​बिच्किन थाले मधेसका बोसहरू

‘मधेसी पार्टीको छेउछाउमा झुक्किएर पनि नजानुहोला, झ्याप्पै समातेर केन्द्रीय सदस्य बनाइदेलान् ।’ यसो भन्दै अहिले राष्ट्रिय जनता पार्टी (राजपा)का एक नेताले अर्काे पार्टीको नेता–कार्यकर्तालाई यसैगरी उल्लीबिल्ली पार्न थालेका छन् ।

किन यसरी उडाइएको हो भने रातारात किर्ते गर्दै सदस्यता थप्ने क्रम मधेसी दलभित्र रोकिएको छैन । बरु तँभन्दा म के कमको शैलीमा किर्ते पदाधिकारी थपिएका थपियै छन् । १९ गते नै पेश गर्नुपर्ने केन्द्रीय कार्यसमितिको विवरण सबै पार्टीले लुकाएका कारण राजपाका नेता एकले अर्काेलाई खुइल्याउनमा व्यस्त छन् ।

यता, अध्यक्ष मण्डलका नेताको मनपरीतन्त्र मच्चिन थालेसँगै सो पार्टीबाट एकपछि अर्काे गर्दै नेताले राजीनामा दिन थालेका छन् ।  बरु पार्टी एकीकरण भएको महिना दिन नबित्दै राष्ट्रिय जनता पार्टी (राजपा)बाट एकपछि अर्काे नेताले राजीनामा दिएर हिँड्न थालेपछि त्यहाँ बबाल मच्चिएको छ । मृगेन्द्रकुमार सिंह, सत्यनारायण मण्डल, सन्तोष मेहताहरूकै नियति भोग्दै राजपाका नेता तथा तमलोपामा रूपन्देहीबाट निर्वाचित सांसद कमलेश्वर पुरी गोस्वामीले तमलोपा पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् । 

हाल उनी दुबै मोबाइल स्विच अफ गरी बसेका छन् । उता, डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा पहिलो एकीकृत बैठक आयोजना गरिँदा हृदयेश त्रिपाठीले बहिष्कार गरेका छन् । वैशाख ७ गते सम्पन्न पार्टी एकीकरणपछि उनले हरेक कार्यक्रम बहिष्कार गर्दै आएका छन् । भैंसेपाटीस्थित घरबाट कतै निस्किएका छैनन् । उता, लक्ष्मणलाल कर्णहरू हतारमा पार्टी एकीकरण भएको भन्दै रुष्ट छन् । 

उनी वीरगञ्जतिरै बरालिन थालेका छन् । आन्तरिक कार्यदल बनाएर रामनरेश, जितेन्द्र सोनल, केशव झा, मनीष सुमन, कौसुवेन्द्र मिश्रहरूको एउटा समूहले अस्ति २९ गते नै अध्यक्ष मण्डललाई विधान, घोषणापत्र, पार्टीको नाम, झन्डा सबै बुझाएको भए पनि सोउपर कुनै कारबाही भएको छैन । चक्रीय प्रणालीबाट दुई महिनासम्म एक जनाले पार्टी सञ्चालन गर्ने सहमति भएबमोजिम हालका अध्यक्ष महन्थ ठाकुरको एक महिना त्यत्तिकै बितेको छ । अर्काे महिनाको ७ गतेबाट कमाण्ड सम्हाल्न राजेन्द्र महतो आउँदै छन् । उनी पछाडि महेन्द्र यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिल झाहरूले नेतृत्व लिने सहमति छ । तर, ६ अध्यक्ष ६ तिर मुख भइदिँदा पार्टी निर्वाचन आयोगमा दर्ता हुनपूर्व नै अनिल झा र महेन्द्र यादवहरू आफैं बाटो लाग्ने चर्चा मधेसी पार्टीमा व्याप्त छ । 

राजपा  आन्तरिक किचलोको दलदलमा यसरी फसेको छ कि सोही कारण पार्टी एकीकरण भएको महिना दिन बित्दासमेत निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन । दलै दर्ता नभएपछि त्यो पार्टीले कसरी स्थानीय तहको निर्वाचनमा भाग लेला ? अध्यक्ष मण्डलका अध्यक्षमध्ये एक महेन्द्र यादवले मंगलबार बिहान जनआस्थासँग भने यदि संविधान संशोधन भएको खण्डमा हामीमध्येकै ६ दलको कुनै चुनाव चिह्न लिएर भए पनि निर्वाचनमा भाग लिन्छौं तर संशोधन भएन भने विरोधमा उत्रन्छौं । 

टिप्पणीहरू