको छ,पार्टी एकताका लागि हामीले भन्दै आएको कुरा पनि यहि हो । यसलाई हामीले सकारात्मक रुपमै लिएका छौँ । तर,सहमति गर्ने तर कार्यान्वयन नगर्ने भन्ने कुराले हामीलाई केही शंका उब्जाएकै छ । हेरौँ भोलिको बैठकपछि थप क्लियर होला । ‘

त्यसो त,ओलीले अप्ठेरोमा पर्दा सहमति गरिदिने तर त्यसको कार्यान्वयनमा उदासीनता देखाएका थुप्रै उदाहरण छन् । तत्कालीन नेकपामा अन्तरसंघर्ष चर्कदै जाँदा २०७७ भदौ २६ गते आफ्नै अध्यक्षतामा बसेको स्थायी कमिटीले गरेका निर्णय भोलिपल्टै अस्वीकार गर्नुभएको थियो । त्यसअघि प्रचण्डसँगको आलोपालोको सम्झौता, वामदेवसँग भएका पटक-पटकका सहमति पनि ओलीले कार्यान्वयन नगरेको सार्वजनिक चर्चाको विषय बनेको थियो । एकैदिन फरक-फरक समयमा भेटेर प्रचण्ड, माधव नेपाल र वामदेव गौतमलाई अध्यक्षको प्रस्ताव गरेको कुरा पनि चर्चामा थियो ।

आफू कमजोर हुँदा ओली केसम्म गर्नुहुन्छ भन्ने पछिल्लो उदाहरण अष्टलक्ष्मी शाक्य हुनुहुन्छ । दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा पुग्दै गर्दा शाक्यलाई मुख्यमन्त्री बनाउन ओली राजी हुनुका पछाडिको कारणलाई सामान्य रुपमा मात्रै बुझ्नु हुँदैन । पार्टीमा सिनियर हुँदाहुँदै पनि माधव गुटको भएका कारण यसअघि ओलीले शाक्यलाई मुख्यमन्त्री बन्नबाट रोकेको आरोप तेस्रो धारका भनिएका नेताहरुले नै लगाएका थिए ।

ओलीमाथि कतिसम्म कठोर आरोप लाग्ने गरेको छ भने, सामान्य नियुक्तिमा पनि उहाँ आफ्नै गुट हेर्नुहुन्छ । घनश्याम भुसालले त डिएनए परीक्षण गरेर आफ्नो गुटको भएपछि मात्र ओलीले जिम्मेवारी दिने गरेको सार्वजनिक रुपमै भन्नुभएको हो । हुन पनि ओलीले माधव नेपालपक्षको भएकै कारण ४८ सालदेखि चुनाव जित्दै आएका विरोध खतिवडाजस्ता नेताहरुलाई पाखा पारेर गोकुल बाँस्कोटा, महेस बस्नेत,निरु पालहरुलाई एकैचोटी माथि पुर्याउनुभयो ।

गुट नमिलेकै कारण गण्डकीमा सिनियर भएपनि किरण गुरुङलाई पाखा पारेर पृथ्वी सुब्बालाई दोहोरो जिम्मेवारी दिइयो । गुरुङ अहिले ओली गुटमा भएपनि यसअघि वामदेव निकट भएकाले पाखा पारेको एमाले नेताहरु बताउँछन् ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीका एक नेताले पनि ओलीले आज तेस्रो धारका नेतासँग गरेको सहमति कार्यान्वयनमा आउनेमा आशंका गरेका छन् । ‘आज जुन सहमति भयो भनिएको छ त्यो हाम्रोतिर संख्या पुग्न नदिने ओलीको चालबाजी मात्रै हो । यदि ओली इमान्दार थिए भने यसअघि नै सहमति हुन्थ्यो । त्यसैले यो सहमतिलाई लिएर धेरै चर्चा गर्नु आवश्यक छैन । ओलीसंग बस्न चाहनेहरुलाई सेफ ल्याण्डको बाटो खोजिएको हुनसक्छ’,ती नेताले भने ।

टिप्पणीहरू